जापानमा कामदार पठाउन भाषा कक्षा सञ्चालन गर्दै धुलिखेल नगरपालिका

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले जापानिज भाषा कक्षा सञ्चालन गर्ने भएको छ । नगरवासीलाई जापानमा कृषि कामदार पठाउन भाषा तालिम सञ्चालन गर्ने भएको हो । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै जापानिज भाषा सिक्न चाहने इच्छुक विद्यार्थीहरूलाई अन्तर्वार्ताको लागि बोलाएको छ । नगरपालिकाले जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गरेर सो भाषा कक्षा सञ्चालन गर्ने भएको हो । निकट भविष्यमा कृषि एवं पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्न तथा प्रविधि मैत्री बनाउनका लागि गुणस्तरीय जापानी भाषा (एन-फो लेभल) तथा आवश्यक सीप सिकाइने सूचनामा उल्लेख छ । नगरपालिकाका अनुसार जापानिज भाषा कक्षा ६ महिना सञ्चालन हुनेछ । सो समयपछि परीक्षा र सीप परीक्षणबाट उत्तीर्ण भएका प्रशिक्षार्थीहरूलाई जापान पठाइने धुलिखेल नगरपालिकाको रोजगारी शाखाका विनोद सापकोटाले बताए । जापानिज भाषा कक्षामा समावेश हुँदा शुल्क पनि लाग्ने छ। सापकोटाका अनुसार महिनाको ३ हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने हुन्छ । नगरपालिकाले जापानिज भाषाको कक्षा धुलिखेलका महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गर्ने भएको छ । महिलाहरूलाई पहिलो प्राथमिकता दिएर कक्षा सञ्चालन हुने पनि  सापकोटा बताए । उनका अनुसार भाषा उत्तीर्ण भएका २० जना महिलालाई जापान पठाइने छ । ‘हामीले यहाँबाट जापान पठाई सकेपछि त्यहाँको नवीनतम प्रविधिहरूमा अभ्यस्त गराई नेपाल फर्केपछि धुलिखेल नगरपालिका भित्र प्रविधिहरूको प्रयोग गरी व्यवसाय सञ्चालन गर्नु पर्ने हुन्छ, इच्छुक तथा तोकिएको सीमा भित्र पर्ने नगरपालिका भित्रका महिलाहरूका लागि जापानी भाषा कक्षा सञ्चालन गर्न लागेका हौं,’ उनले भने ।

‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ कार्यान्वयनकै चरणमा छ : सहसचिव काप्री

काठमाडौं । ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ कार्यान्वयनै प्रकृयामा रहेको शिक्षा मन्त्रालयका सहसचिव तथा उच्च शिक्षा महाशाखाका प्रमुख कृष्णप्रसाद काप्रीले बताएका छन् । विकासन्युजसँग कुरा गर्दै सहसचिव काप्रीले सो बताएका हुन् । पछिल्लो समयमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यमले तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयलाई ठाडो निर्देशन दिएको भन्दै प्रकाशित विषयमा कुनै सत्यता नभएको सहसचिव काप्रीले बताएका छन् । उनका अनुसार मन्त्रालयले सो निर्देशिकालाई कार्यान्वयनको प्रकृयामा लगिसकेको र बिदेशी मुद्रा सटही सम्बन्धी केही प्राविधिक समस्याका कारण मात्रै ढिलाई भएको बताए । सहसचिव पार्कीले निर्देशिका परामर्श व्यवसायीसँग सम्बन्धित नभएको र विद्यार्थी विदेश अध्ययन जाने प्रकृयालाई व्यवस्थित बनाउनका लागि मात्रै ल्याइएको समेत बताएका छन् । ‘हामीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन खोजेको र विशेषगरी वैदेशिक मुद्रा सटहीलाई पनि अनलाइनमा नै ल्याउन खोजेको हो’, उनले भने, ‘राष्ट्र बैंक र बैंकहरुको तयारीमा केही ढिलाई भएको मात्रै हो ।’ त्यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि कुनै व्यवसायीहरुले प्रधानमन्त्रीसँग नभेटेको र निर्देशिका सम्बन्धी कुनै निर्देशन दिएको विषय थाहा नभएको बताए ।

शैक्षिक सत्र सुरु हुनु अगाडि नै दैलेखका विद्यालमा पुग्यो पाठ्यपुस्तक

कर्णाली । कर्णाली प्रदेशका अन्य जिल्ला जस्तै दैलेखमा पनि सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । यसवर्ष विद्यार्थीले शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक प्राप्त गरेका छन् । जिल्लाका चार नगरपालिका र सात गाउँपालिकाका ९० वडामा रहेका पाँच सय ११ सामुदायिक विद्यालय तथा निजी विद्यालयमासमेत पाठ्यपुस्तक पठाइएको छ । यसअघि शैक्षिक सत्र सुरु भएको महिनौँसम्म पनि पाठ्यपुस्तक नपाएको गुनासो विद्यार्थीले गर्ने गरेका थिए । यसवर्ष शैक्षिक सत्र सुरु हुनासाथ विद्यार्थीले पाठ्यपुस्तक पाएका शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका निमित्त प्रमुख रतनबहादुर विष्टले जानकारी दिए । ‘अघिल्लो वर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक उपलब्ध नगराउँदा विद्यार्थीले असोजमा मात्र पाएका थिए, यसवर्ष समयमै पाठ्यपुस्तक विद्यालयमा पुगेका छन्’, उनले भने । हाल कक्षा १ देखि पाँचसम्मका पाठ्यपुस्तक सम्पूर्ण विद्यालयमा ढुवानी भइरहेको छ । अन्य कक्षाका पाठ्यपुस्तक पनि केही दिनमा ढुवानी गरिने विष्टले बताए । विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएपछि पठनपाठनमा सहज हुने भएको छ । पाठ्यपुस्तक खरिदका लागि स्थानीय तहले सम्बन्धित विद्यालयको खातामा रकम जम्मा गर्ने र विद्यालयले आवश्यक पुस्तक खरिद गरी विद्यार्थीलाई वितरण गर्ने गरेका छन् । अल्फा पुस्तक पसलका किश्वर खत्रीले दैनिक पुस्तक विद्यालयमा ढुवानी हुन थालेको बताए । यस्तै देउती पुस्तक पसलका हस्त शाहीले पुस्तक समयमै आउँदा विद्यार्थी र अभिभावकले खुसी व्यक्त गर्ने गरेको बताए । रासस