कोरोनाभाइरसकाे प्रभावले दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस प्रकोपका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय )     को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस्तान्तरणमा ढिलाइ भएको हो । चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरस प्रकोपका कारण अनुगमन टोली आउन समस्या भएको छ । माघको पहलो साता नै निर्माण सम्पन्न भइसकेको स्कुल प्रकोप नियन्त्रण भई मानिस आवतजावतमा सहज भएसँगै नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी छ । आवरणमा पुरानै ‘दरबार हाइस्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी माघको पहिलो साता नै निर्माण सम्पन्न भइसकेको थियो । निर्माण कार्य पूरा गरे पनि निर्माण कम्पनीका पदाधिकारीले एकपटक अनुगमन गर्नुपर्ने र उहाँहरू कहीले आउने भन्ने विषय यकिन नभएकाले हस्तान्तरणको विषय अन्योलमा परेको हो । अनुगमन टोली माघको तेस्रो साता आउने कार्यतालिका रहे पनि कोरोनाभाइरस प्रकोपका कारण अन्योलमा परेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम सकेर आँगन सफा गर्ने र झ्याल ढोका पुछ्ने काम गरी थप चिटिक्क बनाउने कार्य पनि सकिसकेको छ । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ । शुरुको समयदेखि १९ महिनामा सक्ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरी सम्पन्न गरेका हुन् ।  ८५ करोड रूपैयाँको लागतमा नौ रोपनी जमिनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले र ४० कक्षाकोठाको छ । उक्त भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सम्पन्न गरिएको बताउनुुभयो । “कोरोनाभाइरस प्रकोप सकिएपछि सरकारलाई हस्तान्तरण हुन्छ”, उनले भने । विसं २०७२ मा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको उक्त हाइस्कुलको पुनःनिर्माणको शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था गरिएको थियो । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्दति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । दरबार हाइस्कुलको पुनःनिर्माणले त्यस आसपासलाई पनि सुन्दर बनाएको छ । सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्यामा भने कमी छ । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका संस्कृत माविका प्राध्यापक बद्री दाहाल बताए । भूकम्पअघि उक्त भवनमा भानु मावि र संस्कृत मावि दुवै सञ्चालित थिए । हाल ती दुवै विद्यालयमा गरी ३ सय  मात्र विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ । लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सा पासका विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम शुरु भएको थियोे । पछिल्लो समय सरकारले स्थानीय तहलाई जिम्मा दिने गरी दरबन्दी मिलान, विद्यार्थी र शिक्षक सङ्ख्याका आधारमा एकापसमा विद्यालय गाभ्ने विषयलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । शिक्षकको सङ्ख्याका आधारमा विद्यार्थी अनुपात सो विद्यालयमा पनि कम छ । एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी मान्यता छ । चिनियाँ सरकारसँग भूकम्पका कारण अति प्रभावित १४ जिल्लाका एक/एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । भूकम्पका कारण सात हजार ५०० विद्यालयमा क्षति पुगेको थियो । रासस

ठेकेदारको लापरबाहीका कारण अधिकांश निर्माण अधुरै, ९६ भवन अलपत्र अवस्थामा

सुर्खेत । वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का विसं २०६८ मा जिएम कन्स्ट्रक्शनले पाएको थियो । विसं २०७० असार मसान्तसम्म निर्माण पूरा गर्ने कार्यादेश पाएको कन्स्ट्रक्शनले निर्धारित समयमा काम सकेन । सङ्घीय आयोजना कार्यान्वयन एकाइ अन्ततः उक्त ठेक्का रद्द गर्दै नयाँ बोलपत्र गर्न बाध्य भयो । भवन निर्माण ढिलाइले बिरामीको उपचारसहित अन्य प्रशासनिक काम कर्मचारी आवासगृहबाटै भइरहेका छन् । कटकुवाजस्तै कर्णालीका सल्यान, सुर्खेत, जाजरकोट, दैलेख र रुकुम पश्चिममा ठेकेदारको लापरवाहीका कारण दर्जनौँ स्थानमा स्वास्थ्य चौकीका भवन अलपत्र छन् । जिएम कन्स्ट्रक्शनले मात्रै ठेक्का लिएका छ स्वास्थ्य चौकी अधुरै छन् । सङ्घीय आयोजना कार्यान्वयन एकाइले ती सबै ठेक्का रद्द गर्दै नयाँ ठेक्काबाट काम अघि बढाएको छ । कतिपय ठेकेदार तोकिएको मितिभन्दा तेब्बर बढी समयसम्म भवन निर्माण सम्पन्न नगरी सम्पर्कविहीन छन् । एकाइका इञ्जिनीयर गोकर्ण थापाले ठेक्का लिने र अधुरै छाड्ने समस्याले निर्धारित मितिमै भवन निर्माण हुन नसकेको बताए । ‘एउटै ठेकेदारले घटाघट प्रक्रियाबाट धेरै ठेक्का लिने चलन छ, यसो गर्दा ठेकेदार घाटामा जाँदा ठेक्का अलपत्र छोड्ने गर्छन्, पुनः ठेक्का आह्वान गर्ने प्रक्रियाका कारण ढिलाइ हुन्छ’, उनले भने, ‘ठेक्का लिने तर काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिसकेका छौँ ।’ इञ्जिनीयर थापाका अनुसार कर्णालीमा ९६ भवन निर्माण ढिलाइले अलपत्र अवस्थामा छन् । सुर्खेतमा २२, दैलेखमा १३, जाजरकोटमा सात, सल्यानमा चार, डोल्पामा आठ, जुम्लामा १०, कालिकोटमा ११, मुगुमा आठ, रुकुमपश्चिममा पाँच र हुम्लामा आठ भवन रहेका छन् । तीमध्ये अधिकांश भवन स्वास्थ्यका छन् । अधिकांश भवनको पुरानो ठेक्का तोडेर नयाँ ठेक्का दिएकाले आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माणकार्य अघि बढाइएको छ । औषधि उपचार अभावमा वर्षेनी मातृशिशु मृत्युदर बढ्न थालेपछि सरकारले हरेक स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापनाको नीति अघि सारेको थियो । सोही नीतिअनुसार स्वास्थ्य विभागले स्वास्थ्य चौकी भवन निर्माणको योजना अघि बढाएको हो । ठेकेदारको लापरवाहीले प्रदेश राजधानीकै स्वास्थ्य चौकी निर्माण समयमै नहुँदा त्यहाँ पुग्ने बिरामीलाई खुला चौरमा जाँच गर्नुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य संस्थाका भवन समयमै नबन्दा अन्य बिरामीसँगै गर्भवती तथा सुत्केरीले अझ बढी समस्या भोग्नुपरेको छ । रासस

कालीगण्डकी जलविद्युतगृह मर्मतका लागि ३ दिन २० घण्टा बन्द

काठमाण्डाैं। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए जलविद्युत केन्द्र मर्मतका लागि तीन दिन २० घण्टा बन्द हुने भएको छ । विद्युतगृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि बिहीबार राति ११ बजेबाट विद्युत् उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो । दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको अर्धजलाशययुक्त विद्युत केन्द्र मर्मतका लागि सोमबार (१२ फागुन) साँझ पाँच बजेसम्म बन्द रहने प्राधिकरणले जानकारी दिएको छ । स्याङ्जाको मिर्मीमा रहेको विद्युतगृहमा ४८/४८ मेगावाटका तीन युनिट छन् । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको हो । केन्द्रबाट उत्पादित विद्युत् पोखरा र बुटवलतर्फ प्रवाह गरिन्छ । देशकै ठूलो विद्युतगृहबाट विद्युत् उत्पादन बन्द भएपछि पश्चिमभेगका औद्योगिक ग्राहकको साँझ पिक समयमा विद्युत् आपूर्ति कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । कार्यकारी निर्देशक घिसिङले विद्युत् आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको विदालाई ध्यान दिएर मर्मत सुरु गरिएको बताए । ‘विदाको दिन विद्युत्को माग (लोड) कम हुने भएकाले विदाको दिन पारेर मर्मत गर्दैछौंैं, खोला तथा नदीमा पानीको बहाव बढेकाले अन्य विद्युतगृहबाट पनि विद्युत् उत्पादन केही बढेको छ, आमउपभोक्तालाई विद्युत् आपूर्तिमा समस्या नहुने गरी आवश्यक बन्दोवस्ती गरेका छौं, तर बुटवल, भैरहवा क्षेत्रका औद्योगिक ग्राहकको पिकको समयमा विद्युत् कटौती हुनसक्छ’, उनले भने । बिहीबार राति १० बजेबाट सुरुङमा रहेको पानी खाली गराउन सुरु गरिएको र यो काम शुक्रबार राति १० बजेसम्ममा सकिने विद्युतगृहका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए । त्यसपछि मर्मत सुरु हुने र सोमबार साँझ ५ बजेभित्रमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ २४ सै घण्टा काम भइरहेको गौतमको भनाइ छ । मर्मतमा ३७ जना प्राविधिकहरु खटिएका छन् ।