डिएभी विद्यालयले सम्पन्न गर्यो सांस्कृतिक कार्यक्रम

काठमाडौं । डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ललितपुरस्थित डिएभी सुशिल केडिया विश्व भारती विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरंग’ बुधबार विद्यालयको सभागृहमा सम्पन्न भएको हो । भारतीय राजदुतावासका डेप्यूटी चिफ अफ मिशन प्रसन्न श्रीवास्तवको मुख्य आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा भारतीय चर्चित कलाकारहरुको एकल प्रस्तुति रहेको थियो भने डिएभी विद्यालयको तर्फबाट विभिन्न प्रकारका सामूहिक तथा एकल प्रस्तुति रहेका थिए । डिएभी विद्यालय र सुशिला आर्ट एकेडेमीले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा भारतीय चर्चित कलाकार शशी रमेशको भरतनाट्यम नृत्य, बिभाहरी आशिश नेभ्रेकारको कथक नृत्य र शिव प्रसाद एन.एन. को बेजोड गीत र सङ्गीतले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाउन सफल भएका थिए । त्यसैगरी डिएभी विद्यालयका विभिन्न तह र कक्षाका विद्यार्थीहरुले टाट्कर जय पुरी घराना र ठुम्रीमा आधारित कथक नृत्य, काशी विश्वनाथम कथामा आधारित भरतनाट्यम नृत्य र उत्तर–दक्षिण भारतको क्लासिकल जुगलबन्दी नृत्यलाई बेजोड रूपमा प्रस्तुत गरेको विद्यालयले जनाएको छ । साथै, केही समसामयिक चर्चित नेपाली र हिन्दी गीत सङ्गीतलाई समेत क्लासिकल विद्याका विभिन्न तालमा प्रस्तुत गरेका थिए । तरङ्गको राग आयामलाई घनिभूत तुल्याउन डिएभी विद्यालयका विद्यार्थीहरुले एकल, युगल र सामूहिक गीत प्रस्तुत गरे । कार्यक्रममा साहित्य, सङ्गीत र कला अनुरागी, अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थिति थियो । कार्यक्रममा सुशिला आर्ट एकेडेमीकी संस्थापक एंव अध्यक्ष युलीया कोइरालाले स्वागत मन्तव्यसहित गीत सङ्गीत र नृत्यले शिक्षा क्षेत्रमा पुर्याइरहेको अतुलनिय योगदानको चर्चा गर्दै डिएभी विद्यालयका अध्यक्ष अनिल केडिया र प्राचार्य डा. भुवनेश्वरी रावको साहित्य र कलाको  प्रशंसा गरे । कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय दुतावासका डेप्यूटी चिफ अफ मिशन प्रसन्न श्रीवास्तवले कार्यक्रमका आयोजकले दुई देश बिच साहित्य, कला र संस्कृति आदान–प्रदान र जगेर्ना गर्ने अभियानमा पुर्याइरहेको योगदानको चर्चा गर्दै उपस्थित सम्पूर्ण विद्यार्थी, अविभावक, शिक्षक र साहित्य अनुरागीहरूलाई उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए । सोही अवसरमा उनले अनादिकालदेखि नेपाल–भारत बिच रहेको पारस्परिक सम्बन्धमा सांस्कृतिक भूमिकाको विस्तृत रुपमा चर्चा गरेका थिए । तरंग कार्यक्रममा प्रस्तुत भएका भारतीय कलाकार लगायत डिएभी विद्यालय र सुशिला आर्ट एकेडेमी सम्बद्ध सङ्गीत र नृत्य विभागका सम्पूर्ण शिक्षकहरूलाई मुख्य अतिथि श्रीवास्तव, उनकी श्रीमती निधी श्रीवास्तव र विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले मायाको चिनोसहित प्रसंशा पत्र प्रदान गरेका थिए । उपस्थित पाहुनाको स्वागत र सत्कारको लागि विद्यालयका उप–प्राचार्य रामचन्द्र खनाल, सि.ए.ओ. विजया टाटर, एस.एस.ओ. प्रशान्त सामल र प्लस टु कोर्डिनेटर टेङ्क मेघजी देवजी लगायत विभिन्न तहका कोर्डिनेटरहरुको उपस्थिति रहेको थियो । तरंग सांस्कृतिक कार्यक्रमको उद्घोषक शिक्षकद्वय शशिल्ता राई र मोहिनी तामाङ्ग थिए । आस्था ठाकुरको मन्तव्यसहित कार्यक्रम औपचारिक रूपमा समापन भएको विद्यालयले जनाएको छ ।

एसईईपछि कुन विषय पढ्दा सजिलै पाइन्छ जागिर ? यस्तो छ विज्ञको सुझाव

काठमाडौं । विद्यार्थीका लागि एसईई आधार स्तम्भ हो । एसईई पछिको पढाइले नै विद्यार्थीको भविष्य तय गर्छ । एसईईपछिको पढाइले नै विद्यार्थी भविष्यमा के भन्ने विषयको संकेत गर्छ । अहिले करिब ५ लाख विद्यार्थी एसईई दिएर घरमै बसिरहेका छन् । कतिले ब्रिजकोर्ष पढिरहेका छन् भने कतिले अब के पढ्ने भनेर अभिभावक, साथीभाई तथा अग्रजहरूसँग सल्लाह लिइरहेका छन् । कतिपय आफू अब के विषय पढ्ने भन्ने विषयको दुविधामै छन् । पछिल्लो समय विद्यार्थीलाई कम उमेरमा नै जागिर पाइने विषय पढ्ने इच्छा हुन्छ । त्यसैले पनि धेरैले प्राविधिक विषय अध्ययन गरेर छोटो समयमै जागिरको जिन्दगी सुरु गर्छन् । विद्यार्थीको रुची, आफ्नो रुची भएको विषयको प्रकृति, गर्नु पर्ने मिहिनेत र खर्च हुने समयका विषयमा पनि अगाडि नै जानकार हुनुपर्छ । विद्यार्थीले आफूले रोजेको विषयको स्कोप कस्तो छ ? त्यसमा आफुले भोलि करिअर बनाउन सकिन्छ कि सकिँदैन भनेर पनि जानकारी राख्नु पर्ने विज्ञहरूको सुझाव छ । आज हामीले कुन विषय पढ्ने भनेर बसिरहेका विद्यार्थीहरूका लागि यो सामग्री तयार गरेका छौं । शिक्षाविद् विनय कुसियत अरूको लहलहैमा लागेर विषय छान्नुभन्दा आफै विषय छनोट गरेर अध्ययन गर्दा फलदायी हुने धारणा राख्छन् । उनी सबै विषय जीवनउपयोगी हुने भएकोले विद्यार्थीको पढाइको स्तरले यस विषयलाई निक्र्यौल गर्ने बताउँछन् । ‘आर्थिक क्षमताले धान्न सक्ने र आफूलाई भविष्यमा के बन्ने इच्छा छ, त्यही अनुसार के पढ्ने भन्ने विषय छनोट गर्नुपर्छ,’ उनी भन्छन्, ‘पढाइमा अब्बल विद्यार्थीका लागि सरकारले छात्रवृत्ति पनि दिन्छ, अन्य सेवा सुविधा पनि दिन्छ, त्यसमा नाम निकाल्ने गरी मिहिनेत गर्न सक्यो भने आर्थिक क्षमताले भ्याउन नमिल्ने विषय पनि पढ्न पाइन्छ ।’ मनोविद् सुर्कीति देवकोटा विद्यार्थीलाई विषयबारे जानकारी गराए पनि के पढ्ने भन्ने विषय भने विद्यार्थीेले नै छनोट गर्नु पर्ने तर्क दिन्छिन् । ‘अहिले विद्यार्थीसँग समय हुन्छ, के पढ्ने, कहाँ पढ्ने भन्ने कुराको निर्णय गर्न सक्नुपर्छ, यसो गरे मानसिकरूपमा पनि गाह्रो पर्दैन ।’ कुनैपनि विद्यार्थीले दबाबमा पढ्ने हुँदैन,’ उनी थपिछन्, ‘बुवाले तिमी डाक्टर पढ्नुपर्छ भन्नुभएको छ अथवा आमाले नर्स बन्नुपर्छ भन्नु भएको छ, साथीहरूले यस्तो उस्तो गरिरहनुभएको छ भनेर पढ्ने होइन, त्यसो हुँदा गाह्रो हुन्छ । आफूलाई मनदेखि के इच्छा छ भन्ने सोच्नुपर्छ ।’ एसईईपछि के-के हुन्छ पढाइ ? एसईईपछि नेपालमा प्राविधिक र अप्राविधिक विषय पढाइ हुने गर्छन् । त्यसको लागि प्राविधिक विषय के-के हुन् र अप्राविधिक विषय के-के हुन् भनेर थाहा पाउनुपर्छ । प्राविधिक विषय अन्तर्गत सीटीईभीटीबाट मान्यता प्राप्त १५ महिने तथा १८ महिनेदेखि तीन वर्षे कोर्षहरू हुन्छन् । जुन अप्राविधिक विषयभन्दा केही फरक हुन्छन् । जसमा नर्सिङ, एचए, सीएमए, फार्फेसी ओभरसियर लगायतका विषयहरू पर्छन् । यी विषय लिएर पढ्ने विद्यार्थी तुलनात्मकरूपमा अन्य विषय अथवा अप्राविधिक विषय लिएर पढ्ने विद्यार्थी जस्तो बेरोजगार बस्नु पर्दैन । उनीहरूले पढिसकेपछि जागिर नपाउँदा पनि आफैं केही गर्न सक्छन् । तर, यी विषय पढ्न पनि त्यत्तिकै मिहिनेत र पैसा लाग्छ । यसको मतलब अप्राविधिक विषय लिएर पढ्ने विद्यार्थीले जागिर पाउँदैनन् वा मिहिनेत गर्न पर्दैन भन्ने होइन । छोटो समयमै रोजगारी पाउने वा स्वरोजगार बन्न सक्ने सम्भावना बढी हुन्छ । प्राविधिक विषय एसईई दिएका विद्यार्थीले प्राविधिक विषयतर्फ स्टाफ नर्स पनि पढ्न सक्छन् । यसका लागि एसईई दिनेबित्तिकै तयारी गर्नुपर्छ । त्यसपछि प्रवेश परीक्षामा नाम निकालेर पढ्न मिल्छ । पछिल्लो समय यो क्षेत्रमा विद्यार्थीको आकर्षण बढ्दाे छ । सीएमए, फार्फेसी ओभरसेयर र एचएतर्फ विद्यार्थीको आकर्षण छ । विद्यार्थीले यी विषय पढ्न न्यूनतम १८ महिनामा पढ्न सक्छन् । पढाइ सकेपछि विद्यार्थीले काम पाउने सम्भावना धेरै हुन्छ । यी विषय पढ्ने विद्यार्थीले आफैं औषधी पसल खोलेर पनि बस्न सक्छन् । तर, तुलनात्मक रूपमा यो क्षेत्र महँगो हुन्छ । अप्राविधिक विषय यो विषय भित्र विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायका विषयहरू पर्छन् । यी विषय पढ्दा पनि मिहिनेत उत्तिकै गर्नुपर्छ । मिहिनेतका साथ राम्रो नम्बर ल्याउँदा विद्यार्थीलाई खाली बस्नु पर्दैन । नेपाली, गणित, अंग्रेजी, जनसंख्या, अर्थशास्त्र, लेखा लगायतका विषय लिएर पढ्दा भविष्य राम्रो हुन्छ । कुनै पनि विषय नराम्रो भन्ने हुँदैन । तर, यी विषयमा तपाईंले कत्तिको दख्खल राख्न सक्नुहुन्छ भन्ने महत्वपूर्ण कुरा हो । मानविकी संकायमा पढ्ने विद्यार्थीहरूले भविष्यमा शिक्षक बन्ने, समाजशास्त्री तथा दर्शनका विषयमा राम्रो दख्खल राख्न सक्छन् । यस्तै, व्यवस्थापन पनि विद्यार्थीका लागि आकर्षक संकायकारूपमा देखिएको छ । यस संकायमा अध्ययन गर्ने विद्यार्थीको माग पनि बजारमा बढी हुन्छ । यो विषय पढेका विद्यार्थीको स्वदेशमा मात्र नभइ विदेशमा पनि उत्तिकै स्कोप छ । यो विषय पढ्ने विद्यार्थीहरू कम्प्युटर साइन्सदेखि होटेल म्यानेजमेन्ट, एकाउन्ट, मार्केटिङ, फाइनान्स, इकोनकिम लगायतका विषयहरू पढ्न मिल्छ । यी विषय पढेका विद्यार्थीहरू शिक्षण पेशादेखि वित्तिय क्षेत्रमा काम गर्ने अवसर मिल्छ । यस्तै, कक्षा ११ र १२ मा विज्ञान विषय लिएर पनि विद्यार्थीले पढ्न सक्छन् । तर, विज्ञानमा केही मिहिनेत चाहिन्छ । प्लसटुमा विज्ञान पढेका विद्यार्थीका लागि भविष्यमा डाक्टर, पाइलट, इन्जिनिएर र आईटी क्षेत्रमा काम गर्न सकिन्छ । प्लसटुपछि म्यानेजमेन्ट, आर्टस् लगायतका विभिन्न क्षेत्रमा पनि प्रवेश गर्न सकिन्छ । विज्ञान, प्रविधिमा रुची भएकाले विज्ञान संकाय रोज्न सक्छन् । कला, संस्कृति लगायत क्षेत्रमा भविष्य बनाउन सोच भएका विद्यार्थीेले मानविकी संकायमा अध्ययन गर्न सक्छन् । डाक्टर, इन्जिनियर, पाइलट, आइटी, म्यानेज्मेन्ट, मानविकी, लगायत हरेक क्षेत्रमा करिअर बनाउनको लागि अलिकति मेहिनेत गर्न सक्ने विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा साइन्स एजुकेसन पढ्न विज्ञहरू सुझाव दिन्छन् । विषय पढाइसँगै कलेज छनोट पनि महत्वपूर्ण विषय हो । अहिले गाउँदेखि सहर बजारसम्म जताततै कलेज सञ्चालनमा छन् । तर, विद्यार्थीले आफ्नो रुची भएको विषय पढाइ हुने राम्रो कलेज छनोट गर्न सक्नुपर्छ । शिक्षाविद् डा. कुसियत आफू पढ्ने कलेज कस्तो हो ? त्यसमा कस्ता शिक्षक छन् ? त्यसको वातावरण कस्तो छ ? र समाजमा त्यो कलेजप्रतिको दृष्टिकोण कस्तो छ भनेर मात्र भर्ना हुनु पर्ने राय दिन्छन् ।

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन आदेश दिएको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले आज त्रिविका कानुनी सल्लाहकार खनाललाई कुनै पनि कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । शिक्षा मन्त्रालयले केही दिनअघि चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा नाम जोडिएकालाई कारबाही गर्न निर्देशन दिएको थियो । त्रिविका कानुनी सल्लाहकार खनालले बिना प्रमाण र अनाहकमा आफूमाथि कारबाहीको सिफारिस गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले कारबाही नगर्न आदेश दिएको हो । रासस