नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर !

निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा ‘चुनाउ’ भनिन्छ । २ वर्षअघि नै अकस्मात आइलागेको फाल्गुन २१ गतेको चुनाउमा यसपाली पश्चिम नेपालको ऐतिहासिक सहर नेपालगञ्जले कसलाई चुनेर पठाउला ? राजनीतिक वृत्तमा चासोको विषय बनेको छ ।  नेपालगञ्ज बाँकेको २ नम्बर क्षेत्रमा पर्छ । बाँकेका डुडुवा गाउँपालिका र २३ वटा वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकाका १६ र १७ नम्बर वडा बाहेकका २१ वटा वडा क्षेत्र नम्बर २ मा पर्छन् । ५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र ६ जना अन्यसहित कुल एक लाख ८ हजार २९० मतदाता यस क्षेत्रमा रहेका छन् । नेपालगञ्जको चुनाउ राष्ट्रिय राजनीतिको चासोमा पनि छ । यो मुलुकको ठूलो र सबैभन्दा पुरानो दल नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको चुनाउ क्षेत्र हो ।   पश्चिम नेपालको प्रमुख हव नेपालगञ्जले समग्र पश्चिम क्षेत्रमा एउटा सन्देश दिन सक्छ । बहुभाषा, बहुसंस्कृति र बहुसमुदाय भएको नेपालगञ्जको मतपरिणामले आफैमा एकभन्दा बढी निर्वाचन क्षेत्रको प्रतिनिधित्वको सन्देश दिने ओज राख्छ । यद्यपि नेपालगञ्जले सुशील कोइराला जत्तिको उचाइ छुने नेता पाउने सम्भावना तत्काल देखिन्न । कुनै पनि पार्टीको मैदानमा यति लामो रेसका घोडा देखिएका छैनन्, जसले त्यो उचाइ लिनसक्ने विश्वास जगाउन सकून् । त्यो तहको राजनीतिक छवि, सुझबुझ र नेटवर्क भएको व्यक्ति कुनै पार्टीमा देखिएको छैन ।  नेपालगञ्जमा व्यापार, शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका सवाल छन् । भारतसँगको खुलासीमा क्षेत्रका बासिन्दाहरूले सुरक्षा, चोरी, तस्करी, सडक, बिजुली, सिँचाइ र पूर्वाधार जस्ता विषयमा नेताहरूसँग सुधारको अपेक्षा गर्छन् ।  उपमहानगर भनिए पनि अधिकांश वडामा न्युनतम सुविधा पुगेको छैन । युवा वर्गका मतदाताहरूले रोजगारी, उद्यम तथा व्यापारमा नीतिगत सुधारको प्राथमिकता खोजेका छन् । हरेक चुनाउ पछि बदलावको आशा राखे पनि ती एजेण्डा नफेरिएको उनीहरूको गुनासो छ ।  आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि यो क्षेत्रबाट २० जना उम्मेदवार छन् । यसमा मुख्य दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार र साना दलका प्रतिनिधिहरूसमेत मैदानमा छन् । यसपालि मैदानमा रहेका प्रमुख पार्टीका उम्मेदवारहरूमा गजबको समानता छ । त्यो भनेको अधिकांश युवा अनि नयाँ छन् ।  यो क्षेत्रबाट राष्ट्रिय उचाइमा आफूलाई उभ्याएकामध्ये एक नेताले यसपालीको चुनावी मैदान छाडिसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा निवर्तमान सांसद धवलशमशेर राणा चुनावमा उठेनन् । सुशील कोइरालाको निधनपछि यो क्षेत्रमा हेभीवेट नेता छैनन् । भएकामध्ये अलि माथि पुगेका धवल र इस्तियाक राई हुन् । धवलले यसपाली चुनावी मैदान छाडेपछि जिल्ला बाहिरसम्म उचाइ र अनुभव भएका इस्तियाक बाँकी छन् । उनी २ पटक सांसद र २ पटक मन्त्री भैसकेका छन् ।  २०४६ को परिवर्तनपछि भएका आम चुनावमा बाँकेको निर्वाचन क्षेत्र नम्बर २ को चुनावी नतिजा विगतका चुनावको समीक्षा गर्ने हो भने सुरुमा जिल्लाभर एउटै पार्टीले झण्डा गाडेको देखिन्छ । २०४८ सालको आमचुनावमा बाँकेका तीनै सिटमा नेपाली कांग्रेसले जित्यो । २०५१ मा जिल्लाका तीनै सिटमा राप्रपाले जित्यो । फेरि २०५६ मा कांग्रेसले तीनै सिटमा जित निकाल्यो ।  लोकतन्त्रपछि भने बाँकेमा मिश्रित परिणाम आइरहेको छ । एक क्षेत्र थपिएको २०६४ सालको पहिलो संविधान सभाको चुनावमा २ सिटमा माओवादी र २ सिटमा मधेसी जनअधिकार फोरमले जित्यो । २०७० को दोस्रो संविधान सभा चुनावमा १ ठाउँमा कांग्रेस र ३ ठाउँमा नेकपा एमालेले जित्यो । फेरि तीन क्षेत्रमा सीमित गरिएको २०७४ को संघीय संसदको चुनावमा एमाले, माओवादी र संघीय समाजवादी फोरमले १/१ सिटमा जित निकाले । पछिल्लो २०७९ को चुनावमा कांग्रेस, एमाले र राप्रपाले १/१ सिट बाँडे ।  यी पुराना ट्रेन्डले पुष्टि गर्छन् कि बाँकेको २ नम्बर क्षेत्रका मतदाता परम्परागत दल मात्र होइन, व्यक्तिकेन्द्रित नेतृत्व र स्थानीय प्रभावलाई समेत निर्णायक मान्ने गर्दछन् । सुशील कोइरालाजत्तिका इमान र सादगी नेताको इतिहासले कांग्रेसलाई सुरुवाती समर्थन दिएको भए पनि त्यसले हरपल सुनिश्चित विजय दिन सकेन । २ पटक मेयर हाँकेका  धवललाई एक पटक केन्द्र सांसदमा पठाए । मुस्लिम समुदायका इस्तियाकलाई २ पटक सांसद जिताए । अघिल्लो पटकसमेत २ पटक हराइ पनि दिए ।  यसपालीको चुनावमा उठेका २० जनामध्ये आधा दर्जनसम्मले समानजनक भोट पाउन सक्छन् । २÷२ पटक सांसद र मन्त्री भएका इस्तियाक अघिल्लो पुस्ताको प्रतिनिधिका रूपमा मैदानमा छन् । उनीसँग प्रतिप्रस्र्धामा उत्रेका प्रमुख पार्टीका उम्मेदवारहरू पहिलो पल्ट संसदीय चुनावमा आएका युवा छन् । कांग्रेसबाट सुधांशु कोइराला, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट दिपेन्द्र विष्ट, राप्रपाबाट ऋषिराज देवकोटा र राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) बाट विवेककुमार श्रेष्ठ उठेका छन् । इस्तियाकले एक हातमा चुनावको टिकट अनि अर्को हातमा एमालेको सदस्यता समाएर मैदान टेके । उनी नेपालगञ्जका बलिया राजनीतिक खेलाडी भए पनि उनको राजनीतिक यात्रा अस्थिर छ । राप्रपाबाट राजनीति सुरु गरेका उनले मधेसी जनअधिकार फोरम हुँदै जनता समाजवादी पार्टी (जसपा)को यात्रा तय गरे । हालै टिकट पक्का गरेर एमालेमा छिरे । स्थानीय एमाले कार्यकर्ताहरू उनी एमाले प्रवेश गरेको आफूहरूलाई विश्वास नै नभएको बताउँछन् । यसले उनको राजनीतिक र वैचारिक धरातल अस्थिर र अविश्वसनीय बनाएको छ ।  अघिल्लो निर्वाचनमा जितेका धवलका निकटतम प्रतिद्वन्द्वी इस्तियाक नै थिए । स्थानीय रूपमा धवल राजाका नामले चिनिने राणा मैदानमा नरहे पछि यसपालीको चुनावी चेस खेलमा मन्त्री (इस्तियाक)को सामना नयाँ खेलाडीहरूसँग हुनेछ । अनुभवले पाकेका इस्तियाक पनि उमेरले कांग्रेस, नेकपा, राप्रपा र स्वतन्त्रजस्ता पार्टीले उतारेका युवा छावँलकै हुन् । जेनजी आन्दोलन पछिको माहोल नयाँ अनुहारको खोजीमा रहेकाले उनलाई नयाँ युवाहरू भारी पर्ने अवस्था देखिन्छ । प्रतिनिधिमूलक मतदाताहरूसँगको अनौपचारिक संवादका आधारमा यस्तै छनक देखिन्छ ।  इस्तियाकले छोडेको पार्टी जसपाका कमरुद्दिन राई पनि चुनावमा उठेका छन् । उनी छँदाखाँदाको नेपालगञ्ज उमहानगरको उपप्रमुख पद छाडेर मैदानमा आएका हुन् । एउटै समुदायको भएकाले कमरुद्दिनले काट्न सक्ने भोटको संख्याले पनि इस्तियाकलाई धर्मराउन सक्छ । कमरुद्दिन तल्लो तहका मुस्लिम समुदायमा पकड भएका मानिन्छन् ।  विकासका कतिपय योजना भित्र्याउन इस्तियाकले भूमिका खेलेको मतदाताहरू सम्झन्छन् । तर, उनको स्वाद नेपालगञ्जबासीले चाखिसकेका छन् । सकभर नयाँ स्वाद खोज्ने मतदाताको स्वभाव हो । यस मानेमा इस्तियाकका लागि यो चुनाव सजिलो छैन । अघिल्लो पल्ट पनि आफ्नो पार्टीको चुनाउ चिन्हमा भोट हाल्न नपाएको एमाले भित्रको एउटा पङ्ति यसपाली मनोनयनको समयमा पाहुना आएका नेताले टिकट बोकेर ल्याएपछि झन् निराश र आक्रोशित छ । गोप्य मतदानमा यो पङ्तिको सुर कता चल्छ भन्न सकिने अवस्था छैन । नेपालगञ्जका राजनीतिक विश्लेषक डा. जनार्दन आचार्य पनि इस्तियाक पुरानो दल छोडेको र नयाँ दलमा पनि मज्जाले नजोडिए जस्तो अवस्थामा देखिएको बताउँछन् । फेरिएको समय र बदलिएको मतदाताको सोच समेट्ने लय समाउनु उनका लागि सहज छैन । नेपाली कांग्रेसबाट युवा अनुहारका सुधांशु कोइराला उठेका छन् । उनी नेपाली कांग्रेसका बाँके जिल्ला सचिव हुन् । उनी कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भतिज पनि हुन् । सुधांशु नेपाली कांग्रेसबाट उम्मेदवार भएकाले कोइराला परिवारको विरासत र नामले उनलाई परम्परागत मतदाता आकर्षित गर्न मद्दत पुर्याउन सक्छ । यसै पनि यो क्षेत्रमा कांग्रेसको संगठन बलियो नै छ । सुधांशु सरल र मिलनसार मानिन्छन् । आफ्नो पार्टी र इतर पार्टीमा पनि मित्रवत सम्बन्ध बनाएको मानिन्छ । कोइराला परिवारको लिगेसी र बलियो ग्रासरुट सम्बन्ध अनि माथिसम्मको पहुँच बलियो पक्ष हो ।  माओवादी उम्मेदवार दिपेन्द्र विष्ट व्यवसायी हुन् । उनी खेल क्षेत्रका अगुवा पनि हुन् । उनको मुख्य भर पार्टी संगठन हो । यस क्षेत्रमा तत्कालीन माओवादी र हालको नेकपाको पार्टी संगठन ठीकै छ । सम्भवतः विष्ट कान्छा उम्मेदवार पनि हुन् । कोर सिटी एरियाका व्यवसायी भएकाले सहरमा उनी परिचित छन् । ग्रामीण बस्तीसम्म उनको पहुँच कम रहेकोले तल्लो तहका मतदाताका लागि उनी नचिनिएको अनुहार लाग्न सक्छन् ।  नेपालगञ्जमा ठीकठाक संगठन भएको राप्रपाले सहमहामन्त्री ऋषिराज देवकोटालाई उम्मेदवार तोकेको छ । महामन्त्री तथा निवर्तमान सांसद धवलशमशेरले हात उठाए पछि ऋषिराजले मौका पाए । उनी निरन्तर राप्रपामा सक्रिय छन् । सहर र तल्लो तहसम्म पनि उनी भिजेका पनि छन् । राजा फर्काउने अभियानका ऋषिराजका लागि पार्टीका अघिल्ला उम्मेदवारको विरासत जोगाउने चुनौती छ । निवर्तमान सांसद धवलको व्यक्तित्वको बल र संगठनको बल यसपाली आँकलन हुनेछ । यद्यपि धवलले एमालेसँग चुनावी तालमेल गरेका थिए । ऋषि अहिले संगठन र आफ्नो व्यक्तिगत सम्बन्धका बलमा मात्र मैदानमा छन् ।  यस्तै, व्यवसायी विवेककुमार श्रेष्ठलाई रास्वपाले अघि सारेको छ । जेनजी आन्दोलनपछि यो पार्टीको पक्षमा देशभर लहरजस्तो देखिएको छ । त्यो लहरले उनलाई पार लगाए त हो नत्र उनको व्यक्तिगत प्रभाव र मतदातासम्म पहुँच खास छैन । नयाँ पार्टी संगठन भएकाले चुस्त भए पनि ग्रामीण मतदातासम्म यो पार्टीको भरपर्दो सम्बन्ध विकास हुन अझै बाँकी छ । मानिसहरूको मुखमा लहरको घण्टी सुनिएको त छ तर मतपत्रको ब्यालेटसम्म पुग्दा त्यसको झंकार कति बाँकी रहन्छ भन्न अहिले नै हतार हुनेछ । व्यक्तिगत प्रभावले संगठन बाहिरको मत तान्न विवेकलाई गाह्रो देखिन्छ ।  इस्तियाक र सुधांशुले स्नातकोत्तरसम्मको पढाइ पूरा गरेको र दिपेन्द्र, ऋषि र विवेकले स्नातकसम्म पढेको उनीहरूको उम्मेदवार फर्ममा उल्लेख छ । यी उम्मेदवारहरूले हालसम्म चुनावी घोषणापत्र जारी गरिसकेका छैनन् । त्यसैले उनीहरूको मिसन, भिजन र गोल थाहा छैन । नेपालगञ्जको चुनाव जित्न विकासका एजेण्डा वा सुशासन र भ्रष्टाचारको विरोध गरेर मात्र पुग्ने छैन । मधेसी र पहाडी समुदायबीचको सन्तुलन अनि हिन्दु र मुसलमान धर्मावलम्बीहरूको भाइचारा र अन्य विभिन्न समुदायबीचको सेतु जोड्न सक्नु पर्नेछ । अनि स्वाभाविक रूपमा परिवर्तनको पक्षमा देखिएको आमचाहना सम्बोधन गर्न मतदातासमक्ष विश्वसनीय र परिपक्व प्रतिबद्धता जनाउनु पर्नेछ ।  इस्तियाकले आफ्नो मुसलमान समुदायको भोट कति होल्ड गर्न सक्छन् अनि एमालेको मत शतप्रशित पाउन सक्छन् कि सक्दैनन् त्यसैमा उनको भाग्य तय हुनेछ । विष्ट र श्रेष्ठ नयाँ मात्र होइन, तल्लो तहका मतदातासम्म परिचित छैनन् । उनीहरूसँग संगठनको बलमात्र छ । विष्टको व्यवसायिक र खेल साइनोले थोरबहुत फाइदा गर्ला । श्रेष्ठको व्यवसायिक सम्पर्क पनि छ ।  यी दुई नयाँका तुलनामा सुधांशु राजनीतिक पृष्ठभूमिका र तल्लो तहसम्म पहुँच बनाएका उम्मेदवार हुन् । सुशील कोइरालाको भतिज मात्रै होइनन् उनका वुवा डा. अरुण र आमा किरण दुवै कांग्रेस बाँकेका पार्टी सभापति भैसकेका छन् । लामो समय नेपालगञ्जमा चिकित्सा सेवा गरेका डा. अरुणको छविले पनि छोरा सुधांशुलाई ठूलै बल मिल्ने आँकलन छ । उनी आफै पनि कांग्रेसका जिल्ला सचिव छन् । कोइराला परिवारका अन्य सदस्यको तुलनामा सुधांसुको जनसम्पर्क बलियो छ । आफ्नो पार्टीभित्र मात्र होइन, अन्य पार्टीमा पनि उनको पहुँच मित्रवत भएकाले बाहिरको भोट पनि उनले तान्न सक्ने विश्लेषण गरिएको छ । पार्टी, व्यक्तित्व र विरासत बलियो भएका उम्मेदवारका रूपमा सुधांसु देखिएका छन् । नेपालगञ्ज उपमहानगरको स्थानीय तहको चुनावमा ५ वटा वडाअध्यक्षसहित नेपाली कांग्रेसले नगरप्रमुख जितेको थियो । अनि डुडुवामा पनि प्रमुख र उपप्रमुख कांग्रेसले नै जितेको थियो । यसपाली युवा पहलमा कांग्रेसको मत कांग्रेससँगै रोकिने देखिएको छ । अघिल्लो पटक कांग्रेस उम्मेदवार सुदीपनरसिंह राणा आफ्नो मत जोगाउन पनि असफल भएका थिए ।  यस क्षेत्रमा पछिल्लो समय धार्मिक मत एकीकृत हुने गरेको उदाहरण पनि छ । हिन्दु महासंघका नाममा होस् वा मुस्लिम संगठनका नाममा होस्, धार्मिक मत एकठाउँ केन्द्रित हुने क्रम बढेको छ । कतिपय मतदाताहरू त्यसैअनुसार आ–आफ्नो आस्थाको समूहको पक्षमा उभिन सक्ने राजनीतिक विश्लेषण डा. जनार्दन आचार्यको छ ।  अलग–अलग चुनाव उठेकाले सबैको शक्ति यसपाली देखिनेवाला छ । किनभने पछिल्ला चुनावहरू गठबन्धनका नाममा भैरहेका थिए । कांग्रेस भित्रको गगन विश्वको विद्रोहले सबै पार्टीलाई आफ्नै खुट्टामा उभिन सिकाउने अवसर बन्दैछ यो चुनाउ । मधेसमा दुई प्रतिस्पर्धी बीच कुनै विषयमा कडा टक्कर हुने भयो भने त्यसलाई ‘काँटेका टक्कर’ भन्ने चलन छ । यसपाली बाँकेको २ नम्बर क्षेत्रमा तराईं लवज जस्तै ‘काँटेका टक्कर’ भयो भने सुधांशु र इस्तियाक वीच हुने धेरैको अनुमान छ । पहिलो पटक उम्मेदवार बनेका कांग्रेसका सुधांशुले नयाँ पुृस्ता र पाचौं पटक उम्मेदवार बनेका एमालेको सुर्यबाट उठेका इस्तियाकले अघिल्लो पुस्ताको प्रतिनिधित्व गर्छन् । यी दुइबीच सुधांशुलाई सहज अवस्था बन्न सक्ने डा. आचार्यको विश्लेषण छ । सुधांशुमा पार्टीको मत एक बनाउनु पर्ने चुनौती मात्र छ भने इस्तियाकलाई आफ्नो मुसलमान समुदायको मत जोगाउनु पर्ने र एमालेको मत एकढिक्का पार्नु पर्ने दोहोरो चुनौती छ । जबकि इस्तियाकसमेत ६ जना उम्मेदवार मुसलमान समुदायबाट उठेकाले उनीहरूको भोट बाँडिने सम्भावना बलियो छ । यता कांग्रेसीहरू भने यसपाली नजिते कहिल्यै जितिदँैन भन्दै लागेका छन् ।  कोइराला परिवारको विरासत र मतदातासम्म आफ्नै सम्बन्ध सुधांशुको बल हो भने राजनीतिक दाउपेच र छक्कापन्जाको ज्ञान इस्तियाकसँग छ । बाजी यी दुईमध्ये एकले मार्छ कि तेस्रो कोही फुत्त आउँछ, त्यो थाहा पाउन फाल्गुन २१ पर्खनै पर्छ ।

चुनाव आउन ३१ दिन बाँकी: मतदाता फकाउन घरदैलोमा उम्मेदवार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलले उम्मेदवारसहित घरदैलो अभियान तीव्र पारेका छन् । फागुन ४ गतेअघि आमसभा तथा खुला कार्यक्रम गर्न नपाउने भएपछि उम्मेदवार मतदाताको घरदैलो कार्यक्रममा छन् । माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि मतदाता समक्ष पुगेर भोट माग्न उम्मेदवार व्यस्त देखिन्छन् । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा यसपाली २३ जना चुनावी मैदानमा छन् । क्षेत्र नम्बर १ मा ११ र क्षेत्र नम्बरमा २ मा १२ जना उम्मेदवार छन् । उनीहरु सबै दूरदराजका बस्तीदेखि सहर बजारका चोक र गल्लीमा भोट मागी रहेको भेटिन्छन् । निर्वाचन हाँक्न दलले नेतृत्व पनि चयन गरिसकेका छन् । सबै दलले निर्वाचनका लागि सम्पर्क कार्यालय खोलेर नेता कार्यकर्ता परिचालन गरिसकेका छन् । क्षेत्रीय तहमा निर्वाचनका कमान्डर बनाएर प्रचार अभियान थालिएको हो ।  नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा चण्डीप्रसाद शर्माको नेतृत्वमा दुई वटा प्रदेश क्षेत्रका सभापतिसहित पदाधिकारीलाई निर्वाचन परिचालन समितिमा राखेर काम थालिएको छ । नेकपा (एमाले)ले पूर्वसांसद् सूर्य पाठकलाई निर्वाचन परिचालनको कमान्डर बनाएको छ भने राष्ट्रिय जनमोर्चाले तिलक थापा तथा राष्ट्रिय स्वतन्त्र पार्टीले रोशन खड्काको नेतृत्वमा प्रचार अभियान थालेका छन् ।  पहिलो चरणमा निर्वाचनमा होमिएका उम्मेदवारले घर घरमा पुगेर जनतालाई भेट्ने, राजनीतिक प्रशिक्षण गर्ने र आफ्नो दलको उद्देश्य र लक्ष्यबारे बताउन थालेका छन् । निर्वाचन लक्षित गरेर राजनीतिक दलहरूले एक हजार पाँच सय जनासम्म सदस्य रहेको निर्वाचन परिचालन समिति पनि गठन गरेका छन् ।  निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले क्षेत्रीय सभापति जोकलाल बुढा, एमालेले विष्णुप्रसाद भुसाल, नेकपाले फमलाल निउरे र रास्वपाले ढालेन्द्र रायमाझीलाई प्रचार संयोजक बनाएको छ  । प्रारम्भिक चरणमा क्षेत्र नम्बर २ मा पनि दलले घरदैलो कार्यक्रम गरिरहेका छन् । उम्मेदवारी दर्तापछि दैनिक विभिन्न दलका नेता तथा उम्मेदवार भोट माग्न आउने गरेको बागलुङ नगरपालिका-७ की सकुन्तला सापकोटले बताए ।  सापकोटाले भने, ‘उम्मेदवार धेरै रैछन्, दिनदिनै आउँछन् भोट मलाई भन्छन्, हामीहरुले जनताको काम गर्छ, सशासन कायम गर्छ उसैलाई भोट दिन्छौं भनेको छौं, चुनाव आउन अझै एक महिना बढी छ, तर भोट माग्ने आउने नेताहरुको कारण चुनाव आइसके जस्तो भइरहेको छ ।’ ढोरपाटन नगरपालिका-१ का खगेश्वर खत्रीले भोट माग्ने नेता तथा उम्मेदवारका कारण चुनावी सरगर्मी बढेको बताए । यस क्षेत्रमा १२ जना उम्मेदवार रहेको भन्दै दिनहुँ जसो मत माग्ने आउने गरेको उनको भनाइ छ ।

बैतडीमा मन्त्रीदेखि पूर्वप्रधानमन्त्रीका छोरासम्म चुनावी मैदानमा, कसले मार्ला बाजी ?

काठमाडौं । यति बेला देशभर निर्वाचनको रौनक बढ्दै गइरहेको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिमको बैतडीको चुनावी माहोल पनि झनै तातेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई पटक मन्त्री र एक पटक राज्यमन्त्री बनेका उम्मेदवारदेखि पूर्वप्रधानमन्त्रीका छोरासम्म चुनावी मैदानमा छन् । उसो त बैतडी नेपाली कांग्रेस र नेकपा एमालेको बलियो आधार भएको किल्ला हो । एमालेले पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं केन्द्रीय सदस्य दामोदर भण्डारीलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई मैदानमा उतारेको छ । भण्डारी दुईपटक उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री समेत भइसकेका छन् । बैतडीको पाटन घर भएका उनी २०७० देखि सो क्षेत्रमा जित्दै आएका छन् ।  २०७० सालको निर्वाचनमा भण्डारी बैतडी १ बाट नरेन्द्र कुँवरलाई पराजित गरेका थिए । त्यतिबेला बैतडीमा २ वटा निर्वाचन क्षेत्र थिए । पछि २०७४ सालमा भने एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको तालमेल भएका थियो जसमा उमेदवार दामोदर नै रहेका थिए ।  २०७४ सालको निर्वाचनमा भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई ११ हजार २३३ मतान्तरले पराजित गरेका थिए । भण्डारीले ३९ हजार ५२४ मत ल्याउँदा चन्दले २८ हजार २९१ मत मात्रै पाएका थिए । त्यसपछि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भण्डारीले ३३ हजार ६११ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका नरेन्द्र कुँवरले ३२ हजार ८० मत पाएका थिए । कुँवरलाई एक हजार ५३१ मतले पछि पार्दै भण्डारीले निर्वाचन जितेका थिए ।  २०७० सालदेखि निरन्तर तीन पटक चुनाव जितेका भण्डारी यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । १० स्थानीय तह, ८४ वडा र १२९ बुथहरूमा एमालेको विजय अभियान लिएर आफू घरदैलो अभियानमा होमिएको भण्डारीको भनाइ छ । उनले आफ्नो कार्यकालमा बैतडीमा विकासको ठोस आधार तयार भएको दाबी गरे ।  १० वटै पालिका केन्द्र जोड्ने सडकको आधारभूत रूपरेखा आफ्नै पालामा तयार भएको जिकिर उनको छ । त्यसैगरी, जिल्लाभर तीव्र रूपमा विद्युतीकरणको काम अघि बढेको पनि उनले बताए । त्यस्तै, तीनवटा आङ्गिक क्याम्पसको स्थापना, विद्यालयमा भौतिक पूर्वाधार सुधार र जिल्ला अस्पताललाई विशेषज्ञ सेवासहितको बनाउने कार्य आफ्नो पालामा अघि बढेको उनले सुनाए । ‘हामीले धेरै कामको सुरुवात गरेका छौं, अब त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउनु छ,’ भण्डारीले विकासन्युजसँग भने ।  उनले आफ्नो आगामी कार्यकालको पहिलो प्राथमिकतामा अघिल्ला कार्यकालमा सुरु भएका तर सम्पन्न हुन बाँकी रहेका अधुरा योजनाहरूलाई पूरा गर्ने दावी गरे ।  जनताले भोग्दै आएको प्रशासनिक झन्झट र सेवा प्रवाहमा देखिएका कमजोरीहरूप्रति भण्डारी सचेत रहेको बताउँछन् । उनी भन्छन, ‘अहिलेको प्रशासनिक स्वरूपमा रहेका कमजोरीका कारण जनताले चाहेजस्तो सेवा पाउन सकेका छैनन् । एमालेको बहुमतको सरकार बनेपछि सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनु हाम्रो मुख्य उद्देश्य हुनेछ ।’ भण्डारीका अनुसार सबै वडामा व्यवस्थित सडक सञ्जाल पुर्याउने विशेषज्ञ सेवासहितको जिल्ला अस्पताल, जनमुखी र झन्झटरहित प्रशासनिक सेवा तथा भौतिक संरचना र जनशक्तिको उचित व्यवस्थापनलगायत एजेण्डा अघि सारिएको छ । नेपाली कांग्रेसले भने भण्डारीको विरासतलाई टक्कर दिन यसपटक बैतडीका नेता तथा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई मैदानमा उतारेको छ । उनी सहिद दशरथ चन्दका नाति हुन् । शिक्षक संघको राजनीतिबाट उदाएका चन्द पहिलोपटक चुनावी मैदानमा होमिएका हुन् । उनी बैतडी जिल्ला सभापतिसमेत हुन् । बैतडीमा चन्दको पडक राम्रो रहेको धेरैको बुझाइ छ । तीन दशकदेखि क्रिकेटको विकासमा लागिपरेका चन्द जित्ने दाउमा छन् । सहिद दशरथ चन्दको विरासत जोगाउने मेसोमा चन्द बैतडीबाट चुनाव लड्न पाउनुलाई चन्दले आफ्नो लागि ऐतिहासिक अवसर रहेको बताउँछन् । उनी भन्छन्, ‘म पार्टीमा पुरानो भए पनि जनताको मत माग्न पहिलोपटक आएको छु । बैतडीले पटक-पटक मन्त्री त पायो, तर विकास र न्याय पाएन । अबको लडाइँ बैतडीको स्वाभिमान र समग्र समृद्धिका लागि हो ।’ दशरथचन्द नगरपालिका घर भएका चन्द बैतडीको विकास इच्छाशक्तिको कमीले रोकिएको दावी गर्छन् । ‘महाकाली नदीको झुलाघाटमा पक्की पुल बन्नुपर्ने ३० वर्ष पहिले नै हो । तर पुराना प्रतिनिधिहरूको प्राथमिकतामा यो परेन । बैतडीबाट भइरहेको पलायन र बाँझिदै गएका खेतबारी रोक्न कनेक्टिभिटी अनिवार्य छ,’ उनी भन्छन् ।  धार्मिक पर्यटनको प्रचुर सम्भावनालाई उजागर गर्दै बैतडीलाई राष्ट्रिय मूलधारमा जोड्ने उनको मुख्य एजेण्डा छ । आफ्नो राजनीतिक दर्शन ‘सामाजिक न्याय’ मा आधारित रहेको बताउँदै चन्द भन्छन्, ‘अहिले शक्तिको आडमा कार्यकर्ता पोस्न सामुदायिक भवन बनाउने चलन छ, जहाँ स्कुलको भवन आवश्यक छ । नेताले चाहेको विकास होइन, जनताले खोजेको विकास मेरो प्राथमिकता हो ।’ बैतडीमा योग्य र शक्तिशाली प्रतिनिधित्वको अभाव रहेको चन्दको दावी छ । ‘म केन्द्रसँग विकास खोसेर ल्याउन सक्ने क्षमता राख्छु । म परिणाम दिन आएको हुँ, समय कटाउने खेलोमा लाग्दिनँ,’ उनले भने । अरु प्रतिस्पर्धीहरूको तुलनामा आफूले धेरै काम गरेको उनी बताउँछन् ।  ‘म क्रिकेट संघमा हुँदा नेपालले दुई पटक विश्वकप खेल्ने अवसर पायो । शिक्षक संघमा हुँदा ५४३ विद्यालयको शैक्षिक सुधारमा काम गरें । मसँग अनुभव र विज्ञता दुवै छ । मलाई समस्या बुझ्न अध्ययन गरिरहनु पर्दैन, म आफै त्यो भोगाइबाट आएको मान्छे हुँ,’ उनले भने । उनी अमर सहिददशरथ चन्दका नाति हुन् । सहिदको जन्मघरको संरक्षण उनले गर्दै आएका छन् । २० वर्षदेखिको प्रतीक्षामा रहेको झुलाघाट पक्की पुलको निर्माण सम्पन्न गर्ने, बैतडीलाई सुदूरपश्चिमकै शैक्षिक र खेलकुद हब बनाउने, बाँझो जमिन उपयोग गरी पलायन रोक्ने तथा पहुँचको आधारमा नभई आवश्यकताका आधारमा बजेट वितरण गर्ने लगायतका एजेण्डा चन्दले अघि सारेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट एमाले उम्मेदवार भण्डारीकै नाता पर्ने हरिमोहन भण्डारी मैदानमा छन् । दामोदर र हरिमोहन पाटन नगरपालिकाका एउटै गाउँका भण्डारी बन्धु हुन् । हरिमोहनले २०७९ सालको प्रदेशसभा निर्वाचनमा प्रदेशसभा (क) बाट स्वतन्त्र उम्मेदवारी दिँदै ११ हजार १८ मत प्राप्त गरेका थिए । उनी एमालेका उम्मेदवार तथा जिल्ला अध्यक्ष सुरेन्द्रबहादुर पालसँग पराजित भएका थिए । स्वतन्त्र उम्मेदवार भएर पनि उल्लेख्य मत प्राप्त गर्न सफल भण्डारीको राजनीतिक प्रभाव भने कमजोर नरहेको स्थानीयहरू बताउँछन्।  २०७४ सालको निर्वाचनमा हरिमोहन नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनले १५ हजार १२६ मत प्राप्त गरे पनि तत्कालीन नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्टसँग पराजित भएका थिए । लगातार दुई निर्वाचनमा पराजय भोगेका हरिमोहन यसपटक भने आफू जित्ने दावी गर्छन् । विद्यमान राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै हरिमोहन नयाँ सोच र जवाफदेही राजनीति हुनुपर्नेमा जोड दिन्छन्  । उनले सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र संस्थागत सुधारलाई आफ्नो प्रमुख राजनीतिक एजेण्डा बनाएका छन् । हरिमोहन पूर्वाधार विकास, कृषि क्रान्ति, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवा सुधार र रोजगारी सिर्जना अब भाषणमा सीमित नभई कार्यान्वयनको चरणमा पुग्नुपर्ने बताउँछन् । ‘विगतका मन्त्री र उम्मेदवारहरूले जस्तो खोक्रो आश्वासन दिने होइन, त्यसलाई पूर्ण रूपमा पूरा गर्ने राजनीति मेरो बाटो हो,’ हरिमोहनले भने । परम्परागत दलहरूको असफलता र त्यसबाट जनतामा पैदा भएको निराशालाई चिर्दै नयाँ सोच, नयाँ शैली र जवाफदेही राजनीतिक अभ्यासमार्फत मात्र परिवर्तन सम्भव हुने उनले दावी गरे ।  ‘जनताको बहुमतबाट निर्वाचित हुनेमा म पूर्ण विश्वस्त छु,’ उनले भने । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई उनले केवल विरोधको कार्यक्रम नभई दशकौंदेखि मौलाउँदै आएको सिन्डिकेट, भ्रष्टाचार र अवसरविहीनताको विरुद्धको ऐतिहासिक संघर्षको संज्ञा दिए । हरिमोहन पनि बैतडीको राजनीतिमा परिचित र प्रभावशाली नेताका रूपमा चिनिँदै आएका छन् । यसपटक चन्द र दुई भण्डारीबीच नै कडा टक्कर हुने धेरैको आँकलन छ ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले परमान्नद भट्टलाई मैदानमा उतारेको छ । उनी चुनावी मैदानमा पहिलो पटक होमिएका हुन् । सुर्नयाँ गाउँपालिकाका भट्टलाई जिल्लामा बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ । आफू बैतडीमा लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहेको उनको भनाइ छ । एमाले बैतडीका संस्थापक नेतासमेत रहेका भट्ट यसअघि जिल्ला विकास समितिको सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए । उम्मेदवार भट्टले निर्वाचन जितेपछि बैतडीको समग्र विकासलाई प्राथमिकतामा राख्दै सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस पहल गर्ने बताए । ‘बैतडीलाई पछि पारिएको जिल्लाको रूपमा होइन, सम्भावनायुक्त जिल्लाको रूपमा स्थापित गर्ने मेरो लक्ष्य हो । यसअघि बैतडीले प्रधानमन्त्री, मन्त्री पायो तर विकास पाएन । हामी बन्न आएका होइनौं, बनाउन आएका हौं,’ भट्टले विकासन्युजसँग भने । उनी पनि यति बेला घरदैलो अभियानमा व्यस्त छन् ।  यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूपेन चन्दलाई मैदानमा उतारेको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका कान्छा छोरा भूपेन पाइलट, आईटी इन्जिनियर र कलाकार पनि हुन् । उनको उम्मेदवारीले जिल्लाका स्थापित र हेभीवेट नेताहरूलाई बलियो चुनौती दिने आँकलन देखिएको स्थानीयहरू बताउँछन् । लामो समय विदेशमा विज्ञता हासिल गरेर स्वदेश फर्किएका चन्द अहिले राजनीतिको माध्यमबाट देशको सेवा गर्ने अठोटका साथ चुनावी मैदानमा होमिएका हुन् । चन्दको चुनावी अभियानले युवाका मुद्दालाई केन्द्रमा राखेको छ । राप्रपा बैतडीका अध्यक्ष इन्द्रशरण देव भट्टका अनुसार पुराना दल र नेताहरूको कार्यशैलीबाट जनता वाक्क-दिक्क भएकाले नयाँ अनुहारको खोजी भएको हो । ‘विगतमा उहाँहरूले गरेका काम देखेर जनतामा निराशा छ, त्यसैले अहिले मतदाताहरूले परिवर्तन खोजिरहेका छन्,’ भट्टले विकासन्युजसँग भने । ‘जहाँ गए पनि राम्रो उत्साह पाएका छौं, पुराना दलबाट निराश भएका मानिसहरू हामीसँग जोडिइरहनुभएको छ । हाम्रो जित्ने सम्भावना ९० प्रतिशत छ,’ उनले थपे । चन्दले देशमै रोजगारीका अवसर सिर्जना गरी युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने, भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गरी सुशासन कायम गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस नीति निर्माण गरी कार्यान्वयन गर्नेलगायतका एजेण्डा अघि सारेका छन् । एक दशभन्दा बढी समय विदेशमा बिताएर नेपाल आएका चन्दले देशको लागि केही गर्ने भन्दै चुनावमा होमिएको बताउँछन् ।  उनले भने, ‘पहिलेका बाट पार लाग्ने देखिएन । त्यसैले म चुनावमा होमिएको हुँ । सबैले यसपटक मलाई भोट दिएर जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु । अब देशलाई पार्टीको कार्यकर्ता होइन, देशको सेवक चाहिएको छ ।’ उनले आफ्ना बुवा तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले प्रधानमन्त्री भएपछि मेचीदेखि महाकालीसम्मका सबै जनता मेरा हुन् भन्ने भावना राखेर अघि बढेको दाबी गरे ।  आफ्नो क्षेत्रलाई मात्र काखी च्यापेर राष्ट्रिय नेता बन्न नसकिने उनको भनाइ छ ।  कस्तो छ निर्वाचन तयारी ? जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख खकेन्द्र भारतीले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, मतदान सामग्री र अन्य लजिस्टिक तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयदेखि सबैतिर धमाधम काम भइरहेको छ । हामी निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्न कटिबद्ध छौं,’ भारतीले विकासन्युजसँग भने ।  भारतीका अनुसार बैतडीमा कुल मतदाता संख्या १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन् । तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई अन्य मतदाता रहेका छन् । जिल्लाभर १२९ मतदान स्थल र २१४ मतदान केन्द्र तोकिएको छ । जिल्लाभरि रहेका २१४ ओटा मतदान केन्द्रमा १ हजार ४४२ जना कर्मचारी खटाउने तयारी रहेको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ ।  सुरक्षाको हिसाबले बैतडीका ३३ ओटा मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । सुरक्षाका लागि सबै ठाउँमा शान्तिपूर्ण मतदानको व्यवस्था मिलाइएको भारतीको भनाइ छ । ‘हाम्रो लागि सबै मतदान केन्द्रहरू उत्तिकै महत्त्वपूर्ण र सुरक्षित छन्,’ उनले भने, ‘हामीले सबै मतदाताले निर्धक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित गरेका छौं ।’ बैतडीमा १० वटा राजनीतिक दल र एक जना स्वतन्त्रसहित ११ जनाले मनोनयन दर्ता गराएका छन् ।  एमालेबाट दामोदर भण्डारी, नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालबाट आन सिंह भण्डारी, श्रम संस्कृति पार्टीबाट गजेन्द्र राज पाण्डेय, नेपाल मजदुर किसान पार्टीबाट नबराज कोइराला, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुपेन बहादुर चन्द, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट राम बहादुर कुवँर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरिमोहन भण्डारी, आमजनता पार्टीबाट बिशन सिंह बोहरा तथा जयप्रकाश बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।