मधेस प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना आग्रह
काठमाडौं । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले उक्त प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् । मुख्यमन्त्री सिंहले हालै शिक्षामन्त्री श्रेष्ठलाई त्यससम्बन्धी एक पत्र हस्तान्तरण गर्दै सो आग्रह गरेका हुन् । उक्त शाखा सञ्चालनका लागि सहिद परिवारका कम्तीमा एकजना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराउने प्रतिबद्धता जाहेर गर्दै ७५ वटा जिल्लाका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, अर्ध छात्रवृत्ति र पूर्ण शुल्क गरी तीन किसिमका कम्तीमा ५० प्रतिशत छात्रा भर्ना गरी बालबालिकाको शिक्षा पाउने अधिकारलाई प्रत्याभूति गराउने कटिबद्धता रहने पत्रमा उल्लेख गरेका छन् ।
एसईई पूरक परीक्षा तालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुनेछ । दुई वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि सरकारले पुनः परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ। परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन नपाउने जनाएको छ। पूरक परीक्षाको बोर्डको वेबसाइट www.see.gov.np बाट आवेदन दिन सक्नेछन् । साथै, ग्रेडवृद्धि पूरक परीक्षाका लागि विद्यार्थीले ५ सय रुपैयाँ दस्तुर बुझाउनु पर्ने बोर्डले जनाएको छ। बोर्डले २०८० चैत १५ गतेदेखि संचालन गरेको एसईई परीक्षाको नतिजा गत बिहीबार सार्वजनिक गरेको थियो । यस वर्षको नतिजा अनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका थियो । तालिका
एसईई नतिजाको जिम्मेवारी सबैले लिनुपर्छ : शिक्षामन्त्री
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालयको गुणस्तर सुधार गर्नको लागि तीन तहकै सरकार र विद्यालय व्यवस्थापन मिलेर काम गर्न जरुरी रहेको बताएकी छन् । २०८० को एसईई परीक्षाको नतिजाका विषयमा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । उनले विद्यालय शिक्षामा सुधार गरी गुणस्तरिय बनाउँदै उपलब्धी मुलुक नतिजा ल्याउनको लागि स्थानीय तह, अभिभावक र विद्यालय व्यवस्थापनले सबैभन्दा पहिला प्रभावकारी काम गर्न आवश्यक रहेको जानकारी दिइन् । ५२ प्रतिशत विद्यार्थीहरु ननग्रेडिङ(एनजी) हुनुमा शिक्षा क्षेत्रका कुनैपनि संयन्त्र उम्कने ठाँउ नभएको बताइन् । उनले तत्कालको कारणले मात्रै नभएर विगत लामो समयदेखि शिक्षा क्षेत्रमा देखिएको बेथिति र विद्यालयमा राजनीतिकरणको असर यो वर्षको एसईई नतिजामा देखिएको दाबी गरिन् । हामीले विगतका रिजल्टहरुलाई हेर्दा पनि प्रध्यानाध्यापक राम्रो भएको ठाउँमा एसईईको नतिजा राम्रो आएको भन्दै अब सरकारले विद्यालयको प्रध्यानाध्यापकको लागि निश्चित सेवा आयोग बनाउने गरी शिक्षा सेवा आयोगको नियमावली परिवर्तन गर्न लागेको बताइन् । अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयललाई दरबन्दी नदिएको अवस्थामा १ हजार ९ सय जनाको दरबन्दी मिलान गर्न बाँकी रहेको जानकारी दिइन् । उनले प्रध्यानाध्यापक दरबन्दीमा आर्थिक भार पर्ने भएकाले तीनै तहका सरकारले समान रुपमा खर्च गर्नेगरी कमजोर नतिजा ल्याएका विद्यालयहरुमा सक्षम प्रध्यानाध्यापक नियुक्ति गर्ने बताइन् । विद्यालयहरुले परीक्षाको भन्दा पनि सिकाईको नतिजा राम्रो ल्याउने बनाउन आवश्यक रहेको बताइन् । नियम कार्यान्वयन गर्नुपर्ने निकाय र व्यक्तिहरु विद्यालय शिक्षा सुधारको लागि कार्यान्वयनको निर्मम हुनुपर्ने बताइन् । राजनीतिमा लागेको शिक्षकलाई प्रदेश,स्थानीय तह र व्यवस्थापन समितिले हटाउन सक्नुपर्ने बताइन् । अहिलेको एसईईको नतिजालाई देखाएर उम्कने छुट कसैलाई नभएको जानकारी दिइन् । ‘एसईईको रिजल्टको जिम्मेवारी सबैले लिनुपर्छ, पाठ्यक्रमलाई सुभारको लागि(रिभाईज) गर्नको लागि कार्ययोजना माग गरेको छ, अर्थमन्त्रालयले शिक्षा मन्त्रालयललाई दरबन्दी नदिएको अवस्थामा १ हजार ९ सय जनाको दरबन्दी मिलान गर्न बाँकी छ, प्रध्यानाध्यापक दरबन्दीमा आर्थिक भार पर्ने भएकाले तीनै तहका सरकारले व्यहोर्ने हो भने कमजोर नतिजा ल्याएका विद्यालयहरुमा सक्षम प्रध्यानाध्यापक नियुक्ति गर्नसक्छौं’, उनले भनिन् । उनले एसईई नितिजाको जिम्मेवारी सबैले लिनुपर्ने बताइन् ।