संकटमा सेमेस्टर प्रणाली, शिक्षक १४ जना विद्यार्थी शून्य

काठमाडौं ९, कात्तिक । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)भूगोल केन्द्रीय विभागमा १४ शिक्षक छन्। उनीहरूले पढाउने विद्यार्थी एक जना पनि छैनन्। घट्दै गएर विद्यार्थी भर्ना नै हुन छाडेपछि शिक्षकहरूको जागिर धरापमा परेको छ। यसअघि भर्ना भएका ६ जना विद्यार्थी परीक्षा दिएर थेसिस बुझाउने क्रममा छन्। नयाँ सत्रमा विद्यार्थी भर्ना हुन आउनेरनआउने कुनै टुंगो छैन। त्रिविले ती शिक्षकलाई कुनै शोध(अनुसन्धान र काममा खटाउन सकेको छैन। इतिहास सबैको चासोको विषय हो। तर त्रिवि केन्द्रीय विभागमा यतिखेर इतिहास पढ्ने विद्यार्थी २ जना मात्र छन्। विभाग प्रमुख प्रा.शंकर थापा भने इतिहासको महत्वलाई कम आँकलन गर्नु र विषयलाई काम नलाग्ने ठान्नु भूल हुन बताउँछन्। ‘इतिहास विषयमा विद्यार्थी विमुख बनाउने हामी होइनौ। राजनीतिक हस्तक्षेपको परिणाम हो यो,’ उनले भने। त्रिवि अन्तर्गत मानविकि संकायका अधिकांश विषयमा विद्यार्थी संख्या अत्यान्त कम हुनुको मुख्य कारण ती विषय प्रत्यक्ष रोजगारीसँग नजोडिनुलाई मानिएको छ। त्रिविले वार्षिक परीक्षा प्रणालीको सट्टा सेमेष्टर लागू गर्दै गएपछि यस्तो अवस्था देखिएको हो। कान्तिपुर दैनिकबाट ।

उच्च शिक्षाकाे लागि ४२ प्रतिशत चिनियाँ विद्यार्थी विदेशिए, अधिकांश अमेरिकामा

वेइजिङ, ७ कात्तिक । चीनमा हालका युवा पुस्ताहरु अध्ययनका लागि विदेशीने गरेका छन् । चीनको ‘नेशनल एजुकेशन पोर्टल साईट’ हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा सो जानकारी दिइएको छ । सार्वजनिक भएको सो प्रतिवेदनकाअनुसार गत वर्ष चिनियाँ स्नातक स्तर का ४२ प्रतिशत विद्यार्थीले अमेरिकामा अध्ययन गरेका छन् । विदेश गएर उच्चशिक्षा हासिल गर्ने चिनियाँ विद्यार्थीहरुको संख्या अत्याधिक रुपमा बढ्दै गईरहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१५मा झण्डै ५ लाख २० हजार विद्यार्थी उच्च शिक्षा हासिल गर्न विदेश गएका छन् भने, सन् २०१६मा त्यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ । विदेश गएर पढ्न चाहने चिनियाँ विद्यार्थीहरु मध्ये अधिकांशको गन्तव्य अमेरिका हुने गरेको छ । सो प्रतिवेदनका अनुसार सन् २०१६ मा हालसम्म अमेरिकामा अध्ययनका लागि तीन लाख २३ हजार भन्दा बढी विद्यार्थी गईसकेका छन् । रासस/सिन्ह्वा

कक्षा १० मा एसईसी १२ मा एसएलसी, १२ कक्षसम्म विद्यालय स्तरीय शिक्षा

काठमाडौं ६, कात्तिक । कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामकरण गर्न सहमति जुटेको छ । कक्षा १० र १२ को परीक्षालाई कुन रूपमा परिभाषित गर्ने भनी सरोकारवालासँग सुझाव लिन शिक्षा मन्त्रालयले शुक्रबार बैठक डाकेको थियो । बैठकले कक्षा १० मा माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेसन सर्टिफिकेट) एसईसी सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै कक्षा १२ मा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (स्कुल लिभिङ सर्टिफिकेट) अर्थात् एसएलसी सञ्चालन गर्नेमा सहमति जुटाइएको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले एसएलसी १० र एसएलसी १२ गर्न प्रस्ताव मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले सरोकारवालासँग सुझाव लिई अगाडि बढ्ने निर्णय गर्दै शुक्रबार बैठक आह्वान गरेको थियो । शिक्षाविद्, शिक्षक, अभिभावक लगायतलाई बैठकमा डाकिएको थियो । बोर्डका सदस्यसचिव सूर्यप्रसाद गौतमले सरोकारवालाको सुझावका आधारमा एसईसी र एसएलसी परीक्षा सञ्चालन गरिने जानकारी दिँदै भने, यसबाट कक्षा १० र १२ को परीक्षामा फरकपन देखिनेछ । यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै कक्षा १० को अन्तिम परीक्षा सञ्चालन गर्ने भएको छ । प्रादेशिक संरचना गठन भइसकेपछि मात्रै कक्षा १० को परीक्षा प्रदेशस्तरमा सञ्चालन हुनेछ ।  कक्षा १२ को परीक्षा बोर्डले नै सञ्चालन गर्नेछ र प्रमाणपत्र पनि उसैले जारी गर्नेछ । गोरखापत्र दैनिकबाट ।