बीमा कम्पनीसँग लगातार पराजित हुँदै बीमा समिति, युनाइटेड इन्स्योरेन्सले ल्यायो अन्तरिम आदेश
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति पछिल्लो समय बीमा कम्पनीहरुसँग लगातार पराजित हुँदै आएको छ । बीमा समितिका निर्णय बिरुद्ध बीमा कम्पनीहरुले अदालतमा दायर गरेका अधिकांश मुद्धामा समिति पराजित हुँदै आएको हो । केहि समय अघि मात्रै महालक्ष्मी लाईफ इस्न्योरेन्स कम्पनीलाई लाइसेन्स नदिने समितिको निर्णय अदालतले उल्ट्याईदिएको थियो । तोकिएको समयमा पुँजी पुर्याउन नसकेको भन्दै समितिले महालक्ष्मी लाईफ इन्स्योरेन्सलाई लाइसेन्स दिन अस्विकार गरेको थियो । तर महालक्ष्मीले सर्वाेच्च अदालतमा मुद्धा हालेर जित्यो । बीमा समितिलाई पराजित गर्ने पछिल्लो कम्पनीका रुपमा युनाइटेड इन्स्योरेन्स थपिएको छ । सीजी इलेक्ट्रोनिक्स आगलागी प्रकरणमा गलत ढंगले भुक्तानी गरेको भन्दै बीमा समितिले युनाईटेड इन्स्योरेन्स कम्पनीको फायर पोलिसीमा रोक लगाएका थियो । तर कम्पनीले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेर अन्तरकालिन आदेश ल्याएको छ । सर्वाेच्च अदालतका न्यायधिशद्धय सपना मल्ल प्रधान र ईश्वर खतिवडाको पूर्ण इजलासले युनाईटेड ईन्स्योरेन्स कम्पनीको फायर पोलिसी रोक्ने निर्णय कार्यान्वयन नगर्न बीमा समितिलाई अन्तरिम आदेश दिएको निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले जानकारी दिए । अब अदालतले अन्तिम फैसला नगरेसम्म युनाईटेड इन्स्योरेन्स कम्पनीले फायर पोलिसी बेच्न पाउनेछ ।
प्राइम लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भए पश्चात प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् । हाल प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाा रहेको छ । त्यस्तै, कम्पनीको जिवन बीमा कोष ६ अर्ब २० करोड रुपैयाँ र कुल प्रिमियम ११ अर्ब ७ करोड रुपैयाँ रहेको छ । इन्स्योरेन्सले देशभरका १२५ स्थानबाट सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।
बीमा बजारमा थपियो नयाँ कम्पनी, अजोड इन्स्योरेन्सले शुरु गर्यो व्यवसायीक कारोबार
काठमाडौं । नेपाली बीमा बजारमा नयाँ निर्जीवन बीमा कम्पनी अजोड ईन्स्योरेन्स लिमिटेडले बिहीबा(आज)देखि आफ्नो उपस्थिति जनाएको छ । कम्पनीले बीमा समितिबाट व्यवसायीक कारोबारको स्वीकृति प्राप्त गरे पश्चात् बिहीबारबाट कम्पनीको कर्पाेरेट कार्यालय सिटिसि मल, सुन्धाराबाट सेवा शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष बिनोद बिष्टले सबै संस्थापक सेयरधनी, संचालक समितिका सदस्यहरुको उपस्थितीमा उक्त सेवाको शुभारम्भ गरेका हुन् । मिति २०६४/१२/२० मा कम्पनी रजिष्ट्रारको कार्यालय, काठमाण्डौंमा दर्ता भई स्थापना भएको यस कम्पनीले मिति २०७४/०१/१५ गते बसेको विशेष साधारण सभाको बैठकको निर्णय अनुसार पुँजी वृद्धि गरेको छ । कम्पनीको अधिकृत पूँजी र चुक्ता पुँजी एक अर्ब मध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने गरी पुँजी बृद्धि गरिएको इन्स्योरेन्सले जनाएको छ । नेपालको प्रतिष्ठित व्यापारिक घराना, वाणिज्य बैंक, इन्भेष्मेन्ट कम्पनी, घरजग्गा निर्माण व्यवसायी, जल विद्युत् आयोजना प्रबद्र्धक, पर्यटन व्यवसायीका साथै विभिन्न सरकारी, गैर सरकारी संस्थाको उच्चपदमा रहि सेवावाट अवकास प्राप्त व्यक्तिहरु समेतको लगानी रहेको यस कम्पनीले छिट्टै सर्वसाधारणमा सेयर जारी गर्ने योजना बनाएको छ । हाल कम्पनीको संस्थापक सेयरधनी समुहमा १०४ जना संस्थापक सेयरधनीहरु रहेका छन् भने यस कम्पनीको प्रथम संचालक समितिको अध्यक्षमा बिनोदप्रसाद बिष्ट, संचालकमा मिनबहादुर गुरुङ्ग, आजाद श्रेष्ठ, राजेन्द्रप्रसाद कायस्थ, सागर गुरुङ्ग रहेका छन् । बैद्यनाथप्रसाद उपाध्याय कम्पनी सचिव रहेका छन् । यस कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा विगत दुई दशक भन्दा बढिको अनुभव प्राप्त कुमारबहादुर खत्रीले यस कम्पनीको उच्च व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् । यस कम्पनीले नेपाली बीमा बजारमा विभिन्न प्रकारका निर्जीवन बीमा सेवा सहित निकट भविष्यमा ग्राहकको आवश्यकता पहिचान गरी नयाँ बीमा योजनाहरु ल्याउने निर्णय गरेको छ । साथै, देशैभर शाखा सञ्जाल मार्फत् आफ्नो सेवा विस्तार गर्दै जाने कम्पनीको लक्ष्य रहेको छ ।