बजेटमै समेटियो ब्लुबस
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो घोषणापत्रमा उल्लेख गरेको ‘ब्लु बस’ को विषय बजेटमै समावेश गरेको छ । रास्वपा उपसभापति समेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत यसबारे जानकारी गराएका हुन्। उनका अनुसार महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसीक्यामेरासहितको आधुनिक ब्लु बस सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने छ।
नेपाल औषधि लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने
काठमाडौं । सरकारले नेपाल औषधि लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाउने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । नागरिकलाई निःशुल्क उपलब्ध गराइने कम्तीमा २५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने उद्देश्यले यस्तो घोषणा गरिएको हो । त्यस्तै, सरकारले निःशुल्क औषधि कार्यक्रमलाई प्रभावकारी बनाउन स्वदेशी उत्पादन बढाउने र बाह्य निर्भरता घटाउने नीति लिएको छ ।
सरकारले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने
काठमाडौँ । सरकारले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट सेन्टर स्थापना गर्ने घोषणा गरेको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराइने बताए।