पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो, असार भित्र सञ्चालनमा आउने

काठमाडौँ । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ । भारतीय आयल कर्पोरेशन (आइओसी)सँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन, मर्मत र अद्यावधिक राख्ने जिम्मेवारी निगमको भएकाले कर्पोरेशनले यही जेठ २३ गतेदेखि निगमका २५ जना प्राविधिक जनशक्तिलाई भारतको लखनउमा आठ दिने तालिम दिनेछ । नेपालतिर ३६ र भारततिर ४२ किलोमिटर पाइप बिछ्याइने उक्त परियोजनालाई गति दिन निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सक्रियता देखाएपछि काम सम्पन्न भएको हो । निगमका उपनिर्देशक पुष्कर कार्कीका अनुसार तालीमपछि परियोजना हस्तान्तरण भई सञ्चालनमा आउनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै ढुवानी लागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको छ । मोतिहारी-अमलेखगञ्ज पाइपलाइन निर्माणसँगै उक्त पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने निगमको योजना छ । रासस

महाकाली पुलको काम ३५ प्रतिशत सकियो

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्यले गति लिएको छ  । हालसम्म उक्त पुलको ३५ प्रतिशत काम सम्पन्न भएको छ । चार लेनको पुलसँगै ६ लेनको सडक तथा पहुँच मार्गमा स–साना पुलहरु धमाधम निर्माण भइरहेका छन् । केही समय मुआब्जा विवादका कारण पहुँच मार्ग निर्माणमा अवरोध भए पनि उक्त विवाद टुङ्गिएसँगै निर्माण कम्पनीले सडक निर्माण तीव्र रुपमा गरिरहेको छ । महाकाली पुल योजना कार्यालय भीमदत्तनगरका इञ्जिनीयर शुलभ न्यौपानेले नदीमा समय समयमापानीको मात्रा घटबढ हुँदा पुल निर्माणमा बाधा पुग्ने गरेको बताएका छन् । इञ्जिनीयर न्यौपानेले भने,“पुलको ३० मुख्य पिल्लरमध्ये १२ वटाको निर्माण कार्य तथा गड्डाचौकी र भुजेला खोलाका बन्ने पहुँच मार्गका दुई पुल निर्माणको अन्तिम चरणमा छन् ।” आठ सय मिटर लम्बाइको चार लेनको पुल निर्माण भए महाकाली पारीको दोधारा–चादँनीलाई जोड्ने छ । तीन अर्ब २७ करोड ९३ लाख ३४ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । पुल निर्माणको शुरुआतमा केही समस्या भएका कारण निर्माणकोअवधि थप हुन सक्ने सम्भावना छ । यसै क्रममा कञ्चनपुर उद्योग बाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले महाकाली नदीको पुललाई सुदूरपश्चिम प्रदेशको विकासको ढोकाको रुपमा हेरिएको बताएका छन् । “पुल निर्माण भएपछि भारतीय औद्योगिक क्षेत्रसँग सहकार्य बढ्ने र व्यापारिक नाकाका रुपमा विकास गर्न सके सुदूरपश्चिमको विकासमा कायापलट हुन धेरै समय लाग्दैन ।”मल्लले भने । यसरी उक्त पुल बनेपछि भारतको पञ्जाव, हरियाणा, दिल्ली, उत्तरप्रदेशलगायत राज्यसँग सहकार्य गर्न मद्दत पुग्ने र सहज रूपमा वस्तु आयात–निर्यात गर्न सहज हुने बताएका हुन् ।साथ ै पुल निर्माण कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सट्रक्सन कम्पनी (सिएफसी)को संयुक्त सहकार्यमा भइरहेको समेत उल्लेख गरेका छन्। रासस

१९ करोड रूपैयाँको लागतमा नयाँ पुलदेखि घान्द्रुकसम्मको सडक कालोपत्रे गरिने

कास्की । विश्व चर्चित अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय घान्द्रुक गाउँसम्मको सडक कालोपत्रे गरिने भएको छ ।विसं २०५८ मा नयाँपुलबाट घान्द्रुकसम्म सडकको ट्रयाक खोलिएकोमा चालू वर्षबाट बाटो कालोपत्रे गरी पक्की बनाउन शुरु गरिएको हो । पूर्वाधार विकास कार्यालय कास्कीको  १९ करोड रुपैयाँको लागतमा नयाँपुलदेखि वीरेठाँटी हुँदै घान्द्रुकसम्मको १० किमि सो सडक सातदेखि नौ मिटर फराकिलो बन्ने कार्यालयका इञ्जिनीयर रामकुमार श्रेष्ठले बताएका छन्र । सडक स्तरोन्नति कार्यको आइतबार शिलान्यास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चुनौतीको सामना गर्दै, समस्या भोग्दै र त्यसबाट पार गर्दै सरकार अघि बढेकाले आगामी वर्षबाट बजेट कार्यान्वयनमा कठिनाइ नपर्ने बताए । समयमै कर्मचारी समायोजन हुन नसक्नु, प्रदेश मातहत कार्यालय स्थापनामा ढिलाइ, ऐन कानूनको अभावलगायतका कारणबाट चालू आवमा लक्ष्यअनुसार बजेट कार्यान्वयन गर्न कठिनाइ भएको उहाँको भनाइ छ । सरकारले आगामी वर्ष ३५ अर्ब रुपैयाँको हाराहारी बजेट ल्याउने तयारी गरिरहेको बताउँदै उनले  चालू वर्षकै योजना तथा कार्यक्रमलाई पूरा गर्ने गरी बजेट आउने र नयाँ योजना नल्याइने स्पष्ट पारेका छन् । त्यसैगरी, गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न शुरु भएको बताउँदै आगामी चार वर्षभित्रमा बाँकी काम पनि पूरा गर्ने बताए । कार्यक्रममा पूर्वसांसद शुक्रराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवर, उपाध्यक्ष सगुन गुरुङलगायतले सो सडक समयमै निर्माण सम्पन्न गरिनुपर्नेमा समेत जोड दिएका छन्र ।रासस