मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा १० जनाको आवेदन स्वीकृत

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वीकृत भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार प्रा डा कविप्रसाद पोख्रेल, प्रा डा केशरसिह राना, प्रा डा देवबहादुर खड्का, प्रा डा धु्रवकुमार गौतमको आवेदन स्वीकृत भएको छ । साथै प्रा डा नन्दबहादुर सिंह, प्रा डा विनयकुमार मिश्र, प्रा डा भोलानाथ शर्मा घिमिरे, प्रा डा मुकुन्दप्रकाश क्षेत्री, प्रा डा यमबहादुर कार्की र प्रा डा शोभखर कँडेलको आवेदन पनि स्वीकृत भएको छ । आवेदन दिनेमध्ये एक उम्मेदवारको नाम मापदण्डभित्र नपरेकाले अस्वीकृत भएको छ । स्वीकृत उम्मेदवारहरुलाई यही चैत २७ भित्र विश्वविद्यलयसम्बन्धी आफ्ना सोचपत्र (भिजनपेपर) र विश्वविद्यालयको चार वर्षे कार्ययोजना (प्रोफेसनल वर्क प्लान) पेस गर्न समितिले आग्रह गरेको छ । तत्कालीन उपकुलपति प्रा डा नन्दबहादुर सिंहको कार्यकाल गत फागुन १७ गते सकिएको थियो । रासस

७ दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नाम नराखे भर्ना रोक्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरभित्रका संस्थागत विद्यालयहरूलाई नेपाली नाम राख्न निर्देशन दिएको काठमाडौं महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ । बुधबार एक सूचना जारी गर्दै महानगरले आफ्नो मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो । महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने चेतावनी दिएको हो । महानगरले विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र निवेदन पेस गर्न पनि निर्देशन दिएको छ ।

अल्फाविटाको ब्रिजकोर्स भर्ना कार्यक्रम खुल्ला, विद्यार्थीलाई २० प्रतिशत छुट

काठमाडौं । अल्फाविटाले ब्रिजकोर्स भर्ना कार्यक्रम खुल्ला गरेको छ । अल्फाविटाले २०८१ वैशाख २ गतेबाट कक्षा सुरु गर्ने गरी ब्रिजकोर्स भर्ना कार्यक्रम सुरु गरेको हो । ब्रिजकोर्समा एसईई दिएर बसेका विद्यार्थीहरूका लागि प्लसटु पढ्न सहज होस् भन्ने उद्देश्यले विज्ञान र व्यवस्थापन विषयमा अध्ययन गराइने जनाइएको छ । पहिलो चरणमा भर्ना हुने एक सय जना विद्यार्थीलाई २० प्रतिशत छुटसहित भर्ना कार्यक्रम सुरु भएकाले इच्छुक विद्यार्थीलाई सहभागी हुन अल्फाविटाले आग्रह गरेको छ ।