विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गर्ने जनप्रतिनिधिको प्रतिबद्धता
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाका जनप्रतिनिधिले विद्यालयमा सरकारले तोकेका खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधिका १० मापदण्ड पूरा गराई सबै सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ (तीन तारा) घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । बागमती प्रदेशमा पहिलोपटक उक्त गाउँपालिकामा मापदण्ड पूरा गरेका पाँचवटा सामुदायिक विद्यालयलाई गत फागुन अन्तिम साता तीन तारा घोषणा गरिएको थियो । ‘भविष्यका लागि आधार परियोजना’ सञ्चालनपछि सरसफाइ तथा स्वच्छता मापदण्ड कार्यान्वयन भएका विद्यालयलाई तीन तारा घोषणा गर्न थालिएको हो । परियोजनाको समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष रेणुका चौलगाईँले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा तीन तारा घोषणा गर्नेगरी कार्यक्रम केन्द्रित गरी आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गर्ने बताए । उनले भने, ‘प्रदेशमै पहिलोपटक यस गाउँपालिकाका पाँच विद्यालयलाई तीन तारा घोषणापछि गाउँभर सकारात्मक सन्देश प्रवाह भएको छ, आउँदो वर्षदेखि गाउँपालिकाका बाँकी सबै विद्यालयमा तीन तारा घोषणा गर्नेगरी कार्यक्रमलाई अघि बढाइने छ ।’ परियोजना कार्यान्वयन गर्न सिविक फोरम नामक संस्थाले समन्वय गरिरहेको छ । उक्त कार्यक्रममा गाउँपालिका–३ का वडाध्यक्ष चित्रप्रसाद चौलागाईँ, ५ का वडाध्यक्ष कृष्णप्रसाद गौतम, ८ का वडाध्यक्ष धनबहादुर तामाङ र ९ का वडाध्यक्ष रामबहादुर लामाले बाँकी विद्यालयमा तीन तारा घोषणाका लागि केही मापदण्ड पूरा गर्न बाँकी रहेकाले तीव्ररुपमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्य भइरहेको र पूरा भएपछि तीन तारा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकामा हाल ३३ विद्यालयमा सञ्चालमा छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले बालबालिकाका लागि खानेपानी तथा स्वच्छता कार्यक्रम प्रभावकारी भएको बताए । गाउँपालिकाका शिक्षा शाखा प्रमुख कालिप्रसाद शर्माले कार्यक्रम निरन्तरताका लागि विद्यालयमा आवश्यक पूर्वाधारका विषयमा अनुगमन निरीक्षण एवं प्रतिवेदन सङ्कलन भइरहेको बताए । फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले वाटर एडको आर्थिक तथा प्राविधिक सहयोगमा २०२२ देखि सहजीकरण गरिरहेको उक्त कार्यक्रम गाउँपालिकामा रहेका सबै विद्यालयमा पूरा गराउनेगरी कार्य भइरहेको बताए । उहाँका अनुसार यसअघि पाँचै विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छताका १० मापदण्डअन्तर्गत स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, स्वच्छ वातावरण, छात्रा–महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहिता पूरा गरेका हुन् । यी १० सूचक पूरा गरेपछि तीन तारा घोषणा गरिएको हो । गाउँपालिकाको वडा नं ६ स्थित प्रभा माध्यमिक विद्यालय, वडा नं ७ को सिर्जनशील जनता मावि, वडा नं ५ स्थित अरनिको मावि र जागृति मावि तथा वडा नं ३ को बुद्ध हिमालय माविले सरकारले तोकेका १० मापदण्ड पूरा गरेका थिए । यी विद्यालयलाई थ्री स्टार बनाउन वाटर एडको सहयोग र सिविक फोरमको साझेदारी थियो । नेपालको संविधानको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको छ भने राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य (एसडिजी)को ४ र ६ नं अन्तर्गत सबै विद्यालयमा सुरक्षित खानेपानी र सरसफाइमा विशेष जोड दिइएको छ । रासस
कम्प्युटर विज्ञान पढाउन प्रवासीको सहयोग
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासमा रहेका म्याग्दीवासीले १३ लाख रुपैयाँ सहयोग जुटाएका छन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान पठनपाठन गर्न स्थायी ठेगाना शिख भई हाल बेलायत बसोबास गर्नुहुने दानबहादुर गर्बुजाको संयोजनमा सहयोग जुटाइएको हो । विद्यालयका प्रअ केदार कार्कीले प्रवासमा रहेकाहरू मिलेर २० थान डेक्सटप कम्प्युटर सहयोग गरेको बताए । ‘ग्रामीण क्षेत्रको विद्यालयमा प्रविधिमैत्री आधुनिक शिक्षा प्रदान गर्न कम्प्युटर विज्ञान विषय पढाउने तयारी गरेका छौँ,’ उनले भने, ‘विदेशमा रहनुभएका विद्यालयका पूर्वविद्यार्थी, अभिभावक र शुभचिन्तकले सहयोग रकम जुटाउनु भएको छ ।’ घनश्याम तिलिजा, लालबहादुर पाइजाका परिवारले शुक्रबार चार थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण गरे । १६ थान कम्प्युटर केही दिनमै विद्यालयमा ल्याउने तयारी छ । शिख उपल्लोस्वारा घर भई हाल बेलायत निवासी घनश्याम तिलिजाको परिवारले तीन थान डेक्सटप कम्प्युटरका लागि एक लाख ९५ हजार, विद्यालयको अतिरिक्त क्रियाकलाप कोषलाई दुई लाख नगदसहित चार थान भलिबल, बास्केटबल र एक थान भलिबलको नेट गरी कूल दुई लाख ३६ हजार रुपैयाँ सहयोग गरेका छन् । शिख मूलपानी घर भई हाल बेल्जियम निवासी लालबहादुर पाइजाको परिवारबाट एक थान डेक्सटप कम्प्युटर, आमा समूहलाई २० हजार, छात्राबासका लागि १० हजार गरी ९५ हजार रुपैयाँ सहयोग गरेको विद्यालयले जनाएको छ । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयले गण्डकी प्रदेश सरकारको सहयोगमा छात्राबास सुविधा प्रदान गरेको छ । हाल ३० जना विद्यार्थीले छात्राबासको सुविधा लिएका छन् । प्रदेश सरकारले प्रतिविद्यार्थी दैनिक ६५ रुपैयाँका दरले आवासीय विद्यार्थीलाई सहयोग गरेको छ । अपुग रकम दाताहरुको सहयोगमा जुटाइएको छ । विद्यालयमा एक सय ६७ विद्यार्थी अध्ययनरत छन् । रासस
त्रिविको लापरवाहीले तनावमा विद्यार्थी, भन्छन्- पढेको बिर्सिसकियो अब के लेख्ने ?
काठमाडौं । अछामको कमलबजार नगरपालिका ७ सेराका चन्द्र भाट स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दैछन् । प्रथम वर्षको नतिजा नआउँदै उनी दोस्रो वर्षको परीक्षाको तयारीमा थिए । किनकि त्रिभुवन विश्वविद्यालयले स्नातक दोस्रो वर्षको परीक्षा चैत २८ गते गर्नु भनेर कलेजहरूलाई निर्देशन दिइसकेको थियो । पहिलो वर्षको परीक्षाफल नआउँदै दोस्रो वर्षको तयारीमा रहेका उनले फेरि पहिलो वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको परीक्षा दिनुपर्ने भयो । किनकि परीक्षा नियन्त्रण कार्यालयबाटै उत्तरपुस्तिका गायव भए । उत्तरपुस्तिका नै नपाएपछि परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले कलेजहरूलाई पुनः परीक्षा दिन निर्देशन दियो । चन्द्र अहिले फेरि ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ परिक्षाको लागि तयारी गर्दैछन् । ‘नतिजा आएर विषय लागेको भए परीक्षा दिन पनि खुसी नै लाग्थ्यो तर, एक वर्षसम्म पर्खाइमा बसेका हामीलाई नतिजा नै प्रकाशन नगरी परीक्षा दिन लगाउनु त्रिविको लापरवाही हो,’ उनी भन्छन्, ‘यो त्रिविले हामी विद्यार्थीमाथि गरेको खेलबाड हो, एक समयमै परीक्षाफल प्रकाशन हुँदैन, फेरि त्यही विषयको परीक्षा हामीले पटक पटक कति दिने ?’ परीक्षा नियन्त्रणको लापरवाहीले मानसिक तनाव थपिएको चन्द्र बताउँछन् । ‘पहिलो वर्ष परीक्षा दिएका विद्यार्थी अहिले सबै घरमा छैनन्, कोही काम विशेषले भारत गएका छन् । अहिलेको छोटो समयमा सबै विद्यार्थीलाई घर फर्केर परीक्षा दिन पनि समस्या रहेको उनको भनाइ छ । अछाम भौगोलिक रुपमा विकट छ । सबै ठाउँमा सञ्चारको राम्रो सुविधा छैन । कतिपय विद्यार्थी कलेजमा भर्ना हुने, भारत गएर कमाउने र परीक्षामा मात्र सहभागी हुने गर्छन् । यो उनीहरूको बाध्यता हो ।’ चिन्तित हुँदै उनी भन्छन्- ‘कतिपयलाई फेरि परिक्षा हुँदैछ भन्ने नै थाहा नै छैन होला, पढेको सबै बिर्सिसकियो अब परीक्षा हुँदा के लेख्ने ?’ अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका हराएको हो । उक्त परीक्षा केन्द्रका १७६ थान उत्तरपुस्तिका नै हराएको त्रिवि स्रोतले जनाएको छ । अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बिष्ट उत्तरपुस्तिका हराउनु दुःखद भएको बताउँछन् । उनी त्रिविको यस्तो लापरवाहीले विद्यार्थीलाई समेत असर गरेको बताउँछन् । रिजल्टको पर्खाइमा बसेका विद्यार्थीलाई फेरि परीक्षा दिनुपर्दा मानसिक रुपमा समेत समस्या भएको छ,’ उनी भन्छन्, ‘परीक्षा दिएका विद्यार्थी कोही कतै, कोही कतै छन्, पनिकाले चाँडै परीक्षा लेउ भनेको छ, यस्तो हुँदा धेरै विद्यार्थी छुट्छन् की भन्ने पीर छ ।’ पनिकाको सूचना पाए लगत्तै सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियोमा सूचना प्रशारण गरेर परीक्षाको तयारीमा लाग्न भनिएको क्याम्पस प्रमुख बिष्ट बताउँछन् । अछामकै कमलबजार बहुमुखी क्याम्पस प्रमुख पूर्ण धमला पनि त्रिविको यो ठूलो लापरबाही भएको बताउँछन् । एक पटक परीक्षा दिइसकेका विद्यार्थीलाई पटक पटक परीक्षा दिन लगाउँदा सबै परीक्षार्थी सहभागी हुन सक्ने अवस्था छैन । उनी भन्छन्, ‘अब हामीसँग परीक्षा लिनुको विकल्प छैन, जे माथिबाट निर्देशन आयो हामीले त्यही पालना गर्नुपर्छ यसो नगरे विद्यार्थीलाई पनि समस्या, तर यो त्रिविको लापरबाही हो ।’ यही कारणले त्रिविप्रतिको विश्वास घट्दै गएको धमला बताउँछन् । चितवनको रत्ननगरमा रहेको शहिद स्मृती बहुमुखी क्याम्पसका १७ विद्यार्थीले दिएको उत्तरपुस्तिका पनि हराएको छ । २०८० वैशाख महिनामा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी-४२२’ विषयको उत्तर पुस्तिका हराएको भन्दै फेरि परीक्षा गर्न भनेकाले अहिले त्यसैको तयारीमा क्याम्पस लागेको छ । क्याम्पस प्रमुख बुद्धिराज सेढाइले पनिकाको लापरवाहीले विद्यार्थीलाई पुनः परीक्षाको तयारी गर्नुपर्ने हैरानी भएको बताउँछन् । उनी भन्छन्- ‘अब निर्देशन आइसकेपछि हामीले परीक्षा गर्नैपर्छ, अहिले विद्यार्थीलाई सूचना दिने, जानकारी गराउने काम गरिरहेका छौं, अब परिक्षाको विकल्प छैन ।’ भावी दिनमा त्रिविले ध्यान दिनुपर्ने सेढाइ बताउँछन् । पटक पटक लापरवाही त्रिभुवन विश्वविद्यालयले गएको बैशाखमा लिएको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ र ‘पपुलेशन एण्ड हेल्थ ४२२’ को उत्तरपुस्तिका हराएका छन् । परीक्षा लिएको एक वर्षसम्म पनि परीक्षाफल सार्वजनिक नभएपछि उत्तरपुस्तिका नै हराएको रहस्य बाहिर आएको हो । उत्तरपुस्तिका हराउनु परीक्षा नियन्त्रण कार्यालयको यो पटकको मात्रै लापरवाही हैन । गएका वर्षहरूमा पनि धेरै पटक उत्तरपुस्तिका हराएका उदाहरण छन् । गएको वर्ष बीबीएस चौथो वर्षको एक विषयको उत्तरपुस्तिका फेला नपरेपछि २०७९ पुसमा फेरि परीक्षा सञ्चालन गरिएको थियो । २०७८ पुसमा सञ्चालित परीक्षाको उत्तरपुस्तिका हराउँदा एक वर्षपछि करिब साढे २ सय विद्यार्थीले फेरि परीक्षा दिएका थिए । त्यतिबेला झापाको दमक बहुमुखी क्याम्पसका परीक्षार्थीको उत्तरपुस्तिका हराएको थियो । २०७४ सालमा पनि यस्तै भएको थियो । तत्कालिन समयमा बीबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्ने बेलामा सिन्धुली बहुमुखी क्याम्पसका ६९ जना विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो । ती विद्यार्थीले पनि फेरि परीक्षा दिनुपरेको थियो । यस्ता थुप्रै गल्तीहरु परीक्षा नियन्त्रण कार्यालयले पटक पटक गर्दै आएको छ । एउटै गल्ती पटक पटक दोहोरिँदा पनि त्रिविले पनिकालाई कारबाही गरेको रेकर्ड भने खासै भेटिन्न । प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, नतिजा प्रकाशन र लब्धांकपत्र वितरणको जिम्मा परीक्षा नियन्त्रण कार्यालयलाई हुन्छ । यति काम गर्दा वर्षेनी केही न केही त्रुटी गरिरहेकै हुन्छ । परीक्षा नियन्त्रण कार्यालयका सहायक परीक्षा नियन्त्रक पवन बराल उत्तरपुस्तिका हराएको स्वीकार्दै यो विषयमा छानविन भइरहेको बताउँछन् । कसरी हरायो, के भयो भन्ने विषयमा छानविन समिति बनाएर अनुसन्धान गरिरहेको उनले बताए । उनले भने– ‘हामीले हराएका विषयको फेरि परीक्षा लिने तयारी गरिरहेका छौं, सूचना निकालेर सम्बन्धित कलेजलाई परीक्षा गर्न भनिसकेका छौं अब चैत्र २१ गते पुनः परिक्षा हुन्छ ।’ यसमा संलग्न व्यक्तिलाई कस्तो कारबाही हुन्छ भन्ने प्रश्नमा बरालले भने- ‘हामी यसको लागि आन्तरिक छलफल गरिरहेका छौं बाँकी सबै पछि प्रतिवेदनमा आउँछ ।’ विद्यार्थीको समय बर्वाद र मानसिक तनाव त्रिभुवन विश्वविद्यालय नेपालका विश्वविद्यालय भन्दा सबैभन्दा जेठो हो । मुलुकको उच्च शिक्षामा करिब ८० प्रतिशत हिस्सा ओगटेको त्रिविको शाख भने गुम्दै गएको छ । त्रिविले पटक पटक गर्ने यस्ता लापरवाहीले विश्वास गुम्दै गएको शिक्षाका जानकारहरू बताउँछन् । त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक कपिल श्रेष्ठ परीक्षा नियन्त्रण कार्यालयले पटक पटक गैर जिम्मेवार काम गर्दै आएको बताए । उनी यस्तो लापरवाही गर्नेलाई कारवाही गर्नुपर्ने बताउँछन् । विद्यार्थीलाई पटक पकट एकै विषयमा जाँच दिन लगाउनु भनेको यातना दिनुजस्तै हो,’ उनी भन्छन्- ‘यातना दिनुलाई अपराधिक कार्य मानिन्छ, उत्तरपुस्तिका हराएर विद्यार्थीलाई यातना दिनेमाथि कारवाही हुनै पर्छ । विद्यार्थीको समय बर्वाद गरी मानसिक तनाव दिएको भन्दै श्रेष्ठ पहिले यो कार्यमा संलग्नलाई कारवाही गरेर मात्र त्यसपछि छलफल गर्नुपर्ने बताउँछन् । त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. विदुर फुयाल यो पनिकाको गम्भीर लापरवाही र त्रुटी भएको बताउँछन् । उनले यस्तो लापरवाहीले त्रिविको विश्वास र शाखमै आँच पुगेको बताए । ‘पटक पटक यस्तै अवस्था दोहोरियो, यसको मतलब अब बल्खुले मात्र सबै धान्न सक्ने अवस्था रहेन,’ उनी भन्छन्- ‘अब बल्खुले अधिकार अरूलाई पनि दिन सक्नुपर्यो, ६० वटा आंगिक र १ हजार बढी क्याम्पसको जिम्मा अब एक्लै बल्खुले लिन सक्दैन उसले आफ्नो अधिकार दिन सक्नुपर्छ ।’ साथै, लाखौं विद्यार्थीको भविष्यको जिम्मा लिएको त्रिविले यस्तो गैर जिम्मेवारीपन देखाउनु विद्यार्थीको भविष्यमाथि खेलबाड भएको विज्ञहरू बताउँछन् ।