फास्ट ट्रयाकमा गाडी दौडाउने तयारी, अस्थायी रुपमा संचालन गर्न सकिने अवस्थामा

काठमाडौं । नेपाली सेनाले खोलेकोे काठमाडौं–तराई फास्ट ट्रयाकको ७० किलोमिटर सडकखण्डमा सरकारले यातायात सञ्चालनको तयारी गरेको छ । कुल ७६ दशमलव ४ किलोमिटर लामो सडक योजनामध्ये अहिलेसम्म ७० किलोमिटरको मात्र ट्र्याक खोलिएको छ । काठमाडौं–तराई(मधेस फास्ट ट्रयाक सडक आयोजनाका प्रमुख सत्येन्द्र शाक्यका अनुसार छैमलेदेखि सिस्नेरी–दोभान–निजगढ हुँदै लेनडाँडासम्म सुक्खायाममा यातायात सञ्चालन हुनेछ । ललितपुरको सैंबु, खोकना, बुङमती र डुकुछाप क्षेत्रमा अझै ६ दशमलव ४ किलोमिटरमा पर्ने जग्गा खरिद तथा मुआब्जासम्बन्धी काम बाँकी रहेको छ । यही क्षेत्र हुँदै फास्ट ट्र्याक निर्माण हुने भए पनि जग्गा प्राप्ति भइनसकेकाले वैकल्पिक सडकका रूपमा छैमलेदेखि सिस्नेरी–दोभान हुँदै फास्ट ट्रयाक भेट्ने गरी यातायात सञ्चालन सुरु गर्न लागिएको हो । ‘यातायात सञ्चालन गर्न ट्रयाक सफा गर्ने काम भइरहेको छ,’ आयोजना प्रमुख शाक्यले भने, ‘मिति किटान गर्न नसके पनि चाँडोभन्दा चाडो यातायात सञ्चालनमा ल्याउँदै छौँ ।’ आयोजना कार्यालयले निजगढ र छैमले दुवैतिरबाट सवारी गुड्न सक्ने ट्र्याक तयारीको काम भइरहेको जनाएको छ । त्यसका लागि दुवैतिरबाट डोजरले काम गरिरहेका छन् । केही दिनअघि गरिएको स्थलगत निरीक्षणले पनि हिउँद याममा सवारीसाधन गुड्न सक्ने सम्भावना रहेकाले सञ्चालनको तयारी थालिएको आयोजना प्रमुख शाक्यले जानकारी दिए । सेनाले ०६६ देखि ७० सालसम्म चार वर्ष लगाएर एक सय १० किलोमिटर ‘पाइलट ट्रयाक’ खोलेको थियो । आयोजनाको जग्गा प्राप्तिमा मात्र ६ अर्ब आवश्यक फास्ट ट्र्याकका लागि आवश्यक जग्गा प्राप्ति गर्न मात्रै कुल ६ अर्ब २४ करोड रुपैयाँ आवश्यक पर्ने भएको छ । त्यसमध्ये काठमाडौं–तराई(मधेस फास्ट ट्र्याक सडक आयोजनाले अहिलेसम्म तीन अर्ब २४ करोड रुपैयाँबराबरको रकम ट्रयाक खोल्न र जग्गाधनीलाई मुआब्जा वितरणमा खर्च गरेको छ । त्यसमध्ये ९४ करोड ४४ लाख रुपैयाँ भने ट्र्याक खोल्न खर्च भएको छ । अझै दुई अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्ने आयोजना प्रमुख सत्येन्द्र शाक्यले जानकारी दिए । आयोजनाले ७० किलोमिटर सडकका लागि आवश्यक जग्गा प्राप्ति गरिसकेको छ । यो आवश्यक जग्गा अधिग्रहणमध्ये ९३ प्रतिशत हो । बाँकी रहेको ६ दशमलव ४ किलोमिटर सडकका लागि दुई अर्ब ८० करोड रुपैयाँ आवश्यक रहेको आयोजना कार्यालयले जानकारी दिएको छ । ललितपुरको सैंबु, खोकना, बुङमती र डुकुछाप क्षेत्रमा पर्ने ९६।४ किमि० जग्गा प्राप्ति गर्न मुआब्जामा विवाद भएपछि अझै वितरण हुन पाएको छैन । सो क्षेत्रका बासिन्दाले जग्गाको मूल्य निर्धारण कम भएको भन्दै निर्धारित मुआब्जा लिन मानेका छैनन् । ‘उपत्यकाको जग्गा भएकाले चलनचल्तीको दरभन्दा धेरै मूल्य राखि“दा पनि स्थानीयले असन्तुष्टि देखाएका छन्,’ आयोजना प्रमुख सत्येन्द्र शाक्यले भने । तर, यही क्षेत्रमा मुआब्जामा चित्त बुझाएका धरधनीलाई ४० करोड रुपैयाँ भने वितरण गरिसकेको छ । जग्गा प्राप्तिबाहेक समस्या भएको क्षेत्रमा रहेका घर, टहरा, बोट–विरुवालगायतको मूल्य थप २० करोड रुपैयाँ आवश्यक पर्ने जिल्लाको मूल्य निर्धारण समितिले अनुमान गरेको छ । आयोजनाका आगामी कार्यक्रम स् आयोजना कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७४(७५ भित्र जग्गा अधिग्रहन तथा मुआब्जा भुक्तानीको काम सम्पन्न गरिनेछ । त्यस्तै, उपयुक्त खरिद प्रक्रिया छनोट गरी पाँच वर्षभित्रै आयोजनालाई सम्पन्न गर्ने तयारी गरिएको छ । आयोजनालाई इपिसी ९इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन० विधिबाट निर्माण गर्ने तयारी भइरहेको छ । आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन ९ चैत ०७२ मा स्वीकृत भइसकेको छ । नयाँ पत्रिका दैनिकबाट ।

फास्ट ट्रयाक समृद्धिः सैंबु, खोकना, बुंमति र डुकुछापका जनतालाई २ अर्ब ८० करोड

काठमाडौं । काठमाडौं र तराई जोड्ने सबै महत्वपूर्ण मार्गका रुपमा हेरिएको फास्ट ट्रयाकले मुलुकको आर्थिक विकासमा ठुलो योगदान दिने बताइँदै आएको छ । तर यो फास्ट ट्रयाकले ललितपुरको सैंबु, खोकना, बुंमति र डुकुछापका जनताको जीवनस्तर पनि माथी उठाउने देखिन्छ । फास्ट ट्रयाकको राइट अफ वेमा पर्ने जमिन र घरहरुको मुआब्जा वापत सरकारले सो क्षेत्रका बासिन्दालाई २ अर्ब ८० करोड रुपैंयाँ उपलब्ध गराउँदैछ । सो खण्डमा फास्ट ट्रयाकको ६ दशमलब ४ किलोमिटर सडक पर्छ । यस अघि नै सोही क्षेत्रका स्थानियलाई ८० करोड मुआब्जा वितरण गरिसकिएको फास्ट ट्रयाक आयोजनाका प्रमुख सत्येन्द्र शाक्यले बताए । आयोजनाले ७० किलोमिटर क्षेत्रमा पर्ने काठमाडौं र मकवानपुरका स्थानियलाई एक अर्ब ५० करोड रुपैंयाँ मुआब्जा वितरण गरिसकेको छ । फास्ट ट्रयाकको मुआब्जाका लागि ४ अर्ब ७० करोड रुपैंयाँ लाग्नेछ । हालसम्म ९३ प्रतिशत जमिनको मुआब्जा बाढि सकिएको छ । सरकारले चालु आर्थिक बर्षमा यो आयोजनाका लागि १० अर्ब बजेट विनियोजन गरेको छ । यो आयोजना निर्माणमा ढिलाई हुँदा बर्षेनी १४ अर्ब रुपैंयाँ बराबरको नोक्सानी हुने आयोजना प्रमुख शाक्यले बताए । आयोजनाको लागत बर्षेनी १० अर्ब वृद्धि भैरहेको छ भने ढुवानी भाडाका कारण नेपालले ४ अर्ब भन्दा बढि नोक्सानी व्यहोरिहेको छ । नेपाली सेनाले ९४ करोड ४४ लाख ५४ हजार खर्चेर ११० किलोमिटर सडकको ट्रयाक खोलेको थियो । सन २०१५ सालमा एसियाली विकास बैंकले ९६ अर्ब लागत अनुमान गरेको आयोजनाको डिपिआर रिपोर्टमा ११२ अर्ब लागत हुने बताइएको छ ।

नागढुङ्गा-कलंकी सडकको ६ किलोमिटर बैशाखभित्रै कालोपत्रे

काठमाडौं । नागढुङ्गा- कलंकी सडक खण्डको ६ किलोमिटर सडक आगामी बैशाख भित्रै कालोपत्रे हुने भएको छ । सडक अतिक्रमण गरि निर्माण गरिएका भौतिक संरचना भत्काउने काम सम्पन्न भैसकेको ६ किलोमिटर सडक आगामी बैशाख भित्रै कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले बताए । ‘नागढुङ्गाबाट कलंकी तर्फको ६ किलोमिटर सडक बैशाख भित्रै पिच गर्न सकिन्छ, त्यसकाबिचमा केहि बिजुलीका पोल छन, तिनको व्यवस्थापनमा विद्युत प्राधिकरणले सघाउनु पर्छ’, महानिर्देशक कार्कीले भने । उनले अधिकतम ५ महिनाभित्रै सो खण्डको पिच सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । नेपाल विद्युत प्राधिकरणले सडकका बिच भागमा परेका बिजुलीका पोलहरुको व्यवस्थापनमा ढिलाई गरेकाले तत्काल कालोपत्रेको काम अघि बढाउन नसकिएको पनि उनले जानकारी दिए । कलंकीदेखि नागढुङगा तर्फको ६ किलोमिटर सडकमा भने अदालतले काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ । अदालतले अन्तिम फैसला नगरेसम्म सो खण्डको सडक विस्तार तथा कालोपत्रे गर्ने काम अघि बढ्न नसक्ने पनि उनले जानकारी दिए । बिगत लामो समयदेखि १२ किलोमिटर लामो कलंकी–नागढुङगा सडक विस्तार सम्पन्न नहुँदा सवारी आवागमनमा असहजता उत्पन्न भैरहेको छ । भत्काइएका सडक र खनिएका ढलहरुका कारण धुलो उडेर यातायात सञ्चालनमा कठिनाई हुनुका साथै स्थानिय जनताको जनजीवन पनि कठिन बन्दै गएको छ । तर सडक विस्तारमा अदालतले अन्तरिम आदेश दिएपछि काम अघि बढ्न सकेको छैन जसले थप सास्ती दिईरहेको छ ।