त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए : मन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अब त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा कार्यकर्ता भर्ती गर्ने दिन गएकाे बताएकी छिन् । त्रिविका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी भएको जानकारी दिँदै अबदेखि दलीय राजनीतिका आधारमा त्रिविमा नियुक्ति नहुने बताएकी हुन् । ‘त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए, त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ अनुसार अब विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आवद्ध नभएको स्वघोषणा गर्नुपर्ने भएको छ, शिक्षा सुधारको मुख्य अवरोध दलीय राजनीति हो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् । मन्त्री श्रेष्ठले यो विनियम मस्यौदा गरी जारी गर्ने त्रिवि नेतृत्वप्रति आभार समेत व्यक्त गरेकी छन् । साथै, उनले नेपालको शिक्षा क्षेत्र र नेपालकै समग्र भविष्यबारे जिम्मेवार सबैले यसलाई समर्थन र निरन्तरता दिएर अगाडि बढ्नुपर्ने समेत उल्लेख गरेकी छन् । ‘स्वघोषणा गलत ठहरिए पदच्युत हुने गरी कार्यान्वयनमा खुट्टा कमाइएन भने त्रिवि सुधारका लागि यो एउटा युगान्तकारी कदम हुनेछ, यो विनियम मस्यौदा गरि जारी गर्ने त्रिवि नेतृत्वप्रति आभार व्यक्त गर्छु,’ उनले लेखेकी छिन्, ‘साथै नेपालको शिक्षा क्षेत्र र नेपालकै समग्र भविष्य बारे जिम्मेवार सबैले–हरेक सरकार, प्रधानमन्त्री, मन्त्रीले यसलाई समर्थन र निरन्तरता दिनैपर्छ ।’
आइएसएमटी कलेजबाट ३९० जना विद्यार्थी दिक्षित
काठमाडौं । आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । कलेजबाट बिबिए, बिएचएम, बिएससी र बिएससीआइटीमा अध्ययनरत स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीहरु सन्डरल्यान्ड विश्वविद्यालयको तर्फबाट दीक्षित भएका हुन् । काठमाडौंको होटल याक एन्ड एतीमा असार १६ गते भएको एक विशेष समारोहमा ३९० जना विद्यार्थीहरु दीक्षित भएका थिए । आइएसएमटी ग्रुपले सन्डरल्यान्ड विश्वविद्यालयको समबन्धनमा काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा कलेज सञ्चालन गर्दै आएको छ ।
एसईई पास गरेकाले यस कारण पढ्नैपर्छ आईबी
काठमाडौं । एसईईको नतिजा सार्वजनिक भइसकेपछि धेरैलाई के पढ्ने भन्ने अन्योलता हुन्छ । कतिपय विद्यार्थीले पहिल्यै आफ्नो योजना बनाएर त्यही अनुसार तयारी गरेपनि कतिपयलाई के विषय पढ्ने भन्ने चिन्ता हुन्छ । एसईई पछि प्राविधिक विषय र गैरप्राविधिक विषय पढ्न सकिन्छ । त्यसमध्ये इनटरनेशनल ब्याकलौरेट (आईबी) कार्यक्रम पनि एक हो । जुन एसईई पास गरेका जुनसुकै विद्यार्थीले पढ्न पाइन्छ । नेपालमा पनि केही विद्यालयले आईबी डिप्लोमा कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । के तपाई पनि आइबीबारे सुन्नुभएको छ ? अथवा यो पढ्ने सोचमा हुनुहुन्छ ? आज हामी तपाईंलाई एसईई पास गरेपछि पढ्न मिल्ने आईबी डिप्लोमा कार्यक्रमबारे जानकारी दिँदैछौँ । आईबी एसईई उतिर्ण गरिसकेपछि कक्षा ११ र १२ मा पढ्न मिल्ने समकक्षी कार्यक्रम हो । यो नेपालमा पनि पढाइ हुन्छ । तर, धेरै जस्तो विद्यार्थीलाई यो कार्यक्रमबारे थाहा छैन । विदेशमा हेर्ने हो भने हरेक वर्ष यो कार्यक्रम लागु गर्ने विद्यालयको संख्या बढ्दो छ । नेपालमा पनि केही विद्यालयहरूले यो कार्यक्रम सञ्चालन गरिरहेका छन् । ललितपुरको खुमलटारमा रहेको युलेन्स स्कुल र खुमलटारमै रहेको प्रिमियर इन्टरनेश्नलले यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर, विद्यार्थीलाई यो कार्यक्रमबारे जानकारी हुँदैन । यो एसईई पछि पढ्न मिल्ने दुई वर्षीय कार्यक्रम हो । तर, विदेशमा यसलाई प्रि युर्निभर्सिटी कोर्स पनि भन्छन् । के हो आईबी ? आईबी अर्थात् इनटरनेशनल ब्याकलौरेट सन् १९६२ सालमा इन्टरनेशनल स्कुल एशोसिएसनको सामाजिक अध्ययनका शिक्षकहरुको समूहले सुरु गरेको कार्यक्रम हो । त्यो भन्दा अघि एउटा देशको मान्छे अर्को देशमा बसाइँसराइ गरि त्यो देशको पाठ्यक्रम पढ्नु पर्ने हुन्थ्यो । जसले गर्दा एक ठाउँबाट अर्को ठाउँमा जाने मान्छेलाई युरोपमा सिकाइको हिसाबले असहज हुन्थ्यो । सामाजिक अध्ययन विषयका शिक्षकहरुको समूहले यस्तो पाठ्यक्रम निर्माण गर्ने निर्णय भया जुन विद्यार्थी एउटा देशबाट अर्को देशमा अर्को विद्यालयबाट अर्को विद्यालयमा जाँदा पनि उनीहरूको सिकाइमा कुनै असर नपरोस् । सोही उद्देश्यले सुरु भएको हो आईबी । सन् १९६८ मा आईबीले डिप्लोमा कार्यक्रम सुरु गरेको हो । सन् १९७० मा पहिलो पटक यसको परिक्षा भयो जसमा १० वटा देशका १२ वटा विद्यालयले भाग लिएका थिए । सुरुमा कक्षा ११ र १२ मा कार्यक्रम चलेपछि बिस्तारै ६ देखि ८ कक्षासम्म (आईबी एमवाईपी) कार्यक्रम कक्षा ३ देखि १२ वर्षको उमेर समूहका लागि (आइबी पिवाईपी) कार्यक्रम सञ्चालनमा आएको छ । विश्वभरको पाठ्यक्रम एउटै आईबी विश्वका जुनसुकै देशमा बसेर अध्ययन गरेपनि यसको पढाइ एउटै हुन्छ । पाठ्यक्रम पनि एउटै हुन्छ । आईबी डिप्लोमा कार्यक्रम अन्य कार्यक्रम भन्दा नितान्त फरक हो । यसले फरक खालको विद्यार्थी तयार गर्छ । यो विषय पढेका विद्यार्थीलाई विश्वका जुनसुकै देशमा जाँदा पनि सिकाइमा कठिनाई हुँदैन । यसले कुनै विषय पढ्दा कसरी पढ्ने र त्यसको बुझाइलाई कसरी व्यवहारमा उतार्ने भन्नेबारे सिकाउँछ । दुई वर्ष आईबी पढिसकेका विद्यार्थीले सोच्ने तरिका, गर्ने व्यवहारमा धेरै फरक हुन्छ । यो विषय २ वर्ष पढिसकेपछि विद्यार्थी कस्तो बन्छ भने आईबीओले स्पष्ट पारेको छ । आफूले सिकेको कुरा, आफुले अनुभव गरेको कुरा र आफुले र्निमाण गरेको ज्ञानमा त्यसलाई प्रतिबिम्बित गर्ने सोच विकास हुन्छ । त्यस्तै, विद्यार्थी खुल्लाविचारक (ओपन माइन्डेड ) हुन्छन् । आफुभन्दा फरक विचार सोच, दृष्टिकोणलाई स्वीकार गर्न सक्ने हुन्छन् । विद्यार्थी जोखिम लिन सक्ने खालका हुन्छन् । आफुले सिकेको कुराले आफ्नो वरिपरी रहेको मान्छेलाई हानी गर्छ कि गर्दैन म कसरी केयरिङ नागरिक बन्ने, आफुले जानेको कुरा प्रस्तुत् गर्ने र सोच्ने क्षमता बढाउँछ । कस्ता विषय पढाइ हुन्छन् ? यो कार्यक्रममा विद्यार्थीलाई समूह बनाएर अध्ययन गराइन्छ । २ वर्षसम्म समूह १ मा भर्ना भएर छैटौंसम्म पुगिसकेपछि परिक्षा दिनुपर्छ । पहिलो र दोस्रो समूहका विद्यार्थीले भाषाका विषय पढ्नुपर्छ । युलेन्स स्कुलको हकमा समूह क मा अंग्रेजी वा नेपाली भाषामध्ये छनोट गर्नुपर्छ । समूह ख मा अंग्रेजी, फ्रेन्च वा स्पेनिसमध्ये एउटा लिनुपर्छ जसले अंगे्रजी ए लिएको छ ती विद्यार्थीले स्पेनिस वा फ्रेन्चको प्ररारम्भिक चरणको भाषा सिक्छन् । जसले नेपाली लिएको छ उसले ‘बि’मा अंग्रेजी लिन्छन् । एउटा विद्यार्थीले न्युनतम २ वटा भाषा अनिवार्य पढ्नुपर्छ । तेस्रो मा सोसल साइन्सका विषय मध्ये एउटा विषय पढ्न पाइन्छ । त्यसमा बिजनेस स्टडी, इकनोमिक्स, साइकोलोजीमध्ये एउटा पढ्न पाइन्छ । त्यसपछि चौथोमा साइन्सका विषय फिजिक्स, क्यामेस्ट्री, बायोलोजी र कम्प्युटर साइन्समध्ये एउटा विषय पढ्न पाउँछन् । पाँचौँमा गणित छ । यो हेरक विद्यार्थीले पढ्नै पर्छ । छैटौं समूहमा आर्टसका विषयहरू भिजुअल आर्टस्, थियटर, फिल्म मेकिङ यी तीन विषय मध्ये एउटा पढ्न पाइन्छ । गु्रप ६ स्किप गरेर माथिका कुनै एक विषय थप पढ्छु भन्न पनि पाइन्छ । यसमा एउटा विद्यार्थीले न्यू नतम ६ विषय पढ्नै पर्छ । आईबी र अन्य कार्यक्रममा फरक नेपाल सरकारका अन्य कार्यक्रम र आईबीमा धेरै फरक छ । यसमा ६ वटा विषयसँगै तीनवटा मुख्य विषय पढ्नुपर्छ । एउटा विद्यार्थीले २ वर्ष पढिसकेपछि अनुसन्धानमुलक निबन्ध लेख्नुपर्छ , जुन कुरा नेपाल सरकारको कक्षा ११÷१२ को कार्यक्रममा सिकाइ हुँदैन । यस्तै, अर्को थेउरी अफ नलेज (ज्ञानको सिद्धान्त) । मलाई जे चिज थाहा छ त्यो मैले कसरी थाहा पाए भन्ने (फिलोसेफिकल कोर्स) टीओके हरेक आईबी पढ्ने विद्यार्थीले पढ्नै पर्छ । अर्को क्रियटिभेटी, एक्टिभेटी र सर्भिस पढ्नुपर्छ यसभित्र फोटोग्राफी, कुकिङ, विभिन्न क्रियटिभिटीमा इंगेज हुनुपर्छ । एक्टिभिटीभित्र खेलकुदका कार्यक्रम हुन्छन् र सर्भिस भित्र विद्यार्थी समुदायमा गएर काम गर्नुपर्छ । यसो गर्दा यहाँबाट पनि केही न केही सिकाई विद्यार्थीलाई हुन्छ । अरु कार्यक्रम पढेर २ वर्ष बाहिर निस्केको विद्यार्थी र आईबी पढेर बाहिर निस्केको विद्यार्थीको सोच्ने शैली, विद्यार्थीले गर्ने व्यवहार अरुको भन्दा निकै भिन्न हुन्छ । यो कोर्ष पास गरिसकेपछि जुनसुकै संकायमा गएर पनि विद्यार्थी स्नातक र स्नातकोत्तर गर्न सक्छन् । नेपाल सरकारले यो कोर्सलाई कक्षा १२ पास सरहको मान्यता दिँदै आएको छ । तर, डाक्टर र इन्जिनियर पढ्न चाहनेका लागि भने केही समस्या हुन्छ । मेडिकल साइन्स पढ्न हाम्रो देशमा फिजिक्स, क्यामेस्ट्री र बायो र म्याथ अनिवार्य पढ्नै पर्छ । इन्जिनियर हुन फिजिक्स, क्यामेस्ट्री र म्याथ पढेको हुनैप¥यो । तर, आईबीले तीन वटा साइन्स पढ्न दिँदैन । त्यसैले विद्यार्थीले डाक्टर इन्जिनियर बन्ने सोचले आईबी पढ्ने हो भने आईबीबाट सहमति माग्नुपर्छ । डाक्टर पढ्ने नै इच्छा हो भने आईबी भन्दा नेपाल सरकारको कार्यक्रम पढ्नुपर्छ । अहिलेसम्म १२ सय २३ विद्यार्थी दिक्षित भइसकेका छन् । अहिले आईबी पढ्ने विद्यार्थीको संख्या पनि बढ्दै गएको छ । नेपालमा आजभन्दा १५ वर्ष पहिलेदेखि यो कार्यक्रम सञ्चालन गर्दे आइरहेको युलेन्स स्कुलमा पनि विद्यार्थीको संख्या बढ्दै गएको छ । पहिलो वर्ष यहाँ भर्ना हुने विद्यार्थी २६ जना थिए । तर, अहिले धेरै बढेको छ । आईबीले विद्यार्थी यसरी तयार गर्छ कि उनीहरूलाई पनि क्याम्पसमा जान निकै सहज हुन्छ । यसमा विद्यार्थीको आकर्षण बढ्दै गएपनि १ सय ५० विद्यार्थीमात्र भर्ना गर्नुपर्ने प्राबधान भएकोले धेरै विद्यार्थी लिन भने सकिँदैन । नतिजा प्रक्रिया आईबी चार सेमस्टरको हुन्छ । आईबीओले वर्षको दुई पटक मे र नोभेम्बरमा परिक्षा लिन्छ । यसमा कुन महिनाको परिक्षा दिने भन्ने विद्यार्थीको रुचि हुन्छ । तीन विषय मे महिनामा र तीन विषय नोभेम्बरमा दिन्छ भन्न पनि पाइन्छ । यसमा आन्तरिक मूल्यांकन र बोर्ड परिक्षाभन्दा नितान्त फरक छ । यसमा यस्तो प्रोटकल बनाएको छ त्यो अलिकति पनि ब्रेक गर्न पाइँदैन । यसमा प्रश्नहरू घोकेर दिने खालको भन्दा अलि फरक खुल्ला किसिमको सोधिन्छ । तर, कन्सेप्ट बुझ्नुपर्छ । यो विषय पढेपछि विद्यार्थीले कक्षा १२ पास सरहको मान्यताकोे सर्टिफिकेट पाउँछन् । (युलेन्स स्कुलका प्राचार्य मेदिन लामिछानेसँग विकासन्युजका लागि इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)