रित्तिदै त्रिभुवन विश्वविद्यालय, खाली हुन थाले कक्षा कोठा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा पनि विद्यार्थीको संख्या वर्षेनी घट्दै गएको छ । प्लस टु तथा स्नातकसम्म पढाइ हुने कलेजहरूले विद्यार्थीको संख्या घटिरहेको बताइरहँदा त्रिभुवन विश्वविद्यालयमा पनि स्नातकोत्तर र दर्शनाचार्य (एमफील) अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दै गएको हो । एउटा सेमेस्टरमा एक सय जनासम्म हुनु पर्ने विद्यार्थी १४/१५ जना मात्रै रहेको बुझिएको छ । एमफीलमा पनि ३५ जनाको सिट संख्या रहेकोमा १५/२० जना मात्रै विद्यार्थी भर्ना भएको त्रिविले जनाएको छ । विगत पाँच वर्षदेखि घट्दो अवस्थामा रहेको विद्यार्थीको संख्या २०८० सम्म आइपुग्दा ह्वात्तै घटेको त्रिविको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायका १६ वटा विभागमा अहिले कुल २ सय ४३ विद्यार्थी मात्र छन् । केन्द्रिय शिक्षाशास्त्र विभागका सूचना अधिकारी बैकुण्ठ अर्याल १६ वटा विभागमा एक हजार ३५० जना विद्यार्थी आवश्यक रहेकोमा २४३ जना मात्रै रहेको बताउँछन् । समाजशास्त्र पढ्ने विद्यार्थी पाउनै मुस्किल त्रिभुवन विश्वविद्यालयको केन्द्रिय समाजशास्त्र विभागमा अध्ययन गर्ने विद्यार्थीको संख्या पनि घटेको छ । केही वर्ष पहिले करिब दुई सय विद्यार्थीसम्म भर्ना हुने विभागमा अहिले मुस्किलले ३० जना छन् । सो विभागका सहायक प्रमुख रोजिना महत गत विगतका वर्षहरूको तुलनामा अहिले विद्यार्थीको संख्या ह्वात्तै घटेको बताउँछिन् । एमफीलमा समाजशास्त्र विषय अध्ययन गर्ने विद्यार्थीको संख्या भने बढेको उनको भनाइ छ । अहिले एमफील अध्ययन गर्ने विद्यार्थीको संख्या ६० पुगेको छ । जबको एमफीलमा ३५ जनाको मात्रै सिट रहेको थियो । उनका अनुसार स्नातकोत्तरमा ३० जना विद्यार्थीलाई भर्ना गराउनका लागि तीन पटक सूचना निकालेर भर्ना गराउनु परेको हो । उनी स्नातक तहका विद्यार्थीको परिक्षाफल सार्वजनिकमा ढिलाइ हुँदा स्नातकोत्तरमा विद्यार्थीको अभाव हुने गरेको तर्क दिन्छिन् । यस्तै, मानवशास्त्र (एन्थ्रोपोलोजी) विभागमा पनि विद्यार्थीको संख्या न्यून नै छ । स्नातकोत्तरमा आवश्यक सिट संख्या एक सय भए पनि अहिलेसम्म मुस्किलले १४ जना विद्यार्थी मात्रै भर्ना भएका छन् । मानवशास्त्र विभाग सहायक प्रमुख उडेन श्रेष्ठका अनुसार दुई/तीन पटक प्रवेश परीक्षा लिए पनि जम्मा १४ जना विद्यार्थीले मात्रै भर्ना गरेका छन् । गत वर्ष २० जना विद्यार्थी भर्ना भएका थिए । श्रेष्ठका अनुसार कुनै तीन वर्षे र कुनै चार वर्षे स्नातक हुँदा पनि समस्या भएको बताउँछन् । उनले पनि विद्यार्थीको परिक्षाफल समयमै प्रकाशित नहुँदा विद्यार्थीको संख्या न्यून भएको धारणा राख्छन् । यो विभागमा एमफिलमा ३५ जनाको सिट संख्यामा भए पनि १५जना विद्यार्थी मात्रै भर्ना भएका छन् । गत वर्ष २२ जना विद्यार्थी भर्ना भएकोमा अहिले १५ जना विद्यार्थी मात्रै रहेको उनले बताए । आईटीमा व्यवस्थापनको कमजोरी विश्वविद्यालयको अन्य विभागमा विद्यार्थीको संख्या घटे पनि कम्प्यूटर विज्ञान र सूचना प्रविधि विभागमा भने विद्यार्थी खासै घटेका छैनन् । आवश्यक सिट संख्याको हाराहारीमा विद्यार्थी रहेको विभागले जनाएको छ । कम्प्यूटर विज्ञान र सूचना प्रविधि केन्द्रीय विभागका प्रमुख सविन सायामी अन्य विभागको तुलनामा यस विभागमा विद्यार्थी नघटेको बताउँछन् । उनका अनुसार गत वर्ष यस विभागमा ६० जना विद्यार्थीका लागि सिट भए पनि ५० जना मात्रै भर्ना भएका थिए । उनी त्रिभुवन विश्वविद्यालयको प्रणालीले नै विद्यार्थी घटेको बताउँछन् । ‘अब यो विभागले आफ्नो शैक्षिक प्रणाली परिवर्तन गर्नुपर्छ, नभए आगामी वर्षमा विद्यार्थीको संख्या नराम्ररी घट्नेछ, प्रणालीमा सुधार हुन सकेन भने अवस्था झन जोखिम हुन सक्छ,’ उनले भने । उनका अनुसार आईटी विषय पढ्ने विद्यार्थीलाई काम पाउन पनि सहज हुने गरेको छ । उनीहरूलाई स्नातक तह सकिने बित्तिकै कामका लागि धेरै अवसर आउने गरेको उनको भनाइ छ । स्नातकोत्तर र पीएचडी नपढे पनि विद्यार्थीले राम्रो अवसर पाउने गरेको उनले बताए । ‘आईटी पढेका विद्यार्थी कोही मन्त्रालय, कोही निजी कम्पनी, कोही आफ्नै इन्सिच्युट सञ्चालन गरिरहेका हुन्छन् । तर, त्रिविमा पढाइ दिउसो हुन्छ, दिउँसो आफ्नो काम छोडेर विद्यार्थी पढ्न आउँदैनन्,’ उनी भन्छन्, ‘त्यसैले पनि यो विभागमा विद्यार्थीको संख्यामा कमी भएको हो ।’ अहिले अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट मान्यता प्राप्त धेरै कलेजले आईटी विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरेका छन् । अन्य कलेजले सेल्फ स्टडी गराइरहेका छन् । तर, त्रिविमा त्यस्तो छैन । ‘आईटी क्षेत्र विद्यार्थीको अहिलेको रोजाइको विषय हो, अब यो मोडालिटीमा हामी जान सकेनौं भने विद्यार्थीको संख्या घट्दै जान्छ, विभागले पीएचडी पढाउन सुरु गरेको ५ वर्ष भयो, यो वर्ष पीएचडी भर्नाका लागि तीन जना विद्यार्थी भर्ना भएका छन्, ५ वर्षको अवधीमा अहिले सम्म १० जनाले पीएचडीको पढाइ सुरु गरे्का छन्,’ उनले भने । ललितकलाको हालत पनि उस्तै ललितकला केन्द्रिय विभागमा पनि विद्यार्थीको अभाव नै छ । यो वर्ष स्नातकोत्तरमा १६ जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष १९ विद्यार्थी भर्ना भएका थिए । विभागका साहयक प्रमुख ज्ञानुराजा महर्जनका अनुसार एमफिलमा यो वर्ष ४ जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष पाँच जना विद्यार्थी भर्ना भएका थिए । स्नातकोत्तर र एमफिलमा अध्ययन गर्न कम्तिमा पनि १० जना विद्यार्थी आवश्यक पर्छ । महर्जन भन्छन्, ‘जति विद्यार्थी आए पनि उनीहरूलाई पढाउने गरेका छौं, विद्यार्थीको निकै अभाव छ ।’ नेपालीमा औसत आकर्षण  त्रिभुवन विश्वविद्यालयको अधिकांश विभागमा विद्यार्थीको संख्या घट्दा नेपाली विभागमा भने विद्यार्थी बढेका छन् । नेपाली केन्द्रिय विभागमा गत वर्ष भन्दा यो वर्ष स्नातकोत्तर र एमफिल पढ्ने विद्यार्थीको संख्या बढेको छ । तर, आवश्यक सिट संख्या भने त्यहाँ पनि पुरा भएको छैन । गत वर्ष स्नातकोत्तरमा कुल १० जना विद्यार्थी भर्ना भएका थिए । यो वर्ष बढेर संख्या २८ पुगेको छ । तर, यो प्रयाप्त भने होइन । यस्तै, केन्द्रिय बौद्ध अध्ययन विभागमा पनि गत वर्षभन्दा यो वर्ष विद्यार्थीको संख्या बढेको छ । विगतका वर्षमा १४/१५ मात्र विद्यार्थी भर्ना हुने गरेकोमा यो वर्ष भने विद्यार्थीको संख्या बढेको छ । स्नातकोत्तरमा यो वर्ष दई सिफ्ट गरेर १ सय विद्यार्थी भर्ना भएका छन् । यस्तै एमफिलमा पनि विद्यार्थीको संख्या बढेको विभागका प्रमुख डा.चन्द्रकला घिमिरेले बताइन् । उनका अनुसार एमफिलमा यो वर्ष २० जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष ११ विद्यार्थी मात्र भर्ना भएका थिए । लकडाउनको समयमा यो विभागमा विद्यार्थीको संख्या ह्वात्तै घटेको थियो । तर, यो वर्ष भने विद्यार्थीको संख्या बढेको छ उनको भनाइ छ । किन घट्दैछन् विद्यार्थी ? कुनैबेला विद्यार्थीको चाप देखिने त्रिभुवन विश्व विद्यालयमा अहिले विद्यार्थी खोज्नु पर्ने अवस्था सिर्जना भएको छ । विभिन्न विषयका विभाग प्रमुखहरू विद्यार्थीको संख्या यसरी घट्नुमा दुइटा कारण सुनाउँछन् । एउटा विद्यार्थीहरूको विदेश मोह र अर्को स्नातक तहमा अध्ययनरत विद्यार्थीको समयमै परिक्षाफल सार्वजनिक नहुनु । केन्द्रिय शिक्षा विभागका सूचना अधिकारी बैकुण्ठ अर्याल विद्यार्थीको विदेश मोहले विद्यार्थीको संख्या घटेको बताउँछन् । उनी प्लसटु पास गर्ने वित्तिकै विद्यार्थी विदेश पलायन हुँदा त्यसको असर माथिल्लो तहमा परेर स्नातक, स्नातकोत्तर र एमफिलमा विद्यार्थीको संख्या घटेको बताउँछन् । कम्प्यूटर विज्ञान र सूचना प्रविधि केन्द्रीय विभाग प्रमुख सविन सायामी भने त्रिविकै लापरवाहीले विद्यार्थी भर्ना हुन छोडेको बताउँछन् । उनी भन्छन्, ‘पुरानो विश्व विद्यालय अहिले पनि उही पुरानो शैली र प्रणालीमा सञ्चालन भइरहेको छ, अब पनि केही नगर्ने हो भने आगामी वर्ष यति विद्यार्थी पनि पाउन मुस्किल हुन्छ, त्यसैले त्रिविले समयमै सजग बन्नुपर्छ ।’

चैतभित्र विद्यालयमा पुस्तक पुर्‍याउन मन्त्रालयको निर्देशन

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्रलाई चैत मसान्तभित्र स्थानीय तहहरुमा विद्यालय तहको पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ । कक्षा ५ देखि १० सम्मको एक करोड ७५ लाख थान पुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रलाई मन्त्रालयले वि.सं २०८१ वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेगरि व्यवस्था गर्न निर्देशन दिएको हो । कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको निजी क्षेत्रलाई पनि सोहीअनुरुप गर्न निर्देशन दिइएको छ । जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले केन्द्रले १६ लाख थान पाठ्यपुस्तक मात्र छपाइ गर्न बाँकी रहेको भन्दै छपाइ भएका पुस्तकको ढुवानी सुरु गरिसकेको जानकारी दिए । मन्त्रालयको निर्देशन आउनु अघिनै पाठ्यपुस्तक छपाइ अन्तिम चरणमा पुगेको उनले बताए । छपाइ सकिएका पुस्तकहरु उपत्यका बाहेक सातवटै प्रदेशमा रहेका वितरण केन्द्र एवं कार्यालयमा दैनिक ढुवानी गर्ने कार्य भइरहेको झाले बताए । उनले मन्त्रालयको निर्देशन कार्यान्वयन हुने, पुस्तक अभाव हुन नदिने भन्दै चैत १५ गतेदेखि पाठ्यपुस्तक पालिकामा ढुवानी गरिने बताए । पहिलो चरणमा हिमाली, दोस्रो चरणमा पहाडी, तेस्रो चरणमा तराई र अन्तिम चरणमा उपत्यकाका जिल्लाहरुमा पुस्तक पुर्‍याउने गरी जनक शिक्षाले कार्य गरिरहेको प्रबन्ध निर्देशक झाले जानकारी दिए । उनले मन्त्रालयको निर्देशन अनुसार चैत्र मसान्तसम्म सबै स्थानीय तहहरुमा पुस्तक पुर्याउने गरी केन्द्रले काम गरिरहेको बताए । मन्त्रालयले पाठ्यपुस्तक छपाइ, ढुवानीलगायत कामको प्रगति विवरण दैनिक रुपमा साँझ ७ बजे भित्र मन्त्रालयमा पेस गर्न पनि केन्द्रलाई निर्देशन दिएको छ । यसअघि चैत १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले केन्द्रको अनुगमन गर्दै पुस्तक छपाइको अवस्थाबारे जानकारी लिएकी थिइन् । उनले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी थिइन् । रासस

एसईईको सम्पूर्ण तयारी पूरा, जापानबाटै पनि परीक्षा दिन पाउने

फाइल फाेटाे भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गते सम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यस वर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यस वर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए । परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्न पत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको सङ्ख्या घट्न सक्ने उनले बताए । पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्न पत्र बोर्डले देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बताउँदै काठमाडौँ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जानकारी दिए । ‘प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइनेछ’, उनले भने । परीक्षाका लागि आवश्यक पर्ने उत्तर पुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको बताए । उनका अनुसार आवश्यक बजेट सात वटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ । नेपाल बाहिर जापानमा बसेका नेपाली विद्यार्थीले यस वर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन् । बोर्डले यस वर्षको परीक्षाका लागि एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक/एक, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाइने उनको भनाइ छ । परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । यस वर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको जनाएको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यस वर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने भन्दै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने उनले बताए । परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनु पर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । उनका अनुसार विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् । रासस