अब राजमार्गहरुमै ठूला विमानहरु अवतरण गर्नसक्ने बनाइने

काठमाडौं । सरकारले ठूला राजमार्गहरुलाई नै हवाईजहाजको धावनमार्गको रुपमा विकास गर्ने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरुको आपतकालिन अवतरणका लागि सरकारले राष्ट्रिय राजमार्गहरुलाई उपयोग गर्नेगरी राजमार्गको विस्तार गर्न उपयुक्त स्थानहरुको खोजी गर्ने भएको हो । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले त्यस्तो बताएकी हुन् । नेपालमा एक मात्रै अन्तराष्ट्रिय विमानस्थल भएको अवस्थामा यो विमानस्थलमा एयरट्राफिक बढी भएको बेला वा विमानमा प्राविधिक समस्या आउँदा आपतकालिन अवतरणका लागि भारत वा चीनका विमानस्थलमा भर पर्नुपर्ने अवस्था थियो । त्यस्तै सरकारले दुइ वर्षभित्र निजगढ विमानस्थलकाे निर्माण थाल्ने, पाेखरा विमानस्थल निर्माण सक्ने र आगामी वर्ष गाैतमबुद्ध विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकाे छ ।

थानकोट-चापागाउँ-भक्तपुर प्रसारण लाइन निर्माणमा अवरोध, ललितपुरमा लोडसेडिङको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन बन्न नदिएमा ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएको छ । विद्युतको माग बढिरहँदा हाल विद्युत आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हुँदा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नु पर्ने वाध्यात्मक अवस्था आउन लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले बताए । आर्थिक वर्ष २०५५/०५६ बाट सुरु भएको थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजनाको ललितपुर खण्ड स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरिरहेका छन् । काठमाडौं र भक्तपुरतर्फको निर्माण भने सकिएको छ । समस्या समाधानका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल भएको छैन । स्थानीयको अवरोधले निर्माणमा अवरोध हुँदा प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउन लागेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बुधबार आयोजना स्थलको निरीक्षण गरेका छन् । घिसिङले स्थानीयले मुख्य रुपमा अवरोध गरेको खोकना, बुंमती, चापागाउँ र हरिसिद्धी क्षेत्रमा प्रसारण लाइन निर्माण अवस्थाको जानकारी लिएका थिए । उनले ललितपुर महानगरपालिका बडा नम्बर २१ खोकनामा ढालिएको २७ नम्बर टावरको पनि निरीक्षण गरेका थिए । स्थानीयले नटबोल्ट खोलिदिएकाले खडा गरिएको टावर केही दिन अघि ढलेको थियो । ‘मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भइरहेको छ तर थानकोट–चापागाउँ–भक्तपुर प्रसारण बन्न नदिने हो भने पर्याप्त विद्युत् भएर पनि ललितपुरमा दिन सकिंदैन’, घिसिङले भने । ‘स्थानीयले प्रसारण लाइन बनाउन दिंदैनन्, खाडा गरिएका टावर ढालिदिन्छन् अनि कसरी काठमाडौं उपत्यकामा विद्युत आपूर्ति दिने ?प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउँदैछ ।’ यो प्रसारण लाइन निर्माण सम्पन्न भएमा काठमाडौं–ललितपुर र भक्तपुरमा १३२ केभीको प्रसारण लाइनको रिङ बन्ने उल्लेख गर्दै उनले यसबाट विद्युत आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुने बताए । अहिले लितिपुर क्षेत्रमा स्यूचाटार–पाटन–वानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ । ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन गर्नु पर्ने, त्यसो नभएमा तारमुनि पर्ने जग्गाको शत्प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति दिनु पर्ने लगायतका माग राख्दै निर्माणमा अवरोध गरेका हुन् । खोकनाका स्थानीयले काठमाडौं–निजगढ फास्ट ट्रयाक, बाहिरी चक्रपथको रुटसँगै र थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन निर्माण गर्नु पर्ने माग गरेका छन् । प्राधिकरणले सबस्टेसन निर्माण हुने हरिसिद्धी र टावर रहने स्थानको जग्गा अधिग्रहण गरिसकेको छ । तर, स्थानीयले अधिग्रहण गरेको जग्गामा समेत काम गर्न दिएका छैनन् । प्रसारण तारमुनि पर्ने ९ मिटर दायाँ र ९ मिटर बायाँको अधिकार क्षेत्र (राइट अफ वे)मा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति भने निर्धारण हुने प्रक्रियामा छ । प्राधिकरणले टावर रहने स्थानको जग्गाको शतप्रतिशत र राइट अफ वेमा पर्ने जग्गाको मूल्यांकन गरिएको रकमको १०–२५ प्रतिशतसम्म मुआब्जा दिँदै आएको छ । काठमाडौं र भक्तपुरमा राइट अफ वेमा पर्ने जग्गाका लागि मूल्यांकित रहेको २५ प्रतिशत मुआब्जा वितरण गरिएको थियो । प्रसारण लाइन आयोजनाको ललितपुर पर्ने १४ किलोमिटरमा ५१ वटा टावर खडा गरी तार तान्नु पर्ने छ । त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ । १५ वटा टावर खडा गरिएको छ । तार भने टांगिएको छैन । २८ किलोमिटर प्रसारण लाइन आयोजनाको अनुमानित लागत २ करोड ३० लाख अमेरिकी डलर छ । स्थानीयको अवरोधले काम रोकिएपछि प्राधिकरणले आर्थिक वर्ष ०६६/६७ मा ठेक्का तोडेको थियो । टावर निर्माणका सम्पूर्ण उपकरण पुरानै ठेकेदार कम्पनीले आपूर्ति गरिसकेको आयोजना प्रमुख सुनिल महतोले बताए । उनले अवरोध हटेर काम सुरु भएको ६ महिनाभित्रमा निर्माण सकिने अवस्था रहेको बताए ।

काठमाडौँ महानगरमा तत्काल दुई स्थानमा मात्रै आकाशे पुल, कहाँ कहाँ ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा चालु आर्थिक वर्षमानै दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ । महानगरले यसै आर्थिक वर्षको केही समय अघिनै पुल निर्माणको काम शुरु गर्ने भने पनि विभिन्न आन्तरिक व्यवस्थापनको काम गर्न नसक्दा काम हुन सकेको थिएन । विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताइए पनि तत्काल भने दुई स्थानमा निर्माण गर्न लागिएको प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । महानगरले तत्काल चाबहिल र पुरातत्व विभाग अगाडि पुल निर्माण गर्न लागेको डङ्गोलले जानकारी दिए । महानगरले चालु आव २०७५/७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट विनियोजन गरेको थियो । भौतिक पूर्वाधार निर्माण गर्न चालु आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ । नयाँ ती पुल निर्माणका लागि रु १२ करोड बजेट विनियोजन गरिएको छ । महानगरभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क, बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल सञ्चालनमा छन् । सञ्चालनमा रहेका केही पुललाई पुनःनिर्माण गर्नुपर्ने अवस्था छ । वीर अस्पताल अगाडिको पुल अत्यन्त जीर्ण भएकाले तत्काल मर्मतको आवश्यकता रहेको छ । भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने देखिएको छ । पुल निर्माण गर्ने आठ स्थानमा टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशालाचोक रहेका छन् । सवारीसाधनको अत्यधिक चाप हुने तीे क्षेत्रमा त्यस्ता पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या हुँदैआएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ । दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा महानगरले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो । रासस