मुग्लिन-नारायणगढ सडकको बिजोग, छिनछिनमै पहिरो खसेरै हैरान
भरतपुर . नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा शुक्रबार बिहानै पहिरो गएको छ । बिहान साढे आठ बजे गएको पहिरो हटाएर सकिनै लाग्दा उक्त स्थानमा दिउँसो १ बजे पुनः पहिरो खस्यो । दिनभरि पहिरो हटाउने काम गरिए पनि पहिरो हटाउन सकिएन । पाँच घन्टा लगाएर पहिरो हटाउने काम सकिनै लाग्दा फेरि त्यसैमा पहिरो थपिएको हो । ‘पहिलाको पहिरो हटाएर सकिनै लागेको थियो, त्यसैमा फेरि पहिरो गयो’, चितवनका एसपी दीपक थापाले भन्नुभयो, ‘पानी परिरहेकाले थपिरहन्छ, छिनछिनमा पहिरो जाने हुनाले यात्रा जोखिमयुक्त बनेको छ ।’ रातिसम्म पनि पहिरो हटाउने काम गरिएको थियो । राति काम गर्न मजदुर असुरक्षित महसुस गर्छन् । पहिरोले ५० मिटर सडक ढाकेको छ । करिब आठ हजार घनमिटर पहिरो खसेको छ । एउटा ब्रेकरले ढुंगा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम गरिएको थियो । १२ घन्टासम्म पनि पहिरो हटाउन सकिएको थिएन । पहिरोको कारण स्थानीय एकबहादुर मगरको ज्यान गएको छ । ६१ वर्षीय मगर पहिरो पन्छाएको हेर्न जाँदा पहिरोले पुरिएका हुन् । पहिरो हटाएर खोज्ने क्रममा उनको शव भीरमा भेटिएको थियो । निकै ठूलो पहिरो खसेपछि यातायात सञ्चालन अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । इच्छाकामना ६ मा बिहानै पहिरो गएको हो । ठूलो पहिरो गएपछि जाममा परेका सवारीसाधन प्रहरीले फर्काएको थियो । पश्चिम जाने सवारी साधनलाई पोखराको बाटो हुँदै पठाइएको थियो । राजधानी जाने सवारीसाधन हेटौडको बाटो हुँदै पठाइएको थियो । पहिरो हटाउनका लागि चारवटा मेसिन प्रयोग गरिएको छ । पहाडबाट ढुंगा खस्दा पहिरो हटाउन निकै जोखिम छ । पहिरोग्रस्त क्षेत्र मानिने यहाँ ठूलो पहिरो गएका कारण हटाउन निकै समय लागेको हो । मुग्लिनदेखि ९ किलोसम्मको क्षेत्रमा अधिकांश स्थानमा पहिरो खस्ने गरेको प्रहरीले जनाएको छ । कालिखोला, तोपेखोला, चार किलो, नौ किलो, साढे दुई किलोमा पहिरो खसिरहने गर्छ । त्यसै घुमाउनेमा पहिरोको जोखिम छ । अन्नपूर्ण पाेस्टबाट ।
नारायणगढ मुग्लिङ सडक खण्डको काम अहिलेसम्मकै सुस्त, ठेकेदारको लापरबाही
चितवन। ठेकेदारको चरम लापरबाहीका कारण नारायणगढ मुग्लिङ सडक खण्डको काम सुस्त गतिमा अघि बढिरहेको छ र कहिले बन्ने हो त्यो निश्चित छैन । तर, यहीँ बाटो भएर दैनिक दस हजार भन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्ने यस क्षेत्रमा दिनानुदिन स्थानीयको ज्यान जाँदा समेत सम्बन्धित निकाय गैरजिम्मेवार हुँदा मुग्लिङ ( नारायणगढ सडक खण्डको काम अलपत्र बनेको हो । सडकखण्डको निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले बजेट नपाउँदा सडक निर्माणको काम अलपत्र भएको बताए । बिकास न्युज सित कुराकानी गर्दै आयोजनाका कन्ट्रयाक्ट म्यानेजर रविन्द्र श्रेष्ठले पहिरो व्यवस्थापनमा भएको खर्च आफूले नपाएको दुखेसो गरेका हुन् । उनले भने, नियमित रूपमा ८ घण्टा काम गर्न नपाउँदा ढिलाई भएको छ । विद्युत पोल, खानेपानीका पाइपलाइन जस्ता संरचना सम्बन्धित निकायले समयमै नसार्दा निर्माण कार्यमा अवरोध भएको दुखेसो समेत श्रेष्ठले सुनाएका थिए । उता, आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालले भने, नारायणगढ मुग्लिङ सडकको विभिन्न २९ स्थानमा पहिरो जोखिम क्षेत्र पहिचान गरिएको र विज्ञहरुलाई खटाएर गरेको भौगोलिक अनुसन्धानबाट उक्त सडक खण्डको करिब सात किलोमिटर क्षेत्रफल पहिरोको उच्च जोखिममा रहेको बताउँछन् । पहाड फोर्न कामहरु लगभग पुरा भएको उल्लेख गर्दै खनाल भन्छन् , ठेक्का नम्बर २ र ठेक्का नम्बर ३ मा गरि करिब छ सय मिटर पहाड फोर्न बाँकी रहेको छ । ठेक्का नम्बर ३ मा करिब चार सय मिटर सडक खण्डमा क्यान्टिलिभर पुल निर्माण गर्ने तयारी भएको भएपनि २ नम्बरमा भने पहाड फोरिनेछ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निर्माणाधीन मुग्लिङ सडकखण्ड सबैभन्दा बढी जोखिमयुक्त क्षेत्रका रुपमा रहेकोमा सबै पक्षलाई संवेदनशील रहन आग्रह गरेका छन् । “ठूला एक्साभेटर तथा रोलर लगाएर पहाडका भित्ता फोरिएका छन्”, उनले भने, “कटिङ छड्के नभई ठाडो छ, जसले गर्दा जोखिम बढेको छ ।“विपद् जोखिमको मूल्यांकन गरी तयारी अवस्थामा बसौं”, उनले भने, “जेठ १५ गतेभित्र स्ट्रक्चरल काम सक्ने भनिएको थियो , सुरक्षाका उपाय अपनाइने भनेर निर्णय गरिएको थियो”, उनले भने, “ती निर्णय कार्यान्वयन भएनन् , वैकल्पिक मार्गको प्रयोग गर्नुपर्ने अवस्था छ ।” बिका न्युज सित कुराकानी गर्दै प्रजिअ भट्ट भन्छन् -‘ समितिले विपद्मा आवश्यक सामग्रीको व्यवस्थापन गर्न स्थानीय प्रहरी चौकीको समन्वयमा काम गर्न सुझाव दिएको छ ।’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले वडातहमा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउन अनुरोध गरे । “स्थानीय समिति विगतमा पनि थिए, तर निष्क्रिय रहे”, उनले निर्वाचित जनप्रतिनिधि लाई लक्षित गर्दै भने, “अब सक्रिय पार्ने जिम्मा तपाईंहरुको काँधमा छ, विपद् व्यवस्थापनमा लागिपरौं ।” उनले विपद् व्यवस्थापन गर्न विगतमा बनाइएका संरचनालाई चलायमान गराउन भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् । पहाड फोर्दा पटक पटक पहिरो गएर ठूलो मात्रामा धनजनको क्षति भइरहेको उल्लेख गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी यस बारेमा ठेकेदार कम्पनी सचेत हुनुपर्ने समेत प्रजिअ भट्टले बताए । आगामी डिसेम्बर महिनासम्ममा सक्नुपर्ने काम अहिलेसम्म करिब ५२ प्रतिशत मात्रै सकिएको छ । म्याद थपे अनुसार निर्माण कम्पनीले अहिलेसम्म ६८ प्रतिशत काम सक्नुपर्ने हो । तर, बजेट अपुग भएको , भुकम्प गएको र नाकाबन्दी भएको भन्ने जस्ता बहाना बनाई काम प्रभावित बनाएको हो । आयोजनाले पटक पटक गरि दुई पटकसम्म उक्त सडक निर्माण सम्पन्न गर्ने म्याद थप गरिसकेको छ ।
लक्ष्यभन्दा एक महिनाअघि नै तीनवटा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न
म्याग्दी । म्याग्दीका मङ्गला गाउँपालिकामा तीनवटा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । उपभोक्ताको इच्छाशक्ति, सक्रियता, एकता र सम्बन्धित निकायबाट नियमित अनुगमन तथा प्राविधिक सहयोग प्राप्त भयो भने लक्ष्यअघि नै आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेका छन् । यसरी लक्ष्यभन्दा एक महिनाअघि सम्पन्न भएको उक्त आयोजनामा मङ्गला गाउँपालिका-४ स्थित बाघहान्नेगौडा, ३ स्थित डेगखोला र २ स्थित कोक्रवाङ तोराखेत छन् । उक्त तीनवटै आयोजनाबाट १६६ घरपरिवार लाभान्वित भएका छन् । घर घरमै शुद्ध खानेपानी आपूर्ति भएपछि स्थानीय बासिन्दा दङ्ग परेका छन् । पहिले खोल्सा र मुहानबाट प्रशोधन नगरिएको पानी नालाबाट लगेर उनीहरुले उपभोग गर्दै आएका थिए । घरमै धारा भएपछि समयको बचत र पानीको मितव्ययी प्रयोग भएको बरञ्जा दहकी नन्दा सापकोटाले बताए । रासस