‘बिहार परीक्षा बोर्ड’ले डा. सुनिल शर्मालाई अनभेरिफाइड भनिदिएपछि…
काठमाडौं । नेपाली कांगेसका नेता तथा मेडिकल कलेज सञ्चालक डा. सुनिल शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले साउन २५ मा पक्राउ गर्दा देश नै तरङ्गीत बन्यो । सत्तारूढ दलको बहालवाला सांसद पक्राउ पर्दा कतिपयले आश्चर्यसमेत व्यक्त गरे । डा. शर्मा पक्राउ परेपछि अरू पाँच जना डाक्टर पनि सोही दिन पक्राउ परेका थिए । कांग्रेसको संस्थापन इतर खेमामा रहेका डा. शर्मालाई पक्राउ गर्नकै लागि अन्य डाक्टरलाई समेत पक्राउ गरेको टिप्पणी भएपछि सिआइबीले त्यसको खण्डन गरेको छ । डा. शर्माको शैक्षिक प्रमाणपत्र नक्करी रहेको उजुरीको आधारमा उनीमाथि पटक पटक अनुसन्धान भएको छ । गत साउन ५ गते मेडिकल काउन्सिलबाट शर्माको बारेमा थप जानकारी आएपछि सिआईबीले अनुसन्धानको लागि प्रक्राउ गरेको सिआइबीका अधिकारीहरुले बताएका छन् । विभिन्न विश्वविद्यालयमा अध्ययन गरेको भनिएका मध्ये ८०९ जना डाक्टरको प्रमाणपत्रमाथि सिआइबीले २०७३ सालमा अनुसन्धान गरेको थियो । जसमध्ये १०९ जनाको सर्टिफिकेटलाई भारतको ‘बिहार इक्जामिनेसन बोर्ड’ले अनभेरिफाइड भनिदिएको थियो । सोही बोर्डबाट प्राप्त अनभेरिफाइडको सूचीमा डा. सुनिल शर्माको नाम समेत उल्लेख छ । त्यतिबेला सिआइबीले शुरु गरेको ‘अपरेसन क्वाक’ अन्तर्गत ५९ जना मात्रै पक्राउ परेका थिए । बाँकी ५० जना भने फरार भएका थिए । त्यसबेला पक्राउ पर्ने डरले शर्मा पनि फरार भएका थिए । पछि उनी नेपाली कांग्रेसकोतर्फबाट संसदीय राजनीतिमा आए । २०७४ को निर्वाचनमा पराजय भएका शर्मा २०७९ को निर्वाचनबाट भने सांसद बनेर आाए । त्यसबेला सिआइबीले पक्राउ परेका विरुद्धमा मात्रै अदालतमा मुद्दा दर्ता गरेको थियो । सिआइबीले अदालतमा मुद्दा दर्ता गरेकामध्ये कतिपय साधारण तारेखमा छुटे भने केहीले २५ लाख रूपैयाँसम्म धरौटी बुझाएर छुटेका थिए । मेडिकल काउन्सिलले गत साउन ५ मा डा. सुनिल शर्मासहित १३ जनाको प्रमाणपत्र अनुसन्धान गर्न सिआइबीलाई पत्र पठाएको थियो । मेडिकल काउन्सिलको त्यहीँ सूचीमाथि सिआइबीले ‘अपरेसन फस्ट्रोट’ सञ्चालन गरेर १३ जनालाई नै गिरफ्तारको प्रयास गरेको तर, ७ जनालाई मात्रै पक्राउ गर्न सकिएको सीआईबीका एक अधिकारीले बताए । बाँकी ६ जना भने फरार छन् । डा. शर्माले रिहा भएपछि सरकारले प्रतिशोध साँध्न गिरफ्तार गरेको बताउँदै आएका छन् ।
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ नतिजा
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको जानकारी दिए । उनले भने, ’बोर्डले साउन भित्रै नतिजा सार्वजनिक गर्ने गरी तालिका तयार पारेको थियो, त्यसैबमोजिम नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेका छौँ, नतिजा सार्वजनिक गरेपछि विद्यार्थीको मार्कसिटलगायतमा कुनै त्रुटि नहोस् भनेर अन्तिम रुजु गर्ने काम भइरहेको छ ।’ देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । बोर्डले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो । यसरी हेर्न सकिन्छ नतिजा कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np धधध।लभद।नयख।लउ र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।
पोखराबाट ‘स्कुल ड्रेस’मा एकैदिन हराए तीन बालिका
कास्की । पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए पछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हराएका बालिकाका आफन्तका अनुसार घरबाट विद्यालय हिँडेका बालिका सो दिन विद्यालय पुगेका थिएनन् । हराएकामध्ये राधिका र मनिका राष्ट्रिय माध्यमिक विद्यालय र एलिसा बरपाटन माध्यमिक विद्यालयमा अध्ययनरत थिए । आफन्तले भने दुई बालिकाले फोनमा कुरा गरे पनि कहाँ–कस्तो अवस्थामा रहेको जानकारी नभएको बताएका छन् । राधिका र मनिकाले अभिभावकसँग फोनमा कुरा गरेको बताइन्छ । परिवारका अनुसार बालिका हराउँदा बखत विद्यालयको पोशाक सेतो सर्ट र निलो स्कट लगाएका थिए । प्रहरीका अनुसार हराएका बालिकाका परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका भनी खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् । “आफन्त, इष्टमित्रसमेतको सम्पर्कमा नआएको हुँदा खोजतलास गरी पाऊ भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजी कार्यलाई तीव्र बनाइएका छौँ ।” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले भने।