२० मेगावाटको तल्लो मोदीखोलाबाट उत्पादन लम्बियो, असार पहिलो सातादेखि परीक्षण

पर्वत । पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनाको उत्पादन मिति फेरि पनि लम्बिएको छ । वैशाखभित्रै विद्युत उत्पादन गर्ने बताइएपनि केही प्राविधिक कमजोरीका कारण असार पहिलो साता परीक्षण उत्पादन थाल्ने जनाइएको छ । उक्त आयोजनाको ग्रिडकनेक्सन र टनेलमा देखिएको समस्याका कारण परीक्षण उत्पादन फेरी असार पहिलो साता पुगेको हो । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भइरहेको छ । मर्मतको काम सक्न अझै एक महीना लाग्न सक्ने देखिएको जनाइएको छ । कुश्मा नगरपालिका–७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो टनेलको बीचबीचमा कमजोर भाग भेटिएको थियो । मर्मतको काम जेठको तेस्रो साताभित्र सकेर असार पहिलो सातामा परीक्षण उत्पादन गर्ने योजना रहेको आयोजना स्रोतले जनायो । टनेलको पक्की नगरिएको ठाउँमा पानी चुहिएपछि पहुँच मार्ग (अडिट टनेल)बाट पानी बाहिर आएको थियो । साउथ एशिएन लिमिटेडले सुरुङ निर्माणको काम गरेको थियो । अहिले सुरुङमा परीक्षण र मर्मतको काम भइरहेको आयोजना प्रमुख पवनकुमार यादवले बताए । “मर्मत सकिएपछि सबै प्रक्रिया पूरा गरेर परीक्षण उत्पादन थाल्छौँ”, उनले भने, “केही प्राविधिक समस्या देखिएकाले परीक्षण उत्पादन सोचेभन्दा ढिलो शुरु हुने अवस्था आएको हो ।” यसैगरी, पावरहाउसदेखि प्रसारण लाइनमा विद्युत् पठाउने तार छोटो काटिएकाले निर्माणकार्यमा ढिलाइ भएको जनाइएको छ । परादीस्थित पावरहाउस नजिकैबाट मोदीको पारितर्फ रहेको प्रसारण लाइनको टावरमा पठाउने विद्युत्को तार करीब सात मिटर छोटो भएको थियो । आयोजनाले तारको दूरी नाप्ने इञ्जिनीयरको सानो कमजोरीले २० मेगावाटको आयोजनालाई लाखौँ नोक्सान हुने जनाएको छ  । आयोजनाले भित्री र बाहिरी पूर्वाधारको काम सकेपछि पावरहाउसदेखि प्रसारण लाइनसम्म पुर्याउने तार टाँग्ने काम गत फागुन पहिलो साता सक्ने लक्ष्य लिएको थियो । विसं २०६९ साउनमा निर्माण शुरु गरिएको सो आयोजनाको उत्पादन लक्ष्य २०७४ असारसम्म थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आउनाका साथै स्थानीयवासीको अवरोध, प्राकृतिक प्रकोपलगायत कारणले ढिलाइ भएको आयोजनाले बताउँदै आएको थियो । रासस

कालीगण्डकी प्रसारण आयोजनाको सवस्टेशन निर्माण कार्य ४५ प्रतिशत पूरा

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ स्थित सूर्यबस्तीमा जारी कालीगण्डकी प्रसारण करिडोर आयोजना अन्तर्गतको सवस्टेशन निर्माण कार्य करीब ४५ प्रतिशत पूरा भएको छ । कालीगण्डकी प्रसारण लाइनअन्तर्गत बडेरा सूर्यबस्ती (न्यू बुटवल २२०/१३२ केभी सवस्टेशन) आयोजनाको निमार्णकार्य पूरा हुन अझै करीब चार महीना लाग्ने आयोजनाले जनाएको छ । २२०/१३२/३३/११ केभी सवस्टेशनमा पहिलो र दोस्रो चरण गरी तीन ट्रान्सफर्मर राखिने योजना रहेको कालीगण्डकी प्रसारण करिडोर आयोजनाका प्रमुख चन्द्रकुमार घोषले जानकारी दिए । विद्युतको माग र आपूर्ति व्यवस्थापन गर्न कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गत विद्युत् सवस्टेशन निर्माणको काम तीव्रगतिमा भइरहेको न्यू बुटवल डिभिजन कार्यालय नवलपरासीका प्रमुख एवं वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाका बुटवल डिभिजन प्रमुख विश्वरञ्जन मिश्रले बताए । कालीगण्डकी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना सवस्टेशन र कुश्मा तथा पश्चिम नवलपरासीको स्टेशन जोड्ने गरी सवस्टेशन निर्माण जारी छ । नेपाल सरकारले अघि बढाइरहेको सो कार्यका ठेकेदार कम्पनी भारतका श्री टाटा प्रोजेक्ट्स लिमिटेड रहेको छ । कुश्मा–न्यू बुटवल खण्डअन्तर्गत पर्वतको कुश्मादेखि बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पश्चिम नवलपरासीको बडेरासम्म ८८ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ । न्यू बुटवलदेखि पश्चिमनवलपरासीको बर्दघाटसम्म २० किलोमिटर लामो अर्को खण्ड निर्माण गरिनेछ । रामनगर बडेरामा २२० र १३२ र ३३ केभीको न्यू बुटवल सवस्टेशन निर्माण भइरहेको छ । करीब २५ बिघा क्षेत्रफलमा निर्माणाधीन आयोजना विसं २०७१ मा जग्गा व्यवस्थापन गरिएको थियो । रासस

पुनः आन्दोलनमा उत्रने बौद्धवासीको चेतावनी, ‘सहमति अनुसार कालोपत्र भएन’

काठमाडौँ । निर्माण कम्पनीले गरेको ६ बुँदे सहमतिअनुसार कालोपत्र नगरेकोे भन्दै बौद्ध व्यापार सङ्घ लगाएतले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । टुसालदेखि बौद्ध गेटसम्म कालोपत्र गरेको भए पनि सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्र गर्नुपर्र्नेमा ठेकेदारले आनाकानी गर्दै टार्न खोजेको बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले बताए । सडक निर्माण नभएको भन्दै बौद्धवासीले बाटो अवरुद्ध गरेपछि गत वैशाख २६ गते भएको सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्मको सडकमा कालोपत्र गर्नुपूर्व गरिने सवबेस, बेस र साइड ड्रेनको काम वैशाख २७ गतेबाट शुरु गर्ने सहमति भएको थियो । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले सहमतिअनुसार काम अगाडि नबढाएको भन्दै बौद्ध व्यापार सङ्घ, स्थानीयवासीले ठेकेदार कम्पनीलाई तत्काल काम अगाडि बढाउन पटक–पटक माग गरेका थिए । आज बौद्ध व्यपार सङ्घ, स्थानीयवासी र युवासहितको टोलीले त्रिपुरेश्वरमा रहेको ठेकेदार कम्पनी युनाइटेड विल्डर्सको कार्यालयमा पुगेर सहमतिअनुसार काम नभएको भन्दै ध्यानार्कषण गराएका हुन् । अध्यक्ष चौलागाईं भन्नहुन्छ, “वैशाख २७ गतेबाट बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्र गर्नका लागि त्यसपूर्वको गर्नुपर्ने सडकको काम अगाडि बढाउने सहमति भएको थियो । तर १४ दिन बितिसक्दा पनि ठेकेदार कम्पनीले कालोपत्र गर्ने काम अगाडि बढाएको छैन । ठेकेदारले टुसालदेखि बौद्ध गेटसम्मको बाटो कालोपत्र गरेर पन्छिन खोजेको भन्दै सम्झौतापत्रमा भएको सहमतिअनुसार जोरपाटीसम्म कालोपत्र नगरे पुनः आन्दोलन गर्ने स्थानीयवासी बिनीता कोइराला बताउँछन् । सम्झौतापत्रमा ठेकेदार कम्पनी युनाइटेड विल्र्डसका प्रमुख तथा नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअध्यक्ष शकुन्तलालाल हिराचनले जोरपाटीसम्म कालोपत्र गर्ने, कालोपत्र गर्दा बिग्रेको खानेपानीको पाइप, ढल निर्माण गर्ने भन्दै हस्ताक्षर गरेका थिए । यसअघि चाबहिल–साँखु सडकखण्डमा ठेकेदारले कालोपत्र नगरेको भन्दै ५०० को सङ्ख्यामा रहेका बौद्धका व्यापारी, स्थानीय र युवाले सो सडकखण्डको यातायात नै अवरुद्ध गरी आन्दोलन गरेका थिए । सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्मको सडक २२ मिटर चौडा गरी चारलेनको बनाउने योजना ल्याएको थियो । योजनाअनुसार काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए । तर, अहिलेसम्म उक्त सडकखण्डको निर्माण कार्य पूरा भएको छैन । रासस