राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत्

काठमाडौं । लमजुङमा निर्माण भइरहेकाे रुदीखोला–बी जलविद्युत आयोजनाकाे काम सम्पन्न हुने क्रम बढेको छ । निजी क्षेत्रकाे लगानीमा निर्माण भएकाे साे आयोजनाले  विद्युत् उत्पादन शुरु गरेको छ । कूल ६.६  मेगावाट क्षमताको सो आयोजनाको विद्युत्गृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ । विन्दवासिनी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित बिजुली स्थानीय मिजुरेडाँडा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । कूल १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन हुनेछ । सो अवधिभर सरकारले बिजुलीको पैसा तिर्नुपर्दैन । परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन शुरु हुने विन्दवासिनी हाइड्रोपावरका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । निर्माण शुरु भएको करीब दुई वर्षमै उत्पादन थालेको उक्त आयोजनाको प्रतिमेगावाट लागत १८ करोड रुपैयाँ पुगेको कम्पनीका सचिव जनार्दन अर्यालले जानकारी दिए । विन्दवासिनीले नै निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत् आयोजनाले गत वर्षको चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । यस्तै कूल ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा पनि विन्दवासिनी समूहले लगानी गरेको छ । रासस

अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’ संचालन, डेढ करोड लागतमा निर्माण

काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’ सञ्चालन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा गाउपालिकाले पदमार्ग सञ्चालन गरेको हो । ८ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका मौरिस हर्गोजका नाममा तयार भएको यो पदमार्ग नयाँ हो । हिमाल आरोहण भएको ७० वर्षपछि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गले जोडेर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। “आधार शिविरलाई आधारभूत स्तरको पदमार्गले जोड्नुका साथै पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौं” उनले भने, “नारच्याङदेखि नीलगिरिखोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्गमा पर्यटक र पूर्वाधारका लागि लगानी भित्र्याउन पहल थालेका छौं ।” पदमार्ग तयार भएको, अन्नपूर्ण आधार शिविर म्याग्दीमा पर्ने सन्देश प्रवाह गराउन पदमार्गको प्रवेशविन्दु नारच्याङमा बिहीबारदेखि प्रथम अन्नपूर्ण पर्यटन महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘मौरिस हर्गोज ट्रेल’ घोषणा गर्नुका साथै पदमार्गको नक्सा सार्वजनिक गरे । हार्जोगले १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै आठ हजारभन्दा अग्ला हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ रेकर्ड बनाएका थिए । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ । यो पदमार्ग मौरिसकालीनजस्तै कठिन र ‘वाइल्ड’ रहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । ८ वर्षअघि गुरुङको अगुवाइमा पदमार्ग पहिचान भएको थियो । पछिल्लो पाँच वर्षयता पर्यटन विभाग, प्रदेश सरकार, गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को डेढ करोड लगानीमा पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि सेल्टर निर्माण भएको छ । होटल तथा लज नभएकाले क्याम्पिङ पदयात्रा गर्नुपर्ने हुन्छ । नारच्याङदेखि छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गका आकर्षण भएका धवलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँले बताए । फराकिलो फाँट भएकाले दुर्घटनाको जोखिम कम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने सबैभन्दा छोटो, रमणीय र सुरक्षित यो पदमार्ग आठ वर्षअघि पहिचान गरिएको थियो । यसअघि मुस्ताङको कुञ्जो हँुदै भिर र जङ्गलमा एक साता हिँडेर, हेलिकोप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुग्नुपर्ने बाध्यता थियो । रासस

सिन्धु विकासको दशौं बार्षिक साधारण सभा, बनोस शेयर ११.५ प्रतिशत

काठमाडौं । सिन्धु विकास बैंकले दशौंं बार्षिक साधारण सभा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ बाह्रबिसे, सिन्धुपाल्चोकमा समापन गरेको छ । उक्त साधारण सभाले खुद मुनाफाबाट ११.५१३९ प्रतिशत बोनस शेयर तथा ०.५७५६ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको हाे। साथै बैंकको सर्वसाधारण समुहको तर्फबाट रिक्त रहेको २ जना संचालकहरुमा संजिव प्रधान र हिरा के.सी. निर्बिरोध निर्वाचित भएका छन । बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनमा प्रदेश नं. ३ को अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजाने लक्ष्य लिएको जानकारी दिएको छ । बैंकले हाल सम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २२ शाखा र २ सिमिति बैकिङ्ग ईकाई गरी कुल २४ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ । वि.स २०७६ माघ १७ देखि संचालन भएको उक्त साधारण सभाले आर्थिक वर्ष ०७५/०७६ को बार्षिक प्रतिवेदन प्रतुत गरेको थियो । वि।सं२०६७ साल भाद्र २४ गते सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय बनेपामा कर्पोरेट राखी कारोवार संचालन भइरहेको छ ।