पोखरामा सरकारी सुविधाको रकमबाट खुल्यो अक्षयकोष, विद्यालय खोल्न सहयोग पुग्ने
गण्डकी । सरकारी सेवासुविधाबाट प्राप्त रकमले पोखरा महानगरपालिका वडा नं १७ का वडा सदस्य शिवराम भण्डारीले जानकी मावि महतगौडामा अक्षयकोष स्थापनाको घोषणा गरेका छन् । विद्यालयको ४६औँ वार्षिकोत्सव कार्यक्रममा उनले बुवा धर्मदत्त र आमा जमुना भण्डारीको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । निर्वाचित भएदेखि २०८१ असारसम्म २४ महिनामा प्राप्त गर्ने सेवासुविधा र बाँकी निजी रकम थप गरी स्थापना गरिएको अक्षयकोषबाट प्राप्त ब्याजले विद्यालय सञ्चालानार्थ सहयोग पुग्ने भण्डारीले बताए । छात्रवृत्तिको अक्षयकोष धेरै भए विद्यालय सञ्चालनमा दिनप्रतिदिन देखिएको चुनौती समाधानका लागि केही हदसम्म भए पनि आफ्नोतर्फबाट पहल गरेको बताउँदै उनले यस विद्यालयका पूर्वविद्यार्थीबाट पनि सहयोग रहने विश्वास व्यक्त गरे । वार्षिकोत्सव कार्यक्रममा सहभागी अतिथि एवं अभिभावकले पनि विद्यालयका लागि स्वःस्फुर्त आर्थिक सहयोग गरेका थिए । सो अवसरमा ८० हजार रुपैयाँ सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिए । उनका अनुसार सुविधासम्पन्न भवन र खेलमैदानसमेत रहेको विद्यालयमा हाल तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । रासस
टेक्सास साइन्स एण्ड आइटी एक्सपो २०८० सुरु
काठमाडौं । चाबहिलमा रहेको टेक्सास कलेजले ‘टेक्सास साइन्स एण्ड आइटी एक्सपो २०८०’ सुरु गरेको छ । एक्स्पोमा कलेजमा अध्ययनरत विद्यार्थीले आफुले अध्ययन गरेको विषयमा प्रदर्शनी गरेका छन् । कलेजमा विज्ञान, आइटी तथा रोबोटिक्स अध्ययन गरेका विद्यार्थीले ६० भन्दा बढी स्टलहरू राखेर आफुले बनाएका सामाग्री प्रदर्शन गरेका छन् । वर्षभरी कक्षा कोठामा अध्ययन गरेको विषयलाई प्रयोगात्मक तरिकाले प्रदर्शनी गर्दा थप सिकाई हुने विद्यार्थीहरू बताउँछन् । कलेजमा हुने यस्ता कार्यक्रमले विद्यार्थीले गुणस्तरिय शिक्षा पाउने कलेजका शिक्षकहरूले विश्वास गरेका छन् । सोमबारदेखि सुरुभएको कार्यक्रम बुधबारसम्म जारी रहने छ ।
त्रिविको वेबसाइट ‘ह्याक’ बारे छानबिन गर्न तीन सदस्यीय समिति गठन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ‘ह्याक’ भएको विषयमा अध्ययन गर्न छानबिन समिति गठन भएको छ । गत शुक्रबार नै इन्जिनियरिङ अध्ययन संस्थान (आईओएम) का डिन प्रा.डा. शशीधर राम जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । त्रिविका निमित्त रजिष्ट्रार कृष्णप्रसाद बस्यालका अनुसार उक्त संगठित समितिलाई १५ दिनको समय दिइएको छ । यससँगै उक्त समितिले वेबसाइट ह्याक हुनुको कारण, ह्याक हुन नदिने उपाय र चुनौतीको विषयमा सुझावसहित प्रतिवेदन पेश गर्ने उनले जानकारी गराए । त्रिुभवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीका प्रमाणपत्रहरु अनलाइनबाटै दिने निर्णय गरी गत माघ १५ गतेबाट सेवा सुरु गरेको थियो । तर सेवा सुरु पहिलो दिनमै वेबसाइट ह्याक भएको थियो । जुन हालसम्म सञ्चालन हुन सकेको छैन । ‘यस विषयमा ह्याकर’ रोहित रोकायाले वेबसाइटमा ‘बग’ भेटिएकोले सचेत गराउनका लागि तथ्यांकलाई असर नगरी ‘ह्याक’ गरेको बताउँदै आएका छन् ।