स्टुडेन्ट भिसामा विदेश जान चाहनेले कस्तो सीप सिकेर जाँदा राम्रो हुन्छ ?
काठमाडौं । पछिल्ला वर्षहरुमा कक्षा १२ को पढाइ सकिएपछि विदेश जाने विद्यार्थीहरुकाे संख्या बढेकाे छ । विदेश गएर पढ्ने कमाउने विषयमा लाखौं नेपाली विद्यार्थीहरुको आकर्षण पनि देखिन्छ । चालू आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तसम्म ८१ हजार पाँच सय विद्यार्थीले पढाइका लागि विदेश जाने अनुमतिपत्र (नो अब्जेक्शन लेटर- एनओसी) विद्यार्थीले लिएका छन् । विगतका वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा एनओसी लिने विद्यार्थीको संख्यमा वृद्धि हुँदै गएको छ । सामान्यतया अध्ययनको लागि विदेश जाने धेरै विद्यार्थीहरु ती मुलुकमा पढ्दै कमाउँदै गर्न सकिने अपेक्षा राखेर गएका हुन्छन् । नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको प्रवृत्तिलाई हेर्दा उनीहरुको पहिलो रोजाई अस्ट्रेलिया, जापान, युके, अमेरिका, न्युजिल्यान्ड लगायतका देशहरुमा देखिन्छ । ती मुलुकहरुमा अध्ययन गर्न जानको लागि निश्चित भाषा परीक्षामा तोकिएको अंक ल्याउनुपर्ने व्यवस्था त छँदैछ त्यसको अलावा खासगरी पढ्दै कमाउने अपेक्षा राखेर विदेश जाने विद्यार्थीहरुले कस्तो सीप सिकेर जाँदा उनीहरुलाई सहज हुन्छ ? अल्फाबिटा एजुकेसन कन्सल्टेन्सीका अध्यक्ष तथा सञ्चालक द्विराज शर्माले अमेरिका बाहेक अस्ट्रेलिया, युके, क्यानडा लगायतका मुलुकमा विद्यार्थीले पढ्दै गर्दा काम पार्ट टाइम काम पाउने हुँदा केही कामहरु सिकेर जाँदा सहज हुने बताएका छन् । शर्माले विदेशमा विद्यार्थीहरुले खासगरी कफी बनाउन, क्लिनिङ गर्न, वेटर गर्न, आइटी लगातका क्षेत्रमा काम पाउने हुँदा सो सम्बन्धी तालिम लिएमा उनीहरुलाई सहज उनको शर्माको भनाइ छ । ‘अन्डरग्रयाजुएटको विद्यार्थीले विदेशी मुलुकमा गएर गर्ने भनेको कफीसप, बेकरी, कुकिङ, क्लिनिङ, सेक्युरीटी गार्ड लगायतका क्षेत्रमा हो’, उनले भने, ‘यदि उनीहरुको स्कुलको अध्ययन एकदमै राम्रो छ भने उनीहरुले आइटीको कोडिङ गर्ने काम पनि पाउन सक्छन् ।’ मास्टर्स पढ्न जाने विद्यार्थीहरुसँग क्षमता हुने भएकाले उनीहरुले ती मुुलुहरुमा नै गएर अध्यापन गर्ने सम्बन्धी सर्टिफिकेट लिएर काम शुरु गर्न सक्ने शर्माले बताए । पछिल्लो समयमा अस्ट्रेलियामा कन्सल्टेन्सी धेरै खुलेकोले विद्यार्थीहरुले कन्सल्टेन्सीहरुमा परामर्श दिने पनि काम पाउन सक्ने शर्माको भनाइ छ । त्यसको लागि विद्यार्थीले नेपालमा नै तालिम लिएर सर्टिफाइड भएर जानसक्ने उनले बताए । ‘ती देशहरुमा कफी बनाउने, क्लिनिङ गर्ने, टायल लगाउने जस्ता कामहरुमा धेरै पैसा हुन्छ, जुन काम अस्ट्रेलियन मान्छेहरुले कम गर्छन्’, उनले भने, ‘यहाँ काम सिकेर गएको विद्यार्थीले त्यहाँ गएर काम गरेपछि केहि समयमा नै सर्टिफिकेट पाउँछ, सर्टिफिकेट र तालिम हुनु र नहुनुमा पनि फरक पर्छ नी त ।’ त्यस्तै, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालका कोशाध्यक्ष अनिल शर्मा पौडेलले जापानमा अन्डरग्रयाजुएट अध्ययन गर्न चाहने विद्यार्थीहरुले भाषा अध्ययन गरेर जानुपर्ने तर काम भने त्यहीँ गएर नै सिक्नुपर्ने बताउँछन् । उनले विद्यार्थीलाई पार्ट काम दिने जापानको कम्पनीले शुरुको समयमा तालिम दिएर नै काम गर्न लगाउने हुँदा काम सिकेर जान नपर्ने उनको भनाइ छ । ‘भाषा मात्रै राम्रोसँग पढे हुन्छ, त्यहाँको कम्पनीले काम लगाउँदा एक महिना आँफै तालिम दिन्छ, चाहे उसलाई काम गर्न सबै आओस वा नआओस, उसलाई शुरुदेखि नै सिकाइ सहित काममा लगाउँछ’, शर्माले भने । रेष्टुरेन्टमा नै काम गर्दा पनि तरिका र परिकारमा फरक हुने भएकाले तालिमको काम नहुने उनी बताउँछन् । तर, आइटी सेक्टरमा काम गर्ने क्षमता भएको विद्यार्थीले भने त्यहाँको मापदण्डअनुसार भाषाको कोर्ष पूरा गर्ने वित्तिकै काम गर्ने भिसा प्राप्त गर्नसक्ने उनले बताए । ‘यदि आइटीमा पर्फेक्ट छ र उ भाषामा १.३८ देखि १.२८ सम्मको भाषामा जाँदा उसले भाषा सक्ने वित्तिकै उसले वर्किङ भिसामा आवेदन गर्नेवित्तिकै प्राप्त गर्नसक्छ’, उनले भने, ‘आइटी, मेकानिकल, अटोमोबाइल, केयर नर्सिङ जस्ता प्राविधिक क्षेत्र धेरै राम्रो छ ।’ त्यस्तै, डाइरेक्सन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक शिबु रानाले युके कफी, पिज्जा, बेकरी बनाउन, हाउस किपिङ लगायतका काम सिकेको र कार तथा बाइक ड्राइभिङको लाइसेन्स भएमा विद्यार्थीहरुलाई आफ्नो पढाइसँगै पार्ट टाइम काम गर्न सजिलो हुने बताउँछन् । नेपालको ड्राइभिङ लाइसेन्स भएमा युके लगायतका केही मुलुकमा एकवर्ष सम्म काम गर्न सकिने उनले बताए ।
बाराको श्रीगढीमाई बहुमुखी क्याम्पसलाई १४ कठ्ठा जग्गा दान
कलैया । बाराको श्रीगढीमाई बहुमुखी क्याम्पसलाई विभिन्न दाताले ५६ लाख रुपैयाँ बराबरको १४ कठ्ठा जग्गा दान गरेका छन् । केही समयअघि क्याम्पसको आयोजनामा श्रीमद् भागवत तथा गढीमाई महोत्सवका अवसरमा विभिन्न व्यक्तिले क्याम्पसलाई जग्गा दान गर्न प्रतिबद्धता जनाएका थिए । सोही अनुसार उनीहरुले क्याम्पसलाई जग्गा दान गरेका हुन् । महागढीमाई नगरपालिका–१ का नागेन्द्रप्रसाद चौधरीले १० कठ्ठा तथा पन्नालाल प्रसाद, प्रेम प्रसाद, सुमित्रा देवी र नरेशप्रसाद जयसवालले एक–एक कठ्ठा जग्गा दान गरेको क्याम्पस सञ्चालक समितिका सदस्य अमित चौधरीले जानकारी दिए। पाँचै जनाले बुधबार मालपोत कार्यालयमा गई जग्गा क्याम्पसको नाममा पास गरी लालपुर्जा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयकुमार स्वर्णकार र क्याम्पस प्रमुख धर्मेन्द्रप्रसाद यादवलाई हस्तान्तरण गरे । यसैगरी क्याम्पसले महायज्ञबाट सङ्कलन भएको रकमबाट रु चार लाखका दरले थप चार कठ्ठा जग्गा खरिद गरेको अध्यक्ष स्वर्णकारले जानकारी दिए । रासस
काठमाडौं महानगरका सबै विद्यालयले छात्रवृत्ति वितरणको विवरण पठाउनु पर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र जारी गरेको छ । महानगरको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति यही जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन आग्रह गरेको छ । महानगरको शिक्षा ऐन २०७५ को दफा ५० को उपदफा ३ अनुसार छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न, विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ अनुसार छात्रवृत्तिको प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गर्न र नियमावलीको नियम ५९ अनुसार छात्रवृत्ति पाउनेको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्न उक्त सूचनामार्फत सूचित गरिएको छ । यसैगरी, महानगरले कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा त्यसको सुनुवाइका लागि अवसर प्रदान गर्न पनि निर्देशन दिएको छ । तोकिएअनुसार समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने चेतावनी दिइएको छ । महानगरले वडाध्यक्ष तथा जनप्रतिनिधिलाई छात्रवृत्ति वितरण तथा विवरणको काममा सहयोग र अनुगमन गर्न पनि उक्त सूचनामार्फत आग्रह गरेको छ ।