मार्कसिटमा ‘स्टारै स्टार’, शैक्षिक उद्यममा राज
काठमाडौं । अहिले विश्व आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)मा प्रवेश गरिसकेको छ । मान्छेले भन्दा धेरै काम प्रविधिले गरिरहेको छ । तर, नेपालमा भने अझैं विद्यालय वा कलेज जाँदा झोलाभरि किताब बोकेर जानु पर्ने बाध्यता छ । नेपालको घोकन्ते शिक्षा प्रणालीले विद्यार्थीहरूलाई विद्यालयप्रतिको आकर्षण घटाइरहेको छ । बेलाबखत यो शिक्षा प्रणालीको वहस पनि हुन थालेको छ । तर, उही घोकन्ते प्रणालीमा नेपालका विद्यालय, कलेजहरू सञ्चालन भइरहेका छन् । नेपालको शिक्षा प्रणाली काम नलाग्ने भन्दै अहिले धेरै विद्यालय, कलेजहरू अन्तर्राष्ट्रिय अथवा विदेशबाट मान्यता लिएर सञ्चालनमा आइरहेका छन् । दशकौ पुरानो ‘करिकुलम’मा आधारित शिक्षाभन्दा प्राविधिक शिक्षामा जोडदिनुपर्छ भनेर पनि वहस भइरहेको छ । यो वहसका बिचमा विगत केही वर्ष यता नेपाली शिक्षा क्षेत्रलाई विज्ञान प्रविधिसँग जोड्ने उद्देश्यका साथ इनोभेटिभ नेपाल ग्रुप (आईएनजी)ले चर्चा पाइरहेको छ । व्यावसायिक शिक्षालाई जोड दिएर काम गरिरहेको आईएनजी ग्रपले सूचना प्रविधि र व्यवसायसँग सम्बन्धित विषयमा विद्यार्थीलाई शिक्षा दिइरहेको छ । नेपाली विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सघाउ पु¥याउने र पढ्दै काम गर्न सक्ने बनाउने उद्देश्यले नेपाली शिक्षामा (आईएनजी)ले आईटी र बिजनेस सम्बन्धिका कार्यक्रम सञ्चालन गरेर विद्यार्थीहरू माझ लोकप्रिय बनिरहेको छ । लन्डन मेट्रोपोलिटन युनिभर्सिटी र वोल्भरह्याम्प्टन विश्वविद्यालयबाट सम्बन्धन लिई आईएनजीले शिक्षा क्षेत्रमा राज गरेको छ भन्दा फरक नपर्ला । विद्यार्थीलाई घोकन्ते शिक्षामा ढाल्ने भन्दा पनि सिक्दै काम गर्ने वातावरणको सिर्जना आईएनजी ग्रुपले गरेको छ । नेपालका अन्य कलेजमा विद्यार्थीको समस्या भइरहेका बेला आईएनजीले सञ्चालन गरेका कलेजमा भने विद्यार्थीको संख्या भरिभराउ छ । के हो आईएनजी ? इनोभेट नेपाल ग्रुप (आईएनजी) एक लगानी होल्डिङ कम्पनी हो । यसले नेपालमा अन्तर्राष्ट्रियस्तरको स्नातक र स्नातकोत्तर तहको आईटी र बिजनेसका पाठ्यक्रम निर्माण गरी अध्ययन गराउने गरेको छ । यो व्यावसायिक समूहले आफूलाई अन्तर्राष्ट्रिय कलेजहरूको सञ्जालमा नेपालको ठूलो ग्रुपका रूपमा चिनाइरहेको छ । नेपालमा सन १९९६मा स्थापना भएको यस कम्पनीका कार्यकारी अध्यक्ष सुलभ बुढाथोकी हुन् । उनलाई सरकारले सन् २०१४ मा नेपालमा उच्च शिक्षाको सुधारको लागि काम गरेको भन्दै सम्मान पनि गरेको थियो । त्यसपछि उनले काठमाडौंको कमल पाखेरीमा ईस्लिङटन कलेजको स्थापना गरेका थिए । ईस्लिङटन कलेजबाट सुरु गरेको आईएनजीको शैक्षिक यात्रा अहिले देशभर फैलिएको छ । अहिले आईएनजीले काठमाडौंमा हेराल्ड कलेज र ईस्लिङटन कलेज, विराटनगर इन्टरनेसनल कलेज, पोखरामा इन्फरमेटिक्स कलेज, इटहरी इन्टरनेशनल कलेज सञ्चालन गरिरहेको छ भने अन्य धेरै कलेजसँग सेयर साझेदारकारूपमा पनि काम गरिरहेको छ । हेराल्ड कलेज आईएनजीले सञ्चालन गरेको हेराल्ड कलेज काठमाडौंकोे नक्सालमा रहेको छ । यो कलेज सन् २००० मा स्थापना भएको कलेज हो । यस कलेजले बेलायतको उल्भरह्याम्टन विश्वविद्यालयबाट ब्याचलर्स डिग्री कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कलेजले विद्यार्थीका अन्तर्राष्ट्रियस्तरको शिक्षा दिरहेको छ । हेराल्ड कलेज काठमाडौंले इम्फरमेशन टेक्नोलोजीतर्फ विश्व बजारलाई सुहाउने गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ । यसले ब्याचलर इन इन्फरमेशन टेक्नोलोजी अन्तर्गत कम्प्युटर साइन्स, आधुनिक कम्प्युटर भाषा, उपकरण, प्रविधि र विधिसँग विद्यार्थीलाई जोड्ने गरेको छ । ईस्लिङटन कलेज यो कलेज काठमाडौंको कमलपोखरीमा छ । सन् १९९६ मा खुलेको ईस्लिङटन कलेजले आईटी शिक्षाको क्षेत्रमा नेपालकै अग्रणी भूमिका खेलेको छ । बेलायतको लन्डन मेट्रोपोलिटन कलेजसँग सिधै सम्झौता गर्ने यो नेपालको पहिलो कलेज हो । इस्लिङटन अन्तर्राष्ट्रिय डिग्री दिने कलेजको समूहमा फरक पहिचान बोकेको छ । यो कलेजले आईटी तर्फ बीएससी कम्प्युटिङ, ब्याचलर्स इन कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी, ब्याचलर्स इन मल्टिमिडिया टेक्नोलोजी, ब्याचलर्स इन मोबाईल एप्लिकेशन डेभलपमेन्ट, ब्याचलर्स इन कम्प्युटिङ विथ आर्टिफिसियल इन्टिलिजियन्सको अध्यापन गर्दै आएको छ । विराटनगर इन्टरनेशनल कलेज मेरिल्याण्ड कलेजको नाममा परिचित यो कलेज अहिले विराटनगर इन्टरनेशनल नामका रुपमा परिचित छ । विगत केही वर्ष यता इनोभेट नेपाल ग्रुप आईएनजीले खरिद गरेर नाम परिवर्तन गरेको हो । त्यहाँ अहिले बिए (अनर्स) इन्टरनेशनल हस्पिटालिटि म्यानेजमेन्ट, मास्टर्स इन इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र बिएसी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष पढइन्छ । इन्फरमेटिक्स कलेज पोखरा आईएनजीले सञ्चालन गरेको अर्को कलेज हो इन्फरमेटिक्स कलेज । यो पोखरमा छ । सन् २०११ मा स्थापना भएको कलेजले सन् २०१७ देखि इन्फर्मेटिक्स कलेज पोखराले पोखराका विद्यार्थीहरूलाई सुलभ मूल्यमा आईटी र व्यवसायमा उच्च शिक्षा प्रदान गरिरहेको छ । लन्डन मेट्रोपोलिटन युनिभर्सिटी, युकेसँग प्रत्यक्ष साझेदारी गर्दै आएको छ । इटहरी इन्टरनेशनल कलेज बेलायतको लन्डन मेट्रोपोलिटिन विश्वविद्यालयको समबन्धनमा केही वर्षदेखि इटहरी इन्टरनेशनल कलेज सञ्चालनमा आएको छ । मोरङको सुन्दर हरैंचामा संचालनमा आएको इटहरी इन्टरनेशनल कलेज पनि आईएनजीमा आवद्ध छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री म्यानेजमेन्ट अन्तर्गत बिबिए डिग्री र बिअईटि डिग्री सर्वशुलभ शुल्कमा अन्तर्राष्ट्रिय स्तरमा नै पढाइ हुँदै आएको छ । कस्तो हुन्छ पढाइ ? आईएनजीले विशेषगरी आईटी र व्यवसाय लगायत सूचना प्रविधिलाई जोड दिन्छ । समय सापेक्षा अनुरूप शिक्षा, र शिक्षण सिकाइमा परिवर्तन गर्ने उद्देश्यले नेपालमा उदय भएको आईएनजीले नेपाली विद्यार्थी, नेपाली बजारमा मात्र नभई विश्वबजारमा प्रतिसपर्धा गर्न सक्ने गरी शिक्षा दिरहेको दाबी गरेको छ । अबको समय विज्ञान र प्रविधिको हो । सैद्धान्तिक कुरामा अब सायदै अरुको चासो जान्छ । त्यसैले प्रविधि र कम्प्युटर अनि सूचना प्रविधिका बारेमा जानकारी राख्न पनि आईटी पढ्न आवश्यक रहेको आईएनजीको दाबी छ । अहिलेको विद्यार्थी धेरै अगाडि छन्, उनीहरू खुसी र सफलता चाहन्छन् । आईएनजीका कार्यकारी अध्यक्ष सुलभ बुढाथोकी विद्यार्थीको रोजाइलाई ध्यान दिँदै शिक्षा प्रदान गर्दै आएको बताउँछन् । बुढाथोकी सैद्दान्तिकभन्दा पनि व्यवहारिक शिक्षामा कलेजले जोड दिइरहेको सुनाउँछन् । ब्याचलर्स इन कम्पियुटिङ, ब्याचलर इन कम्पयुटर नेटवर्किङ एण्ड साइबर सिक्युरेटी, ब्याचलर्स इन मल्टिमिडिया टेक्नोलोजि, इन्टरनेश्नल बिजनेस र डिजिटल बिजनेस म्यानेजमेन्ट लगायतका विषयहरू यी कलेजहरूमान पढाइ हुन्छ । उनले काब्या स्कूल पनि सञ्चालन गर्दै आएका छन् । कमजोर विद्यार्थी, उद्यममा राज काठमाडौंमा जन्मे हुर्केका सुलभ बुढाथोकी नेपालकै एउटा इन्स्टिच्युटमा पढाउँथे । उनी २३ वर्षअघि भारतबाट ओरेकल सर्टिफिकेसन सकेर नेपाल फर्के । भारतबाट फर्केपछि उनी अमेरिका जाने योजनामा थिए । उनलाई अमेरिका जानुभन्दा पहिले आफूले काम गरेको संस्थामा जान मन लाग्यो । त्यहाँ जाँदा त्यो संस्था लिलामी अवस्थामा थियो । त्यहाँ काम गर्ने कर्मचारी, त्यहाँका पढ्ने विद्यार्थी सबैको मुखमा उनले निराशा देखे । आफूले काम गरेको, पढाएको संस्था बन्द हुन लागेको देख्दा उनलाई अमेरिका जान मन लागेन । यस्तो अवस्था देख्दा पनि आफू बाहिर गए मैले भाग्न खोजेको जस्तो हुन्छ भन्दै उनले अमेरिकाको यात्रा रोके । त्यसपछि उनलाई लाग्यो, ‘अब मैले नेपाल छोडेर जान हुँदैन, बरु नेपालमै केही गर्नुपर्छ ।’ उनलाई शिक्षामा केही नयाँ काम गर्न मन लाग्यो । उनलाई त्यही बेला आएको त्यो जोशले नै अहिले यहाँसम्म पु¥याएको उनी सुनाउँछन् । २३ वर्ष अगाडि सुरु गरेको त्यो झिल्कोले आज यहाँ सम्म पुगेको उनको भनाइ छ । अहिले उनले सुरू गरेको आईएनजी शिक्षा कार्यक्रममा विभिन्न कलेजमा करिब ९ हजार विद्यार्थी उच्च शिक्षामा अध्ययन गरिरहेका छन् भने करिब १ हजार ७ सय कमचारी छन् । शिक्षा क्षेत्रमा अहिले पनि ठूलो खाडल रहेको उनी बताउँछन् । जहाँ चुनौत छ त्यहाँ अवसर पनि छ । शिक्षा क्षेत्रमा देखिएको गहिरो खाडल पुर्न आफू लागि परेको उनी सुनाउँछन् । सुलभ विद्यालय पढ्दा कनीकुथी पास हुन्थे । उनलाई अहिले पनि स्कुलका शिक्षक सम्झदा लठ्ठीको मात्र याद आउँछ । कक्षा १० सम्म उनी कमजोर विद्यार्थी थिए । टेस्टमा उनी बल्ल पास भए । एसएलसी दिने बेला आउँदा उनलाई लाग्यो अब मैले पढाइमा ध्यान दिएन भने मैले केही गर्न सक्दैन । उनले तीन महिना यसरी पढेकी एसएलसीमा उनको गाउँबाट फस्र्ट डिभिजन्मा पास हुने उनी मात्र भए । उनले त्यसपछि आफ्नो क्षमता चिने । उनलाई आफ्नो स्कुलताका दिन सम्झदा अहिले पनि स्कुल पढ्ने विद्यार्थी देख्दा आफ्नो विगत जस्तै बितिरहेको होला भन्ने लाग्छ । जहाँ उनलाई लठ्ठी र तर्सिएर घोकेर ठोकेर पढ्नुप¥यो । हरेक बच्चा जन्मदा उत्तिकै सम्भावना लिएर जन्मन्छ । कुनै पनि बच्चामा केही न केही सम्भावना हुन्छ । तर, नेपालको शैक्षिक प्रणालीले बच्चाको सम्भावना नै गुमाइदिएको उनी बताउँछन् । ‘पढाइ भनेको यो हो, यति नम्बर ल्याएपछि पास हुन्छ, अरूले लेखेको कुरालाई घोकेर कन्ठ गर्नुपर्ने बाध्यता छ, यसको अन्त्य गर्नुपर्छ,’ उनी भन्छन् । ‘नेपालको शिक्षा प्रणालीले को बच्चा कमजोर, को बच्चा ट्यालेन्ट भनेर छुट्याएको छ,’ उनी भन्छन्, ‘मलाई पनि नेपालको शिक्षाले असक्षम होस् भनेर फेलरको रूपमा राखेको हो । तर, मैले यसलाई चुनौती दिएको छु ।’ अहिले ब्याचलर्समा फेल हुँदा ट्रान्सकिप्टमा तारा राखिन्छ । यस्ता तारा सुलभका सर्टिफिकेटमा धेरै छन् । ‘मेरो ब्याचलर्सको ट्रान्सकिप्टमा विषय भन्दा बढी तारा छन्,’ उनी भन्छन्, ‘तिमी असक्षम छौ भनेर एउटा धब्बा नेपालको शिक्षाले लगाइदिन्छ, म पनि त्यही धब्बा लागेको विद्यार्थी हुँ, यही प्रणालीलाई अन्त्य गर्न नेपालमा अब नयाँ त्यसमा पनि विद्यार्थीले आफ्नो क्षमता चिनेर पढ्ने कोर्स सुरु गरेका छौं ।’ नेपालको शिक्षा प्रणालीले असफल भनेर प्रमाणित गरेका विद्यार्थीहरूलाई आईएनजीले सक्षम छन् भन्ने प्रमाण गरेको उनको भनाइ छ ।
भर्ना अभियान सुरु हुनुअगावै पाठ्यपुस्तक पुर्याउने तयारी
भक्तपुर । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने भएको छ । यसका लागि केन्द्रले चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सकेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका केन्द्रको नौवटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि पुस्तक वितरण सुरु गर्ने भएको छ । केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले भने, ‘हामीले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै ९५ प्रतिशत पाठ्यपुस्तक छपाइ सकेका छौँ, गत चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक पनि छपाइ सक्छौँ, चैत १५ गतेदेखि नै पुस्तक वितरण सुरु गर्नेछौँ, शैक्षिक सत्र सुरु हुँदासम्म पूरै सेटमा सबै कक्षाका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउँछौँ ।’ केन्द्रले अहिले २४ सैँ घन्टा छापाखाना सञ्चालन गरेर दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेको छ । आउँदो शैक्षिक सत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ५७ लाख थान पाठ्यपुस्तक छपाइ सकेको र बाँकी १८ लाख थान पुस्तक १४ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने प्रबन्ध निर्देशक झाले बताए । उनले पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखेको र पुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन, २४ सैँ घन्टा चलिरहेको जानकारी दिए । पुस्तक वितरण भने पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा र अन्तमा उपत्यकामा गरिने भएको छ । केन्द्रबाहेक उपत्यका बाहिरका नौवटा प्रादेशिक कार्यालय एवं वितरण केन्द्रबाट बिहानदेखि बेलुकासम्म पुस्तक वितरण गरिने प्रबन्ध निर्देशक झाले बताए । छपाइ सकिएका पुस्तक सातैवटै प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पुर्याउने काम भइरहेको छ । उनले यस वर्षको भर्ना अभियान सुरु हुन अगाडिनै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन सक्ने बताए । प्रबन्ध निर्देशक झाले भने ‘गत वर्षजस्तै यस वर्ष पनि कुनै पनि कक्षाको कुनै पनि विषयको पुस्तक अभाव हुन नदिने र गत वर्षजस्तै सेटमै पुस्तक उपलब्ध गराउने छौँ, कुनै पनि पुस्तक यस वर्ष पनि अधाव हुँदैन ।’ केन्द्रले आउँदो शैक्षिक सत्रका लागि ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । चालु शैक्षिक सत्रका लागि गत वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो । केन्द्रका प्रबन्ध निर्देशक झाले भने कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिन सरकारसँग माग गरेको भएपनि कक्षा ५ देखिको जिम्मेवारी पाएको बताए । आगामी वर्षदेखि सरकारले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएपनि केन्द्रले फागुनभित्रै पुस्तक पछाइ सम्पन्न गरेर चैतमा वितरण सम्पन्न गर्नसक्ने दाबी उनले गरे । सरकारले गत वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यस वर्ष त्यसलाई खुम्च्याउँदै कक्षा १ देखि ४ सम्मको मात्रै दिएको छ । पाठ्यक्रम विकास केन्द्रले कात्तिकमै शिक्षा मन्त्रालयमा पत्राचार गर्दै पुस्तक छपाइबारे छिटो निर्णय गर्न पत्रचार गरेको भए पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको गत मङ्सिर १२ मा केन्द्रमै बसेको बेठकमा प्रबन्धक निर्देशक झाले सरकारले यसबारेमा चाँडै निर्णय गरी १ देखि १२ सम्मको आवश्यक पर्ने पुस्तक छपाइको जिम्मेवारी केन्द्रलाई दिन माग गरेको थियो । केन्द्रले जिम्मेवारी पाउने आशामा कक्षा ३ कक्षा केही किताब छपाइसमेत गरिसकेका थियो । रासस
समयमै विद्यार्थीको हातमा पुस्तक पुर्याउन शिक्षामन्त्रीको निर्देशन
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी छिन् । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको बिहीबार अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताइन् । उनले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै पुस्तक छपाइ भइरहेका स्थानको अनुगमन एवं अवलोकन गरेकी थिइन् । मन्त्री श्रेष्ठलाई केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पुस्तक छपाइको अवस्था र वितरणको प्रक्रियाबारे जानकारी गराइन् । मन्त्री श्रेष्ठले भनिन्, ‘पाठ्यपुस्तक छपाई समयमै सम्पन्न हुनुपर्यो, पाठ्यपुस्तक समयमै विद्यार्थीको हातहातमा पुर्याउनु होला ।’ केन्द्रका प्रबन्ध निर्देशक झाले मन्त्री श्रेष्ठलाई भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाड्यपुस्तक पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘९५ प्रतिशत पाठ्यपुस्तक छपाइ सम्पन्न गरिसकेका छौँ, यही चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक पनि छपाइ सम्पन्न गर्छौँ, चैत १५ गतेदेखि नै पुस्तक वितरण थाल्छौँ, शैक्षिकसत्र सुरु हुदाँसम्म पूरै सेटमा सबै कक्षाका पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउँछौँ ।’ आउँदो शैक्षिकसत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ५७ लाख थान छापिसकेको र बाँकी १८ लाख थान पुस्तक १५ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने प्रबन्ध निर्देशक झाले बताए । केन्द्रले आउँदो शैक्षिकसत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । चालु शैक्षिकसत्रका लागि गत वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिकसत्र सुरु हुनेबित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको हो । प्रबन्ध निर्देशक झाले यस वर्ष कुनै पनि कक्षाको कुनै पनि विषयको पुस्तक अभाव हुन नदिने र गत वर्षजस्तै सेटमै पुस्तक उपलबध गराउने बताए । उनले पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखेको र पुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन, २४सैँ घण्टा चलिरहेको जानकारी दिए । पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा तथा अनि मात्र उपत्यकामा पुस्तक वितरण गरिने छ । केन्द्रबाहेक उपत्यका बाहिरका नौवटा आउटलेटबाट पुस्तक वितरण गरिने प्रबन्ध निर्देशक झाले बताए । उनले भने, ‘हामीले अहिले २४सै घण्टा दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेका छौँ, २४सै घण्टा पुस्तक पछाइको काम भइरहेको छ । छपाइ सकिएका पुस्तक सातैवटै प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पुर्याउने काम भइरहेको छ । गत वर्षजस्तै यस वर्ष पनि हामी चैतदेखि पुस्तक वितरणको काम सुरु गर्छौँ र समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउँछौँ ।’ शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखानालाई छपाइ तथा वितरणको जिम्मेवारी दिएको छ । प्रबन्ध निर्देशक झाले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिन सरकारसँग माग गरेको भए पनि कक्षा ५ देखिको जिम्मेवारी पाएको बताए । आगामी वर्षदेखि सरकारले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिए पनि केन्द्रले फागुनभित्रै पुस्तक पछाइ सम्पन्न गरेर चैतमा वितरण सम्पन्न गर्न सक्ने उनको भनाइ छ । सरकारले गत वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यस वर्ष त्यसलाई खुम्च्याउँदै कक्षा ५ को पुस्तक छपाइको जिम्मेवारी निजी क्षेत्रलाई नदिई केन्द्रलाई दिएको हो । रासस