एडिबीको ऋण सहयोगमा सञ्चालित विकास परियोजनाको लक्ष्यअनुसार भएन प्रगति
काठमाडौं । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा देशका विभिन्न भागमा सञ्चालित विकास–निर्माणका परियोजनाले लक्ष्यअनुसार प्रगति नगरेको पाइएको छ । एडिबीको ऋण सहयोगमा सञ्चालित आयोजनाको आज बिहान यहाँ भएको समीक्षा बैठकमा सन् २०१९ का लागि निर्धारण गरिएका लक्ष्य पूरा हुन नसकेका विवरण प्रस्तुत भएका छन् । “चौबन्न प्रतिशत मात्र ठेक्का लागेको र ५५ प्रतिशत रकम निकासा भएको तथ्याङ्कले हामी कतै चुकेको प्रतिबिम्बित हुन्छ, त्यसैले सबै पक्ष मिलेर लक्ष्य हासिलका व्यवधान हटाऔँ,” बैठकका सहअध्यक्ष अर्थसचिव शिशिर ढुङ्गानाले कात्तिक १४ गतेसम्मको प्रगति विवरण सुनाउँदै भने । परियोजना कार्यान्वयन गर्ने सबै निकायलाई इमानदारीपूर्वक आफ्नो उत्तरदायित्व निर्वाह गर्न आह्वान गर्दै उनले परियोजनासँग सम्बन्धित कामलाई द्रुतगतिमा कार्यान्वयन गर्न अर्थमन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकका अर्का सहअध्यक्ष एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले विगतका अनुभव र अवरोधबाट पाठ सिक्दै निर्धारित वार्षिक लक्ष्य हासिल गर्ने दिशामा दत्तचित्त भएर लाग्नुको विकल्प नरहेको बताए । नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर आगामी चारवर्षका लागि बैंकले ‘नेपाल साझेदारी रणनीति’ हालै सार्वजनिक गरेको सन्दर्भ सुनाउँदै उनले त्यसमा वार्षिक सहायता रकममा भारी वृद्धि भएको जानकारी दिएका छन् । बैंकका प्रबन्धक रुडी भान डेलले बैंकको ऋण सहयोगमा सञ्चालन भएका परियोजनाको विस्तृत विवरण पेश गर्दै केही परियोजनाको प्रगति नीतिगत र प्राविधिक समस्याका कारण सन्तोषजनक हुन नसकेको गुनासो गरेका छन् । बैठकमा यातायात तथा सञ्चार, मानव तथा सामाजिक विकास, ऊर्जा, जल तथा अन्य शहरी पूर्वाधार तथा सेवा, कृषि, प्राकृतिक स्रोत तथा ग्रामीण विकासमा केन्द्रित रहेर छलफल भइरहेको छ । रासस
सांसद नेम्वाङद्वारा ३० वटा योजना छनोट, अधिकांश योजना ग्रामीण सडक निर्माण र स्तरोन्नतिका
फिदिम । प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ३० वटा योजना छनोट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको बैठकले पाँचथरका सात वटा स्थानीय तहहरुमा सञ्चालन हुने योजना छनोट गरेको हो । छनोट भएका अधिकांश योजना ग्रामीण सडक निर्माण र स्तरोन्नतिका छन् । बाँकी भवन निर्माण, विद्युतीकरण र खेलमैदानका योजना छन् । उपनिर्वाचन हुन लागेका पाँचथरको फिदिम नगरपालिका, हिलिहाङ र फाल्गुनन्द गाँउपालिकाका लागि एक महिना अघि नै योजना छनोट भइसकेका थिए । जसअनुसार हिलिहाङ गाउँपालिकामा रु एक करोडको कूल लागतका पाँच वटा योजना सांसद नेम्वाङले छनोट गरेका छन् । यसैगरी, फिदिम नगरपालिकामा रु एक करोड ३० लाख कूल लागतका छ वटा र फाल्गुनन्द गाउँपालिकामा रु एक करोड ६० लाखका १५ वटा योजना छनोट भएका छन् । यस्तै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको हालै सम्पन्न बैठकले कुम्मायक, मिक्लाजुङ, फिदिम र फालेलुङमा एक÷एक वटा ठूला योजना सञ्चालन गर्ने निर्णय गरेको छ । जसअनुसार कुम्मायकमा यासोक–भदौरे–साँवाखोला मोटरबाटो स्तरोन्नतिका लागि रु ५० लाख रकम विनियोजन गरिएको छ । त्यसैगरी मिक्लाजुङमा दशमी–आरुबोटे–लिम्बा मोटरबाटो स्तरोन्नतिका लागि रु ५० लाख, फिदिममा इथुङ–तमाखे–त्रिवेणी–पञ्चमी दोभान सडकका लागि रु ५१ लाख ५० हजार र फालेलुङ गाँउपालिकामा मगरचेप्पा–बाँसबोटे–लुवाफू–पापुङदेन–हेवाखोला सडक स्तरोन्नतिका लागि रु ५० लाख विनियोजन गरिएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिका सदस्य सचिव, जिल्ला समन्वय अधिकारी विनोदकुमार दाहालले जानकारी दिएका छन् । रासस
हेटौंडाबासीको आगनमै विमानस्थल, ३५० विगाहमा निर्माण हुने भएपछि स्थानीय हर्षित
काठमाडौं । हेटौंडाकाे बसामाडीमा नयाँ विमानस्थल बन्ने भएकाे छ । प्रदेश तीन सरकार र स्थानियतहले विमानस्थल निर्माणमा सक्रियता देखाएसँगै विमानस्थल बन्ने भएकाे हाे । हाल जिल्लाकाे हेटौंडा उपमहानगरपालिका वडा नं ३ को बसामाडीमा निर्माण हुने विमानस्थलकाे सम्भाव्यता अध्ययन भइरहेकाे छ । प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, प्रदेश ३ का मुख्य सचिव तोयम राय र प्रविधिक टोलीले ३ महिनाअगाडि नै विमानस्थलको स्थलगत निरीक्षण गरेका थिए । उनीहरूले विमानस्थलकाे निरीक्षण गरसँगै काम अघि बढाउन पहल गरेकाे बताएका छन् । निरीक्षणमा रहेकाे प्राविधिक टाेलीले युनिलिवर कम्पनीको उद्योगबाट दक्षिण तर्फ र राप्ती खोलाको किनारामा रहेको बगर क्षेत्रलाई तटबन्ध गरी विमानस्थल निर्माण गर्ने सकिने बताएकाे थियाे ।प्रविधिक तथा विज्ञ टोलीले आसपासका क्षेत्रमा खेतीयोग्य जमिन नभएकोले विमानस्थल निर्माणका लागि राम्रो हुने बताएकाे छ । प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले विमानस्थल निर्माणको लागि उपयुक्त देखिएपछि विमानस्थल निर्माणकाे प्रक्रिया अगाडि बढाएका छन् । प्रदेश सरकारले विमानस्थल निर्माणको लागि पहल सुरु गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले बताए । हाल पूर्व पर्श्चिम राजमार्गको दक्षिणतर्फ रहेको करिब ३ सय ५० विगाह जमिनमा आन्तरिक विमानस्थल निर्माण सम्भाव्यता अध्ययन भइरहेको छ । यस्तै हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले विमानस्थल निर्माणको लागि माटो परिक्षण हुने क्रममा रहेको बताए । उनले विमानस्थल निर्माणमा कति लागत लाग्छ भन्ने कुरा केही दिनमै टुङ्गाे लाग्ने जानकारी दिए । हाल हेटाैंडाबसीले सिमारा विमानस्थल र चितवनकाे विमानस्थल प्रयाेग गर्दै आएका छन् । उक्त विमानस्थल निर्माण भएसँगै उनीहरूले १/२ घण्टा लगाएर हवाई सेवा लिने अवस्था हट्नेछ । प्रदेश राजधानीमा विमानस्थलको आवश्यक रहेकोले प्रदेश सरकार र स्थानीय सरकारको सक्रियतामा विमालस्थल निर्माण गर्न लागेको हो । हेटौंडा उपमहानगरपालिका ३ का वडा अध्यक्ष रामकुमार पुडासैनीले विमानस्थलको लागि चाहिने ३ सय ५० विगाह जग्गा सर्वाजनिक भएकाले पनि निर्माणका लागि सहज र सरल हुने बताए । बाढी आउने बगरलाई तटबन्ध निर्माण गरी उपयोगविहिन जग्गालाई भरपुर उपयोग गर्न सकिने स्थानीयको भनाइ छ । विमानस्थल निर्माण हुने भएसँगै स्थानियहरू खुसी भएका छन् ।