गर्मीको कारण बन्द भएका विद्यालय बिहान संचालन गर्न निर्देशन
नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले विद्यालयलाई बिहानी सत्रमा सञ्चालन निर्देशन दिएको छ । नगर शिक्षा अधिकारी डा बालकृष्ण चापागाईंले गर्मीका कारण बन्द भएका विद्यालय बिहानी सत्रमा खोल्न सार्वजनिक सूचना जारी गरेका हुन् । ‘बर्खे बिदामा मिलान हुने गरी जेठ २१ देखि जेठ २६ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गरिएको थियो,’ उनले भने, ‘जेठ २८ गतेदेखि विकल्प खोज्दै बिहानी सत्रमा विद्यालय खोल्न नगरकार्यपालिकाबाट निर्देशन आएकाले सोहीअनुसार गर्न सूचना जारी गरिएको हो ।’ विद्यालयको भौतिक अवस्था हेरी दिवा सत्र वा बिहानी सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन भएको उनले जानकारी दिए । दिवा सत्रको कक्षा सञ्चालन समय नियमानुसार तथा बिहानी सत्रको कक्षा सञ्चालनको समय विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार गर्न चापागाईंले आग्रह गरे । आइतबारदेखि बिहानी सत्रमा सञ्चालन गर्ने विद्यालयले पनि गर्मी कम भएपछि दिवा सत्रमा कक्षा सञ्चालन गर्नेगरी पठनपाठन गराउन उनले आग्रह गरेका थिए । जेठ २५ गते नवलपुरमा नेपालकै सबैभन्दा बढी तापक्रम मापन गरिएको थियो । जिल्लाको दुम्कौलीमा बुधबार ४३ दशमलव आठ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । देवचुली नगरपालिकामा पर्ने दुम्कौली गैँडाकोट नगरपालिकासँगै जोडिएको छ ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन
महेन्द्रनगर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ । करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको आज बिहान निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो । उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत थिए । डा. साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।
स्याङ्जाको विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द
स्याङ्जा । स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय स्याङ्जा र गह्रौँ प्राथमिक अस्पताल वालिङबाट चिकित्सकको टोली पुगेर औषधि उपचार गरेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि कोखे पुगेर नमूना सङ्कलन गरेका हुन् । ‘ठेउला देखिएको ठाउँमा पुगेर स्वास्थ्यकर्मीको टोलीले घाँटीको स्वाब, छालाको नमूना तथा रगतको नमूना सङ्कलन गरी परीक्षण गर्न काठमाडौँ पठाएको छ’, उनले भने, ‘लक्षणअनुसार ठेउला भएको प्रारम्भिक परीक्षण हेर्दा सङ्ख्या धेरै भएकाले नमूना परीक्षण गर्न काठमाडौं पठाएका छौँ ।’ ठेउला रोगको रोकथाम तथा नियन्त्रण गर्न हावाबाट बच्न र सामाजिक दूरी कायम राख्नसमेत अनुरोध गरिएको शाखा प्रमुख पाण्डेले बताए । दोस्रो पटक जाँच गर्दा थप दश जना बालबालिका तथा समुदायस्तरसम्म सङ्क्रमण फैलिएकाले रोकथाम तथा न्यूनीकरणका लागि स्थानीयलाई सचेत गराइएको उनले बताए । ठेउला भाइरसबाट सर्ने सङ्क्रामक रोग हो । विशेष गरी १५ वर्ष उमेर समूहमुनिका बालबालिकामा यो रोग बढी देखिने गर्छ । यसले दीर्घरोगी तथा गर्भवती महिलालाई बढी असर गर्नसक्ने भएकाले समुदायस्तरमा फैलिन नदिन विशेष सावधानी अपनाइएको स्वास्थ्य कार्यालय स्याङ्जाकी प्रमुख वसुन्धरा शर्माले बताए । ‘सङ्क्रमण फैलिन नदिन सङ्क्रमित बिरामीको सम्पर्कमा नआउने, एउटै लुगा प्रयोग नगर्ने, सरसफाइमा ध्यान दिनुपर्छ’, उनले भने, ‘एकदेखि दुई हप्तासम्म यसको लक्षण देखिन्छ, एकपटक भएपछि दोस्रो पटक हुँदैन ।’ जेठ १४ गतेदेखि सुरु भएको ठेउलाको सङ्क्रमण अहिले सिर्सेकोट जनहित विद्यालय तथा समुदायस्तरमा फैलिएको छ ।