खुला आकाशमुनि बाँझो खेतमै बसेर पठनपाठन गर्न बाध्य विद्यार्थी
सिमकोट । जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–१ जैरको भिटागाउँको गणतन्त्र प्राथमिक विद्यालयको भवन नहुँदा बालबालिका खुला आकाशमुनि भुइँमा बसेर पठनपाठन गर्न बाध्य छन् । उनीहरु स्थानीयको बाँझो खेतमै बसेर पढ्न थालेको वर्ष दिन पुग्न लाग्दा पनि विद्यालय भवन निर्माणमा कसैको ध्यान गएको छैन । विद्यालयको भवन गत वर्ष असोज १९ देखि २७ गतेसम्म अविरल वर्षासँगै आएको बाढीपहिरामा परी भत्किँदा विद्यार्थी भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएका हुन् । जैर गाउँ सदरमुकाम सिमकोटबाट ३८ कोष टाढा पर्छ । छ कोठे माटोले छाएको विद्यालय भवन भए पनि बाढी–पहिराले तीन कोठा भत्काएको र बाँकी तीन कोठा जीर्ण भएर बस्नै नमिल्ने अवस्थामा रहेका कारण गत असोजदेखि नै सबै विद्यार्थीलाई अर्काको बाँझो खेतमा बसालेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानध्यापक मीनबहादुर रावतले बताए । बालविकासदेखि कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा घाम लागेको समयमा विद्यार्थी खेतमा राखेर पठनपाठन गरिए पनि पानी परेको दिन विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक रावतले गुनासो गरे । विद्यालय पुनःनिर्माणका लागि गाउँपालिका, सामाजिक विकास कार्यालय, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश योजना आयोगमा पटक–पटक अनुरोध गर्दा पनि कसैले सुनुवाइ नगरेको सर्केगाड–१ का वडाअध्यक्ष बलबहादुर कार्कीले बताए । विद्यालय भवन बाढीपहिराले भत्काएपछि राम्रोसँग पठनपाठन नहुँदा विद्यार्थी सङ्ख्या एक सय दुईबाट घटेर ७८ मात्र रहेका छन् । रावतले भने, “ती विद्यार्थीलाई पनि घाम–पानी छेक्ने कक्षा कोठा व्यवस्था काहीँ कतैबाट पहल नभएपछि केही सीप नलागेर घाम लागेको दिन मात्र खेतमै बसालेर पठनपाठन गर्नु हाम्रो बाध्यता हो ।” विद्यालयमा दुई जनाको दरबन्दी, बालविकास शिक्षक एक, पालिकाबाट अनुदान शिक्षक एक र विद्यालय कर्मचारी एक गरी जम्मा पाँचजना कार्यरत छन् । विद्यालय भवन अभावमा अहिले अर्काको बाँझो खेतमा विद्यार्थीलाई तीन ठाउँमा भेला गरी पठनपाठन गरिँदै आएको छ । हिउँदको मौसममा जसोतसो गुजारा चलाए पनि वर्षाको मौसममा भने कठिन हुने गरेको उनले बताए । बाँझो खेतमा बसेर अध्ययन गर्नुपर्ने भएपछि विद्यार्थीको कपडासमेत चाँडै फोहर हुने हुँदा विद्यार्थी घरबाट काठको टुक्रा बोकेर ल्याई भुइँमा राखेर बस्ने गरेका छन् । रावतका अनुसार वडा, गाउँपालिका र अन्य शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायसँग विद्यालय भवन निर्माणमा सहयोगका लागि आग्रह गर्दा हालसम्म कुनै पनि निकायबाट माग सम्बोधन हुन सकेको छैन । देवल आधारभूत विद्यालयका विद्यार्थीको पीडा पनि उस्तै सर्केगार्ड–१ को तुम्च गाउँको देवल आधारभूत विद्यालयका विद्यार्थीको पीडा पनि कम छैन । उनीहरु पनि यसरी भुुइँमा बसेर अध्ययन गर्दै आएका छन् । सहज रूपमा शिक्षा प्राप्त गर्नु संवैधानिक अधिकार भए पनि यस विद्यालयका विद्यार्थी कक्षा कोठाभित्रको धुलाम्मे भुुइँमा बसेर अध्ययन गर्न बाध्य हुँदै आएका छन् । विद्यालयले कक्षा कोठामा डेस्क बेन्चको व्यवस्था गर्न नसकेपछि विद्यार्थीले भुुइँमा बसेर अध्ययन गर्नुपरेको हो । कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा कक्षा ७ र ८ का विद्यार्थी जीर्ण बेन्चमा बसेर अध्ययन गर्दै आए पनि बाँकी बालविकासदेखि कक्षा ६ सम्मका सबै विद्यार्थी भुुइँमा बसेर अध्ययन गरिरहेको प्रधानाध्यापक कालीबहादुुर रावतले बताउनुभयो । बेन्च–डेस्क भएका कक्षाका लागि अभिभावक मिलेर रु २० हजार उठाइएको थियो । भवन निर्माण गरे पनि कोठामा डेस्क–बेन्चको व्यवस्था नहुँदा चार वर्षदेखि विद्यार्थी धुलाम्मे भुुइँमा बस्दै आएका छन् । भुुइँमा बसेर अध्ययन गर्नुपर्ने भएपछि विद्यार्थीको कपडासमेत चाँडै फोहर हुने गरेका छन् । उक्त विद्यालयको कक्षा कोठामा विद्यार्थीले घरबाट काठको टुुक्रा वा ढुङ्गा बोकेर ल्याई भुुइँमा राखेर बस्ने गर्दै आएका छन् । विद्यालयमा दुई सय २० विद्यार्थी अध्ययन गर्छन् । वडा, गाउँपालिका र अन्य शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायसँग डेस्क–बेन्चका लागि आग्रह गर्दा हालसम्म कुनै पनि निकायबाट माग सम्बोधन हुन नसकेको प्रधानध्यापक रावतले गुनासो गरे । यसअघि कक्षा ५ सम्ममात्र पढाइ हुने विद्यालयमा कक्षा पाँच उत्तीर्णपछि सरस्वती मावि जैर, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगर वा मुुगुु जिल्ला गएर अध्ययन गर्नुपर्ने भएपछि विद्यालयले कक्षा ८ सम्म पठनपाठनका लागि अनुमति लिएको हो । कक्षा बढाए पनि विद्यालयलाई आवश्यक भौतिक पूर्वाधारको समस्याले पठनपाठनमा समेत असर पारेको विद्यालयले जनाएको छ । रासस
डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि विद्यार्थी भर्ना गर्ने तयारी
दोधारा चाँदनी । सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ । मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसैगरी डडेल्धुरा क्षेत्रीय अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय स्थापना गरेर कलेज निमार्णको प्रक्रिया अघि बढाएको हो । अहिले प्रशासनिक भवन निर्माण, छात्रवासलगायतका संरचना निमार्णका लागि डिपीआर निमार्णको काम भइरहेको विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले बताए । ‘बोलपत्र आह्वान गरेर डिपीआर निमार्णको प्रक्रिया अघि बढिसकेको छ’, उपकुलपति जोशीले भने, ‘हामीले यसै शैक्षिक शत्रदेखि विद्यार्थी भर्ना गर्ने गरी काम गरिरहेका छौँ ।’ विश्वविद्यालयले अहिले पाठ्यक्रम निमार्णको काम अन्तिम चरणमा पु¥याएको उनले बताए । ‘मेडिकल कलेजमा पाँच विषयको अनुमति लिनेछौँ तत्काललाई दुई विषयको मात्रै अध्ययन हुन्छ”, उनले भने, ‘अहिले डडेल्धुरा अस्पतालमा एक सय शय्या सञ्चालनमा छन्, त्यसलाई थप गरेर सुरुवातमा तीन सय शय्याको अस्पताल सञ्चालन हुनेछ ।’ सरकारले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा सञ्चालन गर्ने निर्णय गरे पनि बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुन सकेको थिएन । ‘डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा आए सुदूरपश्चिम प्रदेश क्षेत्रका विद्यार्थीलाई चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ, प्रदेशभरी विशेषज्ञ उपचार सेवामा पहुँच पुग्ने छ’, उनले भने, ‘विशेषगरी सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकले छिटोछरितो स्वास्थ्य सेवा पाउने छन् ।’ मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकुलपति जोशीले बताए । यसैगरी मेडिकल कलेजका डीन डा हेमनाथ जोशीले अहिले डडेल्धुरा क्षेत्रीय अस्पतालमा सय शय्या मात्रै सञ्चालनमा रहेकाले स्नातक तहको मात्रै अध्ययन गर्न सकिने बताए । ‘अस्पतालको भवन निर्माण भइरहेको छ, अझै आठ/नौ महिना समय लाग्छ’, उनले भने, ‘स्नातक तहको अध्ययनका लागि चिकित्सा शिक्षा आयोगलाई पत्र पठाइसकेका छौँ ।’ उनले चिकित्सा शिक्षा आयोगबाट अनुमति पाए आउँदो फागुन/चैतबाट विद्यार्थी भर्ना गर्ने तयारी भइरहेको बताए । रासस
त्रिविले भन्यो : समायोजन हुन इच्छुक क्यापसले निवेदन पेस गर्नु
काठमाडौं । त्रिभुवन विश्वविधालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न आग्रह गरेको छ । सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो । त्रिविले आज सूचना जारी गर्दै सम्बन्धित इच्छुक क्याम्पसलाई सामायोजन हुन चाहने क्यापसले आफ्नो क्यापससभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई तोकिएको समयभित्र निवेदन पेश गर्न सूचना जारी गरेको हो । निवेदन गर्दा दुवै क्याम्पसको बेग्लाबेग्लै निवदेन दिने, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिदको प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।