मोनो रेल र फ्लाई ओभर बनाउने ललितपुर महानगरको योजना, बार्षिक बजेट ३ अर्ब २३ करोड
ललितपुर महानगरपालिकाले आव २०७४/७५ का लागि तीन अर्ब २२ करोड ९१ लाख १० हजार बजेट प्रस्ताव गरेको छ । ‘आर्थिक वर्ष २०७४/७५ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रम’ मा नगर प्रमुख चिरीबाबु महर्जनले आन्तरिक स्रोत र राजस्व बाँडफाँडबाट उक्त रकमको आय अनुमान गरेको बताए । चालूतर्फ ४३ करोड १२ लाख ८७ करोड (१३.३५ प्रतिशत) र पूँजीगततर्फ दुई अर्ब ७९ करोड ७८ लाख २३ हजार (८६.६५ प्रतिशत) खर्चको अनुमान गरिएको छ । परिषद्ले आन्तरिक आय एक अर्ब २२ करोड ४४ लाख प्रस्ताव गरेको छ । आन्तरिक स्रोतबाट एक अर्ब १६ करोड ४४ लाख र राजस्व बाँडफाँडबाट छ करोड आय हुने अनुमान गरिएको छ । गत आवमा स्थानीय कर, सेवा शुल्क, दस्तुर, बिक्री, विभिन्न स्रोतलगायत राजस्व बाँडफाँडबाट २७ करोड ९४ हजार ६२२ आम्दानी भएको थियो । आलू आवको असार २५ गतेसम्म ४७ करोड ५३ लाख ४४ हजार ६३१ राजस्व संकलन भएको छ । राजस्व संकलन अनुमानभन्दा ११९.८० प्रतिशत बढी हो । सार्वजनिक सेवा प्रवाहमा सुधारलाई प्राथमिकता दिएर कार्यक्रम बनाइएको प्रमुख महर्जनले बताए । उनाँले भने–“दिगो शहरी पूर्वाधार विकास र वैकल्पिक ऊर्जा प्रवद्र्धनलाई बजेटमा जोड दिइएको छ ।” बालबालिका, महिला, वातावरण, संस्कृतिको विकासलाई प्राथमिकता दिइएको उनले बताए । महानगरले फ्लाई ओभर र मोनोरेल निर्माण प्रक्रिया अघि बढाउने योजना तयारी थालेको छ ।
पुँजीगत खर्च ६५ प्रतिशत मात्रै
काठमाडौं । गत आर्थिक बर्ष २०७३/७४ मा ६५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । ८४ प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले आर्थिक बर्ष सकिँदा जम्मा ६५ दशमलब ३२ प्रतिशत मात्रै खर्च गर्न सकेको हो । शनिबार साँझसम्ममा जम्मा २ खर्ब ३ अर्ब ३७ करोड मात्रै पुँजीगत खर्च भएको छ । सरकारले गत आवमा ३ खर्ब ११ अर्ब ९४ करोड पुँजीगत बजेट विनियोजन गरेको थियो । नयाँ पत्रिका दैनिकबाट
१० लाखको लगानीमा ट्रयाक निर्माण सम्पन्न, दुई हजार ५०० घरधुरी लाभान्वित
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका ३ पिप्लेको बगैँचादेखि वडा नम्बर २ भगवतीको रिसीनचौतारी हुँदै बेगखोला जोड्ने सडकखण्ड अन्तर्गत बनाखीको भिरमा ट्रयाक निर्माण भएको छ । विगत छ वर्षदेखि सडक निर्माण सुरु गरिएको सो सडकअन्तर्गत कडा चट्टानको कारण निर्माण कार्य रोकिरहेको बनाखी भिरमा यो वर्ष डोजर लगाएर ट्रयाक निर्माण गरिएको हो । गलेश्वरदेखि बेग खोलासम्मको सडकको वैकल्पिक मार्गका रुपमा निर्माण गर्न लागिएको पिप्ले बगैँचा, रानीपौवा, रिसीनचौतारी, माछखर्क, बेगखोला सडक अन्तर्गत यो वर्ष र १० लाख बजेटबाट सो ट्र्याक निर्माण गरिएको हो । जिल्ला समन्वय समिति मार्फत ९ नौ लाख १० हजार र स्थानीयको १ लाख एक हजार ६९६ बराबरको श्रमदानबाट रानीपौवा र रिसीनचौतारीको बीचमा पर्ने सो भिरमा ट्र्याक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जगत शाहीले बताए । विगत छ वर्षदेखि निरन्तर प्रयास गर्दासमेत उल्लेख्य रुपमा बजेट विनियोजन नभएको र विनियोजन भएको बजेटले समेत सो भिरमा ट्र्याक खन्न सकिएको थिएन । बेनी-जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरदेखि बेगसम्मको खण्डको वैकल्पिक मार्गका रुपमा निर्माण गर्न लागिएको सो सडकखण्डमा खहरेखोलादेखि माछखर्कको बीचमा रहेको करिब ३०० मिटर भिरमा ट्रयाक निर्माण गर्न बाँकी छ । बगैँचादेखि रिसीनचौतारी हुँदै खहरेखोलासम्म र बेगखोलादेखि माछखर्कसम्म ट्र्याक निर्माण कार्य सम्पन्न भएकाले आगामी वर्षमा सजिलैसँग ट्र्याक निर्माणले पूर्णता पाउने स्थानीय वासीको भनाई छ । यस वर्ष नै यो खण्डको ट्र्याक निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि बजेट अभावले सम्भव नभएको हो । पिप्लेको बगैँचादेखि रानीपौवा हुँदै भगवतीको रिसीनचौतारी माछखर्क हुँदै बेगखोला जोडिने यो सडकले स्थानीय दुई हजार ५०० घरधुरी लाभान्वित हुने छन् भने गलेश्वरदेखि बेगखोला खण्डको वैकल्पिक मार्गका रुपमा समेत प्रयोगमा ल्याउन सकिनेछ । रासस