नेपाल बैंकर्स संघ र काठमाडौं विश्वविद्यालयबीच सम्झौता
काठमाडौं । नेपाल बैंकर्स संघ तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल केसी र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा. विजय केसीले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार दुई पक्षले मुख्यतस् आर्थिक तथा वित्तीय विषयहरूमा संयुक्त अध्ययन र तथ्यांकमा आधारित अनुसन्धान मार्फत नीतिगत सुधारका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउनुका साथै विभिन्न क्षेत्रमा सहकार्य गर्दै विविध कार्यक्रमहरुको माध्यमबाट अगाडि बढ्ने लक्ष्य लिइएको छ । साथै, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक सिकाइलाई थप सहयोग गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्न इन्टर्नशिप अवसरको लागि पनि सहकार्य गरिनेछ । यस सहकार्यले विश्वविद्यालय र संघको ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदान गर्दै समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ । बैंकहरुबीच आपसी समन्वय स्थापना गरी स्वस्थ प्रतिस्पर्धा विकास गर्न, बैंकसंग सम्बन्धित नीति तथा पद्धतिमा एकरुपता कायम गर्न, एउटा साझा संस्थाको रुपमा नेपाल बैंकर्स संघको स्थापना भएको हो । त्यसैगरी, काठमाडौ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट देशमा उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै, अध्ययन र अनुसन्धान मार्फत शैक्षिक उद्यमको वृद्धि र विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको कम्पनीले जनाएको छ ।
त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन
कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन सेवामा प्रवेश गरेको हो । विश्वविद्यालयका कार्यवाहक उपकुलति शिवलाल भुसालले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटरमा क्लिक गरी सेवाको शुभारम्भ गरेका थिए । उद्घाटनपछि उनले परीक्षाका सबै कार्यलाई अनलाइनमार्फत गर्ने विश्वविद्यालयको अभियान आज सुरु भएको र यो सफलतामा पुग्ने विश्वास व्यक्त गरे । यसअघि प्रमाणपत्र प्राप्त गर्न बल्खुस्थित कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो । अनलाइन सेवा प्रारम्भ भएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योग र प्रमाणपत्र सच्याउनेजस्ता कार्यका लाग घरैबाट अनलाइन निवेदन दिन सक्नेछन् । सोका लागि विद्यार्थीले आफ्नै कम्प्युटरबाट www.tuexam.edu.np मा लग इन गरी तोकिएको प्रमाण संलग्न गर्ने र नेपाल बैंक वा ग्लोबल आइएमइ बैंकमा तोकिएअनुसारको शुल्क तिरेर निवेदन दिनसक्ने जानकारी कार्यक्रममा दिइयो । चौबिसैँ घन्टा चल्ने सो प्रणालीमा निवेदन दिएपछि विद्यार्थीको उक्त निवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी कार्यालय समयभित्र विद्यार्थीले पाउनेछन् । उनका अनुसार अस्वीकृत भएमा त्यसको कारणसमेत खुलाइ सच्याएर वा नपुग विवरण राखेर पुनःआवेदन गर्नसमेत विद्यार्थीलाई आग्रह गरिनेछ । यसरी दिइएको निवेदनमा सबै प्रमाण पुगेको वा मिलेको छ भने निवेदन दिएको एक साताभित्र प्रमाणपत्र तयार हुने छ । यसरी तयार भएको प्रमाणपत्र लिन सम्बन्धित परीक्षार्थी उपत्यकाको हकमा परीक्षा नियन्त्रण कार्यालय बल्खुमै जानुपर्नेछ । उपत्यका बाहिरका विद्यार्थीले भने प्रमाणपत्र लिनका लागि सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालय जानुपर्ने हुन्छ । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार परीक्षाका जुनसुकै कामका लागि पनि बल्खु नै जानुपर्ने अवस्थाको अन्त्य गरी समयअनुसार त्रिविका शैक्षिक क्यालेन्डरलाई व्यवस्थित गर्न अनलाइन सेवा सुरु गरिएको हो । आगामी दिनमा प्रमाणपत्र वितरणलगायत सबै कार्य अनलाइनमै गर्ने गरी तयारी भइरहेको पनि परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । कार्यालयले अबको करिब एक महिना अनलाइन र आफैँ बल्खु आएर निवेदन दिनेगरी दुईवटै प्रणाली राखिने जानकारी पनि उनले दिए । अनलाइन सेवा चलाउनका लागि अझै पनि कार्यलयले दक्ष र पर्याप्त जनशक्तिको अभाव भोग्नुपरेकोसमेत उनले बताए। दोस्रो चरणदेखि यस्ता प्रमाणपत्र सम्बन्धित क्याम्पसबाट विद्यार्थीले पाउने जानकारी कार्यक्रममा दिइयो । ‘फागुन १ गतेदेखि यसलाई पूर्णतः अनलाइन प्रणालीमा लगिनेछ’, उनले भने । अनलाइन सेवामा २०५४ सालपछिका प्रमाणपत्रको काममात्र समेट्ने जानकारी परीक्षा नियन्त्रक जोशीले दिए । त्यसभन्दाअघिका प्रमाणपत्र कम्प्युटर अभिलेखमा नरहेका कारण त्यसअघि परीक्षा दिएकाहरुले प्रमाणपत्रसम्बन्धी सेवा लिन बल्खु नै पुग्नुपर्ने उनले जानकारी दिए । यद्यपि यस्ता सेवाग्राही अत्यन्त थोरै सङ्ख्या महिनामा एक/दुई जना आउने गरेको उनले बताए । परीक्षा सुधारको मागसहित आन्दोलनरत त्रिविका विद्यार्थी नेताले त्रिविको यस कार्यलाई सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । त्रिवि स्ववियुका उपसभापति अनोज कार्कीले आफूहरुको १० सूत्रीय मागमध्येको एउटा महत्वपूर्ण माग पूरा भएको बताए । रासस
नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।’ उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि विद्यार्थी आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताए । आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए । उनले भने, ‘प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको छ ।’ देश र जनतालाई अप्ठ्यारो परेको अवस्थामा प्रतिष्ठानले महत्त्पूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘कोभिड महामारीको त्रासदीपूर्ण परिस्थितिमा होस् वा हालैको भूकम्प, प्रतिष्ठानले पूर्ण जिम्मेवारीबोधका साथ पूर्वतयारी, आवश्यक सतर्कता, उद्धार र उपचारका क्षेत्रमा निकै महत्त्वपूर्ण काम गरेको छ ।’ आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको बताउँदै प्रधानमन्त्री दाहालले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । पछिल्ला वर्षहरूमा प्रतिष्ठानले उल्लेख्य प्रगति गरेको आफूले अनुभूत गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नवप्रवर्तनमा आधारित अध्ययन, अनुसन्धान र आविष्कारमा प्रतिष्ठानले गम्भीरतापूर्वक पहल लिने विश्वास व्यक्त गरे । कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ प्रधानमन्त्री दाहालले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताए । प्रतिष्ठानको सभालाई सम्बोधन गर्दै उनले भने, ‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।’ प्रधानमन्त्रीले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्नसमेत प्रतिष्ठानलाई निर्देशन दिए । साधनस्रोतको अभावका बीचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे । उनले भने, ‘बाटोघाटोको असुविधा, दक्ष चिकित्सक र प्राविधिकको अभाव, अन्य साधनस्रोतको अभावजस्ता समस्या छन्, जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ । आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारको तर्फबाट उचित पहल हुनेछ ।’ चिकित्सक, प्राविधिक र कर्मचारीको वृत्तिविकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरूका मागहरू क्रमशः सम्बोधन गर्दै जाने विश्वास दिलाउँछु ।’ रासस