निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफू खुसी शुल्क उठाएको भन्ने विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढङ्गले सबै अभिभावकलाई जानकारी गराउनुपर्छ । अभिभावकले तोकिएको शुल्कको स्वीकृतिको विषयमा प्रश्न गर्न पाउँछन् ।’ त्यो विषयमा विद्यालय रहेको स्थानीय तहमा गुनासो गर्न पाउने व्यवस्था रहेको भन्दै मन्त्रालयले केही गुनासो भएमा स्थानीय तहमा जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

५ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउने

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयले थप पाँचवटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको छ । उक्त विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले कञ्चनपुरको झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बुहुमखी क्याम्पस, बझाङको दीप बहुमुखी क्याम्पस र बझाङकै सुनकुडा बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउने निर्णय भएको जानकारी गराए। ‘सरकारले उक्त क्याम्पसको दरबन्दी स्वीकृत गरेर विश्वविद्यालयका कार्यक्रमहरु सञ्चालन गर्नेछ’, उनले भने, ‘विसं २०७५ मै समायोजन गरेर शैक्षिक कार्यक्रम सुरु गर्ने भनिए पनि दरबन्दी स्वीकृत नहुँदा ढिलाइ भएको हो ।’ यसअघि उक्त विश्वविद्यालयमा १५ सामुदायिक क्याम्पसलाई आङ्गिक क्याम्पस बनाइएको थियो । हाल विश्वविद्यालयले आठवटा सङ्कायमा अध्यापन गराउँदै आएको छ । सरकारले डडेलधुरा अस्पताललाई पनि सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक सङ्कायका रुपमा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले आउँदो शैक्षिकसत्रदेखि वन विज्ञान र हर्वल साइन्सको कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए । ‘विश्वविद्यालयको आङ्गिक सङ्कायका रुपमा रहने गरी स्वास्थ्य मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र यस विश्वविद्यालयको त्रिपक्षीय सम्झौता भएको छ’, उनले भने, ‘यसै शैक्षिकसत्रदेखि हर्वल साइन्स र इन्जिनियरिङ सङ्कायको स्नाकोत्तर तहमा भर्ना प्रक्रिया सुरु गरेका छौ ।’ हाल विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कृषि विज्ञान, कानुन र स्वास्थ्य विज्ञान गरी आठवटा सङ्काय सञ्चालन गरेको उपकुलपति जोशीले बताए । विसं २०६८ मा स्थापना भएको विश्वविद्यालयले ०७१ देखि शैक्षिक कार्यक्रमहरू अघि बढाएको थियो । उक्त विश्वविद्यालयको केन्द्रीय र आङ्गिक गरी १६ क्याम्पसमा २३ हजार तीन सय ९९ विद्यार्थी अध्ययनरत छन् । रासस

म्याग्दीमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण

म्याग्दी । म्याग्दीका सामुदायिक विद्यालयमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न सुरु गरेका हुन् । महासङ्घमा आबद्ध २८ व्यवसायीले सामूहिकरूपमा लगानी गरी पाठ्यपुस्तक खरिद गरेको र सामुदायिक विद्यालयलाई सहजरूपमा पाठ्यपुस्तक उपलब्ध गराउन बिक्री केन्द्र स्थापना एकद्धारमार्फत बिक्री वितरण गर्न थालिएको महासङ्घका जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिए । उनका अनुसार गत वर्ष पुस्तक बिक्री भएको तथ्याङ्कका आधारमा आगामी शैक्षिकसत्रका लागि म्याग्दीमा कक्षा १ देखि १० सम्मका लागि १४ हजार छ सय ७० विद्यार्थीलाई लक्षित गरेर पुस्तक ल्याइएको छ । जिल्लामा कक्षा ७ को सामाजिकबाहेक अन्य अधिकांश कक्षाका पूरा सेट पाठ्यपुस्तक बेनीमा ल्याइसकिएको छ । अपुग पाठ्यपुस्तकसमेत केही दिनमै बेनी आइपुग्ने महासङ्घले जनाएको छ । जिल्लामा नौ वर्षदेखि व्यवसायीले सामूहिकरूपमा बिक्री केन्द्र स्थापना गरेर सरकारी पाठ्यपुस्तक बिक्री गर्दै आएका छन् । सबै व्यवसायीको अपनत्वमा सामुदायिक विद्यालयलाई सहजरूपमा समयमै पुस्तक उपलब्ध गराउने उद्देश्यले बिक्री केन्द्र सञ्चालन गर्ने गरिएको महासङ्घका पूर्वअध्यक्ष रहनुभएका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाराम गौतमले जानकारी दिए । उनले गण्डकी प्रदेशमा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर पुस्तक बिक्री गर्ने प्रबन्ध मिलाइएको बताए । यहाँका पुस्तक व्यवसायीले करिब एक करोड रुपैयाँ सेयर रकम सङ्कलन गरेर सामूहिकरूपमा पाठ्यपुस्तक खरिद गरेर बिक्री केन्द्र सञ्चालन गरेका हुन् । अहिलेसम्म जिल्लामा ८० प्रतिशत पाठ्यपुस्तक आइपुगेको र आगामी वैशाखभित्रमा सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता जनाएका छन् । स्थानीय तहको केन्द्रसम्मको ढुवानीसमेत आफैँ गर्ने र विद्यालयसँग आवश्यक समन्वय गरेर सहजरूपमा पुस्तक उपलब्ध गराउने व्यवसायीले बताएका छन् । जिल्लामा दुई सय ३३ सामुदायिक विद्यालय सञ्चालनमा छन् । रासस