अघि बढ्यो काठमाडौं–बिरगञ्ज विद्युतिय रेलको काम, यात्रु र कार्गाे दुबै बोक्ने रेल बनाइने

काठमाडौं, १९ मंसिर । सरकारले आर्थिक बर्ष २०७३/७४ कोे बजेटमा काठमाडौं–बिरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना अघि सारेको थियो । यतिबेला त्यो योजना कार्यान्वयनको चरणमा अघि बढेको छ । ‘हामीले ३१ दिने सार्वजनिक सूचना प्रकाशित गरेर सम्भाव्यता अध्ययनका लागि आवेदन दिन आव्हान गरेका छौं, विदेशी कम्पनी र जोइन्ट भेञ्चरमा नेपाली कम्पनीले पनि आवेदन दिन सक्छन’, रेल विभागका बरिष्ठ इञ्जिनियर कमलदेव प्रसाद साहले विकासन्युजसँग भने । विभागले यात्रु बोक्ने तथा कार्गाे समान बोक्ने रेल वे लाइन निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउन लागेको बताएको छ । सम्भाव्यता अध्ययनका लागि रेल विभागले करिब ७ करोड बजेट छुट्याएको छ । समय सिमा भित्र आवेदन दिने कम्पनीमध्येबाट विभागले पहिलो चरणमा ६ वटा कम्पनीलाई छनौट गर्नेछ । ती कम्पनीसँग ३० देखि ४५ दिनको समय भित्र वित्तिय तथा प्राबिधिक रिपोर्ट मागिनेछ । त्यसरी वित्तिय तथा प्राबिधिक रिपोर्ट बुझाउने कम्पनीमध्येबाट एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिईने साहले बताए । यसरी अधिकतम ४ महिना भित्र काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनीको छनौट हुनेछ । सो कम्पनीले ६ महिना भित्र सम्भाव्यता अध्ययनको रिपोर्ट विभालाई बुझाउने छ र त्यसकै आधारमा विभागले नयाँ प्रक्रिया मार्फत डिपिआर निर्माणको काम अघि बढाउनेछ । यद्यपी सन २०१७ को अप्रिल महिना भित्र रिपोर्ट बुझाउनुपर्ने विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ । यसैबिच विभागले काठमाडौं–रसुवागढी रेलमार्गको समेत सम्भाव्यता अध्ययनको काम अघि बढाउने तयारी अन्तिम चरणमा पुर्याएको छ । त्यसका लागि अनुमानित १० करोड बजेट समेत बिनियोजन भैसकेको साहले जानकारी दिए । बिभागले चिनियाँ कम्पनी मार्फत काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेको छ । मेची–महाकाली रेल वेको काम धमाधम अघि बढिरहेको छ भने काठमाडौं मेट्रो रेलको पनि सम्भाव्यता रिपोर्ट ६ महिना अघि नै तयार भैसकेको छ ।

रिङरोड विस्तारको काम सुस्त, निर्माण कार्यले गति नलिए २७ किमी विस्तार गर्न १२ वर्ष लाग्ने

काठमाडौं १९, मंसिर । सरकारी उदासीनताका कारण राजधानीको रिङरोड विस्तारमा ढिलाइ भएको छ । अहिलेकै गतिमा काम गर्दै जाने हो भने २७ किलोमिटर रिङरोड विस्तारको काम सन् २०२९ मा मात्र सकिनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले रिङरोड निर्माणलाई गम्भीर रूपमा नलिँदा निर्माण कहिले सकिन्छ भन्ने अनिश्चित भएको छ । रिङरोडको पहिलो चरण कलंकीदेखि कोटेश्वर खण्ड १० दशमलव ३९ किमि विस्तार सन् २०१२ बाट थालिएको हो । तर, सन् २०१८ जुलाईमा मात्र उक्त खण्ड पूर्ण रूपमा निर्माण हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको आँकलन छ । यस हिसाबमा हेर्दा साढे ६ वर्षमा रिङरोडको १० दशमलव ३९ किमि खण्डको मात्र विस्तार सम्पन्न हुनेछ । ५ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त ८ लेन सडकको निर्माण चिनियाँ कम्पनी सांघाई कन्ट्रस्क्सनले गरिरहेको छ । भूकम्प र भारतले लगाएको नाकाबन्दीका कारण पनि निर्माण कार्यमा थप ढिलाइ भयो । २०७२ माघको अन्त्यमा नाकाबन्दी खुलेसँगै विस्तारको काम पुनः सुरु भएको हो । तर, यसमा पनि थप २ वर्ष लाग्ने देखिएको छ । काठमाडौं चक्रपथ सुधार आयोजनाका प्रमुख ज्ञानेन्द्र झा चालु आवमा ५ किमि मात्र कालोपत्रे गर्ने योजना रहेको बताउँछन् । कान्तिपुर दैनिकबाट ।

पर्वतका ११ लघुजलविद्युत् आयोजना मध्ये ८ वटा बन्द, ३ वटा मात्र सञ्चालनमा

पर्वत, १८ मङ्सिर । विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी भएका यहाँका अधिकांश लघुजलविद्युत् आयोजना बन्द भएका छन् । डेढ दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजनामध्ये आठ आयोजना पूर्ण रुपमा बन्द भएका हुन् । हाल तीन वटा मात्र आयोजना सञ्चालनमा छन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत गाउँमा विद्युतीकरण लाइन पुगेपछि लघु जलविद्युत् आयोजना धमाधम बन्द भएका हुन् । सहरमा विद्युत्भार कटौती हँुदा पनि सधैँ उज्यालो रहने गाउँका ११ लघुजलविद्युत्मध्ये अहिले तीन वटाले मात्रै उत्पादन गरिरहेका छन् । दक्षिण पर्वतको सरौखोलामा रहेको १२ किलोवाट अगुवाखोला, पाङराङको साढे सात किलोवाट क्षमताको गढीसिद्ध र ११ किलोवाटको बाच्छाखोला, हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, भोर्ले गाविसमा रहेको १६ किलोवाट क्षमताको धुवाकोट र क्याङ गाविसमा रहेको १६ किलोवाट क्षमताको घट्टेखोला लघुजलविद्युत पूर्ण रुपमा बन्द छन् । त्यस्तै बाच्छा गाविसको बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघुजलविद्युत् आयोजनाले उत्पादन गर्न छाडेका छन् । अहिले भुकताङले गाविसमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला, भोक्सिङको छ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत् आयोजनामा मात्र सञ्चालनमा रहेको जिविस ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारले जानकारी दिए । ती आयोजना पनि मर्मत अभावले अल्पकालीन रुपमा चल्ने र बन्द हुने गरेका छन् । शिलाकारले भने गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको बताए । “बन्द रहेका आयोजना सुचारु गराउन पहल भइरहेको छ,” उनले भने, “स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हँुदै गएका हुन् ।” जिल्लाका ११ लघुजलविद्युत् आयोजनाबाट १५६ दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भएको थियो । त्यसबाट एक हजार ४०३ घरधुरीका नौ हजार बासिन्दा लाभान्वित भएको शिलाकारले जानकारी दिए । “२५ वाट क्षमताको बल्ब महिनाभर चलाएको रु २५ तिरे पुग्थ्यो” उनले भने । विसं २०५५ देखि सञ्चालनमा रहेका ती आयोजना अहिले भग्नावशेष बनेका छन् । ती आयोजनाका लागि रु दुई करोड २५ लाख खर्चिए तापनि केन्द्रीय प्रसारण, उपभोक्ताको बेवास्ता र मर्मत अभावले पूरै उपेक्षित हुने अवस्थामा पुगेका हुन् । रासस