नेपाल र आयरल्याण्डका सांसदबीच शैक्षिक सहकार्यबारे छलफल

काठमाडौं । नेपाल र आयरल्याण्डकबीच दुई देशको शिक्षा विकासका क्षेत्रमा सहयोग र सहकार्य बढाउन छलफल भएको छ । नेपाल पाँच दिने भ्रमणमा रहेको आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरसहितका सिनेटरसँग बुधबार सङ्घीय संसद्, सचिवालयले आयोजना गरेको शैक्षिक सहकार्यसम्बन्धी छलफल कार्यक्रममा गुणस्तरीय शिक्षा, स्तरीकृत परीक्षा, नवप्रवर्तन, अनुसन्धान, युवा परिचालन आदि विषयमा अनुभव आदानप्रदान र सहकार्य बढाउने सकिने बताइएको हो । अध्यक्ष जेरीले सामुदाय र नागरिक क्षेत्रको सहकार्यका आधारमा शिक्षाको स्तरलाई माथि उठाउन र उच्च शिक्षाका क्षेत्रमा पनि नयाँ नयाँ सम्भावना खोज्न सकिने बताए । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले विद्यालय शिक्षालाई कुन ढाँचामा सञ्चालन गर्दा गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्नेबारेमा समितिले विद्यालय शिक्षा विधेयकमाथि छलफल गरिरहेको जानकारी दिए । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले विदेशी विद्यार्थीका लागि समेत आफूहरुले छात्रवृत्ति दिएको जानकारी दिँदै नेपाललाई शैक्षिक हब बनाउन प्रयास भइरहेको जनाए । सङ्घीय संसद्, सचिवालयका सचिव डा रोजनाथ पाण्डेले सचिवालयले पुस्तकालयलाई व्यवस्थित बनाउन र स्रोत केन्द्र सञ्चालन गर्न तयारी गरिरहेको अवगत गराए । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालले नेपालमा उत्कृष्ट उच्च शिक्षा दिलाउन यहाँका कलेज सक्षम रहेको स्पष्ट गर्दै विदेशका अशल अभ्यासलाई अनुशरण गरिने बताए । रासस

ठूला बिजनेस ग्रुप कलेजमै, विद्यार्थीलाई पढ्दा पढ्दै काम

काठमाडौं । हातमा केही कागजात बोकेका विद्यार्थी लाईनबद्ध छन् । कोही अन्तर्वार्ता दिँदै गरेका त कोही लाइनमा बसिरहेका । अन्तर्वार्ता दिइसकेका विद्यार्थी अर्को साथीसँग अनुभव सेयर गर्दै छन् । माहोल अनौठो थियो । कलेज भित्र विभिन्न स्टल, हरेक स्टलभित्र विद्यार्थीको परीक्षा हुँदै थियो । त्यो परीक्षा कक्षा पास गरेर अर्को कक्षा जान होइन कि विद्यार्थीले आफ्नो भविष्य बनाउने जागिरको थियो । त्यो दृश्य बुधबार दिउँसो तिनकुनेको गैरीगाउँमा रहेको आईएसएमटी कलेजको हो । कलेजले आयोजना गरेको ‘आईएसएमटी जबफेर २०२४’ मा विद्यार्थीले काम र कम्पनीले कामदार खोजिरहेका थिए । हातमा डिग्रीको सर्टिफिकेट हुँदा पनि जागिर पाइँदैन, तपाईं हामी सबैले देखेकोे, भोग्दै आएकै कुरा हो । जागिर नपाएकै कारण दिनहुँ नेपाली युवा परदेश जान विवश छन् । ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएर विदेशमा काम गर्न जाने विद्यार्थीको पनि लर्को छ । तर, कतिपय यस्ता कलेज छन्, जहाँ पढेका विद्यार्थीहरूका लागि स्वदेशमै जागिरको अवसरको खोजी हुन्छ । काठमाडौंको तीनकुनेमा रहेको आईएसएमटी कलेजले बीबीए, बीएचएम, एसएससी आईटी र बीएससी पढेका विद्यार्थीका लागि नेपालका विभिन्न कम्पन्नीसँग समन्वय गरेर विद्यार्थीहरूलाई काम गर्ने अवसर सिर्जना गर्ने गर्छ । त्यसका लागि कलेजले प्रत्येक वर्षमा दुई पटक ‘आईएसएमटी जबफेयर’ गर्ने गर्छ । गुल्मीका युवराज कँडेल मंगलबार रातभर बसको यात्रा गर्दै बुधबार बिहान ४ बजे काठमाडौं आइपुगे । बिहान काठमाडौंमै रहेका उनी आफन्त कहाँ झोला बिसाउँदै सिधै आईएसएमटी कलेज पुगे । जहाँ ‘आईएसएमटी जबफेयर २०२४’ चलिरहेको थियो । युवराज कँडेल, विद्यार्थी । ‘आज अन्तर्वार्ता, जसरी पुग्नै थियो, राती बस चढेर अहिले बल्ल अन्तर्वार्ता दिएँ,’ जब फेयरमा भटिएका युवराजले भने । युवराज आईएसएमटीको बुटवल ब्रान्चमा बीएचएम तेस्रो वर्षमा अध्ययनरत छन् । उनले कामका लागि सिप्रदी अटोमोबाइल्स कम्पनी, फुडमाण्डू र एयरलाइन्सको जागिरका लागि अन्तार्वार्ता दिएका छन् । उनी सर्टलिस्टमा परेको पनि जानकारी गराइएको छ । ‘म पहिल्यै कामको खोजिमा थिएँ किनकि कमाउँदै पढ्दै गर्नु सकुँ भन्ने चाहना छ, आफ्नै कलेजले थप सहयोग गर्दा खुसी छु, ‘सायद जागिर नै पाउँछु, नभए पनि एउटा अनुभव हुन्छ, हामीले कलेजमै यस्तो सुविधा पाउनु नै ठूलो कुरा हो,’ उनले विकासन्युजसँग भने । नेपालका अधिकांश कलेज विद्यार्थीलाई पढेको प्रमाणपत्र दिन बाहेकेको काममा सक्रिय देखिँदैनन् । तर, आईएसएमटीले आफ्नो कलेजमा पढेका हरेक संकायका विद्यार्थीका लागि पढाइसँगै प्रयोगात्मक पनि गर्ने गर्छ । विद्यार्थी जुन विषयमा पढेको हुन्छ, त्यही विषयमा काम गर्न सहजहोस् भन्ने उद्देश्यले कलेजले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सुनसरीका सचिन निरौला बिएससीआईटी दोस्रो सेमेस्टरमा अध्ययन गर्दैछन् । उनलाई पनि पढ्दै काम गर्न मन छ । ‘काम गर्दै पढ्दा दोहोरो फाइदा हुन्छ, एउटा त पढेको विषयलाई व्यवहारमा उतार्न सकिन्छ, अर्को काम गर्दा थप अनुभव हुन्छ, त्यसले पढाइमा पनि फाइदा हुन्छ,’ उनले भने । सचिन निरौला, विद्यार्थी । उनले पनि वल्र्डलिंक र बज्र टेक्नोलोजीमा अन्तर्वार्ता दिएर सर्टलिस्टमा परेका छन् । लोकन्थलीमा दाइसँगै बस्दै आएका सचिन बिहान कलेजमा पढ्ने र दिउँसो काम गर्ने योजना बनाइरहेका छन् । यसले आफूलाई टेवा पुग्ने उनको भनाइ छ । उनी कलेजले सर्टिफिकेटमात्र नभई विद्यार्थीलाई कामको अवसर पनि दिने भन्दै खुसी व्यक्त गर्छन् । आईएसएमटी कलेजका बिजनेश डेभलपमेन्ट हेड बासुदेव वस्ती यस्ता कार्यक्रमले विद्यार्थीलाई जागिर खोज्न र बजार धाउन नपर्ने मात्र नभइ भविष्य बनाउन पनि सहज हुने बताउँछन् । ‘कलेजले विद्यार्थीको लागि डिग्रीको सर्टिफिकेट मात्र नभई उनीहरूले अध्ययन गरेको पाठ्यक्रमका आधारमा जागिर खोज्ने ठाउँ पनि खोजी दिन्छ, यस्ता कार्यक्रमले विद्यार्थीलाई जागिर खोज्न बजारमा विभिन्न कम्पनी खोज्न तथा धाउन पर्दैन, कलेजले यस्ता कम्पनीको खोजी गरी समन्वय गरिदिन्छ,’ उनी भन्छन्, ‘यसले विद्यार्थीलाई ठूलो टेवा पुग्छ ।’ कलेजले सञ्चालन गरेको कार्यक्रममा सौरभ ग्रुप, सिप्रदी, बज्र टेक्नोलोजी, मेरियट होटेल जस्ता विभिन्न २१ वटा कम्पनीले आ–आफ्नो स्टल राखेर आवेदन दिएका विद्यार्थीसँग अन्तर्वार्ता लिएका छन् । जसमा आईएसएमटी कलेजका २५० वटा विद्यार्थी सहभागी भएका छन् । बासुदेव वस्ती, बिजनेश डेभलपमेन्ट हेड, आईएसएमटी कलेज । ‘कम्पनीका प्रतिनिधि कलेजमा आएर विद्यार्थीको क्षमता हेर्दै लिस्ट बनाउँदै अन्तर्वार्ता लिएका छन्,’ उनी भन्छन्, ‘कतिपय कम्पनीले आफ्नो आवश्यकताअनुसार आजै अन द स्पोर्ट नै सेलेक्ट गर्नुहुन्छ, कतिलाई सर्टलिस्ट गरेर फाइनलका लागि कम्पनीमै बोलाउने कुरा गरेको छ ।’ कलेजले हरेक वर्षको दुई पटक कलेजमा जबफेयर कार्यक्रम गर्ने गर्छ । सिप्रदी कम्पनीका आकर्षण महर्जन आईएसएमटी कलेजले आयोजना गर्ने यस्ता कार्यक्रमले कम्पनीलाई पनि फाइदा हुने बताउँछन् । उनी भन्छन्, ‘यसो गर्दा कम्पनीले पनि खोजेजस्तो मान्छे पाउँछ र विद्यार्थीलाई पनि सजिलो हुन्छ । ’ ‘राम्रो विद्यार्थीले पनि नेपालमा रोजगार नपाउँदा विदेसिनु परेको छ, दक्ष र क्षमतावान हुँदा पनि अवसर नपाइ विद्यार्थीले विदेश जान नपरोस, नेपालमा पनि अवसर छ भन्ने सन्देश दिन पनि यस्ता कार्यक्रमले सघाउ पुग्छ,’ उनले भने ।

महोत्तरीमा चिसो बढेपछि विद्यालय बन्द

जलेश्वर । महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् । जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् । जिल्ला शिक्षा तथा समन्वय एकाइ महोत्तरीका प्रमुख राजदेव यादवले चिसोबाट जनजीवन प्रभावित हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरेको बताए । उनका अनुसार बर्खे बिदाबाट कट्टा हुनेगरी चारदेखि आठ दिनसम्मका लागि विद्यालय बन्द भएका हुन् । रासस