दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी बनाएर त्रिविले बनायो रेकर्ड
काठमाडौं । दीक्षान्त समारोहमा विश्वभरीकै विश्वविद्यालय मध्ये धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले रेकर्ड बनाएको छ । सोमबार दशरथ रंगशालामा भएको त्रिविको ४९औं दीक्षान्त समारोहमा २६ हजार भन्दा धेरै विद्यार्र्थी दीक्षित भएका छन्, जुन विश्वभरीकै विश्वविद्यालयको इतिहासमा नयाँ रेकर्ड भएको बताइएको छ । विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा धेरै विद्यार्थी सहभागी भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई किर्तिमानको प्रमाणपत्र प्रदान गरेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् । त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् । विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा डा शिवलाल भुसालले विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । उनले उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारीसहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरे ।
छोरीबुहारीको अध्ययन थलाे बन्यो गुप्तेश्वर क्याम्पस
गण्डकी । पर्यटकीय नगरी पोखराको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाकालदेखि नै छोरी बुहारीको अध्ययनको थलो बन्दै आएको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाको आम्दानीबाट क्याम्पस स्थापना गरी सञ्चालनमा आएसँगै यस क्षेत्रका छोरी बुहारीलाई शिक्षा आर्जनमा सहज भएको हो । गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले २०६५ सालदेखि स्थापना गरी यज्ञशाला भवनको दोस्रो तल्लाबाट सुरु भई अहिले आफ्नै आधुनिक सुविधा सम्पन्न भवनमा सञ्चालन हुँदै आएको उक्त क्याम्पसमा हाल कूल नौ सय २९ विद्यार्थी अध्ययनरत छन् । यसमध्ये ६९८ (७३ प्रतिशत) छोरीबुहारी अध्ययनरत रहेको क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिए । उनका अनुसार व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायतर्फ विविएस, बीएड, विएचएम, विआइएम र एमविएस विषयमा स्नातक तहका कक्षा सञ्चालन भइरहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा कास्की, स्याङ्जा, पर्वत, तनहुँ, लमजुङ, दाङलगायत जिल्लाका विद्यार्थी अध्ययनरत छन् । गुणस्तरी शिक्षामा जोड दिएका कारण क्याम्पसमा विद्यार्थीको आकर्षण बढेको उनको दाबी छ । क्याम्पसले विभिन्न सङ्कायबाट सर्वोत्कृट अङ्क ल्याउने जेहेन्दार एवं विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीका अनुसार क्याम्पसलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि पर्यटकीयस्थल डेभिजफलको उत्तरी भेगमा गुफाले रु तीन करोडभन्दा बढी लगानीमा खरिद गरेको पाँच रोपनी छ आना र पछि थप गरिएको १३ आना गरी छ रोपनी तीन आना जग्गामा भवन निर्माण गरिएको छ । उनले भने, ‘विश्वविद्यालय अनुदान आयोग र गुप्तेश्वर गुफा व्यवस्थापन समितिको आर्थिक सहयोगमा तेस्रो तल्ला थप्ने काम भइरहेको छ ।’ भारतीय दूतावासको रु चार करोड १० लाखको सहयोगमा भवन निर्माण गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ३३ विद्यार्थीबाट सुरु गरिएको क्याम्पस सञ्चालनमा गुफाको रु २५ करोडभन्दा बढी लगानी भइसकेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए । आव २०७९/८० मा कूल रु चार करोड ६७ लाख आम्दानी गरेको क्याम्पसको रु चार करोड ८४ लाख खर्च भएको उनले बताए । छात्रवृत्ति कोषमा एक करोड शैक्षिक क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यका साथ क्याम्पसको विभिन्न सङ्काय र तहमा नियमितरुपमा अध्ययनरत जेहेन्दार, दलित, जनजाति तथा आर्थिकरुपमा पिछडिएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्यका साथ सङ्घसंस्था एवं शिक्षाप्रेमीका तर्फबाट रु एक करोड छ लाख बराबरको सातवटा अक्षयकोष स्थापना गरिएका छन् । गुप्तेश्वर महादेव गुफा अक्षय कोष रु एक करोड, खगराज कला साहित्य उत्थान अक्षयकोष रु एक लाख एक हजार, लिलाकुमारी स्मृति अक्षयकोष एक लाख, प्रा डा भूपति ढकाल(कमल) पुर्खाको स्मरण रु दुई लाख २२ हजार दुई सय २२, इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था अक्षयकोष रु ५० हजार, लक्ष्मी पौडेल जेहेन्दार तथा गरिब छात्रवृत्ति अक्षयकोष रु ५२ हजार र धर्मकला पौडेल स्मृति अक्षयकोष रु ५१ हजार एक सय ५१ रहेका छन् । अक्षयकोषको व्याजबाट चालू आवमा एक सय ३३ विद्यार्थीले रु १२ लाख छात्रवृत्ति वितरण गर्ने कार्यक्रम छ । विश्वविद्यालय अनुदान आयोगबाट १८ विद्यार्थीले विभिन्न विधामा छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन् । क्याम्पसमा पूर्णकालीन र आंशिक गरी कूल ३४ शिक्षक र ११ कर्मचारी कार्यरत छन् । रासस