मोटर बीमा सम्बन्धी नयाँ निर्देशिका आयो, कसले कति क्षतिपूर्ति पाउने ?

बीमा समितिले मोटर बीमा दर सम्बन्धी निर्देशिका,२०७३ जारी गरेको छ । नयाँ निर्देशिका अनुसार यात्रु, सवारी हाँकिरहेको व्यक्ति वा बीमितको मृत्यु भएमा पाँच लाख क्षतिपूर्ति दिनुपर्नेछ । सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा पेस गरेको बजेटमा तेस्रो पक्ष दुर्घटना बीमा र यात्रुको बीमा रकम बराबर हुने व्यवस्था गरेपछि बीमा समितिले नयाँ निर्देशिका जारी गरेको हो । यो निर्देशिका आगामी साउने १ गतेदेखि लागू हुने बीमा समितिले जनाएको छ । त्यस्तै, बीमित पूर्ण स्थायी अशक्तता भएमा, निको नहुने गरी दुवै आँखाको दृष्टी क्षति भएमा, दुवै हातको नाडी वा दुवै खुट्टाको गोली गाँठोको जोर्र्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने भएमा, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि र एउटा आँखाको दृष्टी पूर्ण रुपले क्षति भएमा पाँच लाख क्षतिपूर्ति पाउने छ । एउटा आँखाको दृष्टी पूर्णरुपले क्षति भएमा, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने गरी क्षति भएमा दुई लाख पचास हजार क्षतिपूर्ति पाउने छ । अन्य कुनै अंग भंग भएमा, शारीरिक क्षतिको समानुपातिक हुने गरी बीमाङ्कको प्रतिशत सवारी साधन दुर्घटनाको प्रत्यक्ष तथा एक मात्र परिणाम स्वरुप भएको औषधोपचार खर्च तीन लाख रुपौयाँको हदमा नबढ्ने क्षतिपूर्ति हुनेछ । यात्रु, सवारी हाँकिरहेको व्यक्ति वा बीमित घाइते भई उपचारको लागि अस्पतालमा भर्ना भएको प्रमाणित भएमा त्यस्तो अवधिको लागि प्रति दिन पाँच सय रुपैयाँको दरले बढिमा पंैतालीस दिन सम्मको कुरुवा खर्च औषधोपचार खर्च बीमा कम्पनीले दिनुपर्नेछ । दुर्घटनास्थलबाट वा प्रारम्भिक चिकित्सा अस्पतालबाट अर्को अस्पतालमा लैजानु पर्ने भएमा १० हजार वा वास्तविक खर्च जुन कम हुन्छ सम्बन्धित एम्बुलेन्सको बीलको भुक्तानी दिइनेछ र यस्तो खर्च औषधोपचारको सीमा भित्र रहनेछ । यात्रु, सवारी हाँकिरहेको व्यक्ति वा बीमितको मृत्युभएमा कृया खर्च वापत प्रति मृतक पचास हजार रुपैयाँ (बीमकको कूल प्रति मृतक दायित्व पाँच लाख रुपैयाँको सीमा भित्र रही) बीमकले तत्काल भुक्तानी दिनेछ । आफैले जानाजान लगाएको चोट, आत्महत्या वा आत्महत्याको प्रयासबाट वा मादक पदार्थ वा लागू पदार्थको सेवनबाट दुर्घटनामा परी त्यसको परिणाम स्वरुप भएको हानि–नोक्सानी वापत बीमकले कुनै क्षतिपूर्ति दिने छैन ।

चोभारमा ‘वाइल्ड लभर्श’का लागि वुपी ल्याण्ड पार्क, दुई बर्षमा ३२ करोड आम्दानी

काठमाडौं, २५ असार । चोभार त्यसै पनि डेटिङ र युवा पुस्ताको जमघटका लागि प्रशिद्ध स्थल एंव चलचित्र सुटिङको गन्तव्य हो । त्यहि चोभारको छेउमै एउटा अन्तराष्ट्रियस्तरको पार्क स्थापना भएको छ, जसको नाम राखिएको छ–वुपी ल्याण्ड एम्युजमेन्ट एण्ड वाटर पार्क । वुपी अर्थात वाइल्ड इन्टरटेमेन्ट । बिशेषतः वाइल्ड इन्टरटेनमेन्ट चाहने युवा पुस्तालाई लक्षित गरि निर्माण गरिएको यो पार्कले चोभार आसपासको रौनक अझै बढाएको छ । त्यसो त यो पार्क पारिवारिक घुमाघामका लागि समेत उपयुक्त गन्तव्यका रुपमा स्थापित हुन सक्ने त्यसका लगानी कर्ता सौरभ बस्नेत बताउँछन् । बस्नेत भन्छन–‘यो वाइल्ड लभर्श/थ्रिल लभर्शका लागि लक्षित छ र सँगसँगै पारिवारिक घुमघामका लागि पनि उपयुक्त गन्तव्य हो ।’ ६० रोपनी जमिन चर्चेको पार्कमा १७ वटा गेमको मज्जा लिन सकिन्छ । त्यसका अधिकांश गेम एडभेञ्चर्सले भरिएका छन् । त्यसका अलवा, स्विमिङ पुल, वाटर फाउण्टेन, वाटर स्लाइड, रेञ्जर, इलेक्ट्रिक बुल राइड, कोलम्बस तथा अन्य आधुनिक गेमहरु छन जसले पार्कलाई वाइल्ड इन्टरटेनमेन्टको हब बनाउन मदत गरेको छ । पार्क भित्र रहेको जुरासिक पार्क खण्डले शैक्षिक गतिबिधी अध्ययनका लागि समेत उपयुक्त रहेको देखाउँछ । संसारबाटै लोप भैसकेका डायनोसर लगायतका जीवहरुको काल्पनिक अवशेष र तदनुसारको वातावरण देखाउने प्रयास गरिएको छ । वल्लो र पल्लो भागमा डाँडा रहेको पार्कको बिचमा खोँच छ । त्यहि खोँज जस्तो भागमा स्विमिङ पुल बनाइएको छ । त्यहाँ अग्लो भागबाट कृतिम झरना झर्छ भने पुलकै एक छेउमा वाटर फाउण्टेन निर्माण गरिएको छ । माथिल्लो भागबाट पुलमा आईपुग्ने गरि फरक फरक प्रकृतिका वाटर स्लाइड निर्माण गरिएको छ । खोँच खण्डमै रहेको इलेक्ट्रिक बुल राइडिङ पार्कको अर्काे रोचक पक्ष हो । बुलमा चढेर घुम्दा र त्यसबाट खस्दा जो कोहीले निकै रमाइलो मानिरहेका देखिन्छन् त्यसकै नजिक रक क्लाइम्बिङको झझल्को दिने हावा भरिएको बेलुनले धेरैको मन खिचेको देख्न सकिन्छ । पल्लो भागमा रहेको रेञ्जर पार्क भित्रको अर्काे आकर्षक गन्तव्य हो । थ्रील लभर्शहरुका लागि यसले राम्रो मनोरञ्जन दिन्छ । टाउको भाग तल र खुट्टा माथि पुर्याउने रेञ्जर खेल बालबालिकाका लागि प्रतिबन्धित छ भने मुटु दरो भएकाहरुले मात्रै खेल्न सक्छन् । रेञ्जर नजिकै रहेको कोलम्बस भने रेञ्जर चढ्न डराउनेहरुका लागि विकल्प बन्न सक्छ ।   १२ वर्षका लागि जमिन लिजमा लिएर सञ्चालन गरिएको पार्कबाट दुई वर्षमै लगानी उठाइसक्ने प्रक्षेपण गरिएको बस्नेत बताउँछन् ।‘दैनिक तीन सय जनाले पार्कमा भिजिट गरे भने दुई वर्षमा लगानी उठ्ने अनुमान गरेका छौं’, बस्नेतले भने । ६० जनलाई प्रत्यक्ष रोजगारी दिएको पार्क प्रवेशका लागि बयस्कले ८२५ रुपैंयाँ र चार फिट भन्दा कम उचाई भएका बालबालिकाका लागि ४७५ रुपैंयाँको प्रवेश शुल्क तय गरिएको छ । मनसुन अफरका रुपमा १५ दिनका लागि  बयस्कलाई लागि ४९५ र बालबालिका लागि २९५ रुपैंया शुल्क तोकिएको छ । त्यसो त नन होलिडे प्याकेजका रुपमा ६७५ र ३७५ रुपैंयाँ अर्काे प्याकेज समेत रहनेछ । टिकट काटेर पार्क भित्र प्रवेश गरेपछि अन्य कुनै शुल्क तिर्नु पर्दैन् । ६५ बर्षमाथीका जेष्ठ नागरिक र तीन बर्ष मुनिका बालबालिकालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पार्कले कमाउने उदेश्य मात्र राखेको छैन् । आफ्नो वरपर विकास गर्ने ध्येय समेत राखेको छ । किर्तिपुर नगरपालिकाको १३ र १४ वटामा पर्ने पार्कले आफ्नो प्रत्येक टिकटबाट प्रति टिकट पाँच रुपैंयाको कोष खडा गरेको छ । ‘यो क्षेत्रको विकासका लागि प्रति टिकट पाँच रुपैंयाँ छुट्याएर कोष खडा गरेका छौं, त्यसबाट जम्मा भएको रकम पारदर्शीरुपले यो क्षेत्रको विकासका लागि खर्चिने योजना छ’, बस्नेतले सुनाए ।

नेप्सेले भारतीय कम्पनीकै सफ्टवेयर किन्ने

काठमाडौं, २४ असार । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पुर्व सम्झौता अनुसार भारतीय कम्पनीसँगै नयाँ सफ्टवेयर खरिद गर्ने भएको छ । नेप्सेले भारतीय कम्पनी इनफिनिट कम्प्युटर सोलुसन्ससँग नयाँ सफ्ट वेयर खरिद गर्ने सम्झौता गरेको थियो । नेप्सेले खरिद गर्न लागेको सफ्टवेयरको गुणस्तरमा प्रश्न चिन्ह उठाउँदै नेपाल धितो पत्र बोर्डले नेप्सेसँग स्पष्टीकरण मागेको थियो । बोर्डको स्पष्टिकरणले शसंकित भएको सफ्ट वेयर निर्माता कम्पनीको नेपाली प्रतिनिधी वाइसीओ इन्कर्पाेरेशन अदालत गएको थियो । पुर्व सम्झौता अनुसार सफ्ट वेयर खरिद गर्नु पर्ने माग राख्दै कम्पनी अदालत गएपछि नेप्सेले सफ्ट वेयर खरिद नगर्ने आफ्नो मनसाय नभएको जवाफ अदालतलाई दिएको थियो । नेप्सेको सम्झौता उल्लंघन गर्ने मनासाय नरहेको भन्ने आदेश दिएको थियो । ‘अदालतको आदेशको अर्थ पत्ता लगाउने प्रयास गरिरहेका छौं, अब सफ्टवेयर खरिद प्रक्रिया अघि बढ्छ’, नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले विकासन्युजसँग भने । नयाँ सफ्ट वेयरको मुल्य १९ करोड ८५ लाख पर्ने गरि सम्झौता भैसकेको छ । त्यसमा ९ करोडमा सफ्ट वेयर र ९ करोडमा हार्ड वेयर तथा बाँकी रकम भ्याटमा लाग्नेछ । नेप्सेले गरेको सफ्ट वेयर खरिद सम्झौता अनुसार सम्झौता पत्रमा हस्ताक्षर भएको १४ महिनामा कम्पनीले सफ्ट वेयर हस्तान्तरण गरिसक्नु पर्ने व्यवस्था छ । नेप्सेका महाप्रबन्धक थपलिया भन्छन–‘हामीले कम्पनीलाई एडभान्स(बैना) दिएको १० महिना भित्र नयाँ सफ्ट वेयरबाट नेप्सेको काम अघि बढ्छ ।’ अहिले प्रयोग भैरहेको सफ्ट वेयरले राम्रोसँग काम नगरेपछि नेप्सेले सिस्टम अपग्रेड गर्न भन्दै नयाँ सफ्ट वेयर खरिद गर्न लागेको हो ।