नेपालीलाई विदेशमा बीमा गर्न बाटो खुला गरिदै, अब नेपाली बीमा कम्पनीहरुको विजनेश विदेशी कम्पनीले खोस्ने

काठमाडौं । सरकारले नेपाली नागरिक वा कम्पनीलाई विदेशमा बीमा गर्न बाटो खुला गरिदिने भएको छ । सरकारले संसदमा पेश गरेको बीमा ऐन २०७५ को मस्यौदामा प्रत्यक्ष रुपमा विदेशमा बीमा गर्न पाउने व्यवस्था गरिएको छ । ‘नेपालमा इजाजतपत्र पत्र बीमकले स्वीकार नगर्ने बीमा व्यवसाय, पुर्नबीमा व्यवसाय वा नेपालमा इजाजतपत्र प्रदान नगरिएको बीमा व्यवसायका सम्बन्धमा विदेशी बीमा कम्पनीसँग कारोबार गर्न बाधा पर्ने छैन’ दफा २४ (३)मा बाधा फुकाउने नाममा लेखिएको छ । यसअघि नेपाली नागरिक वा नेपालमा दर्ता भएको कुनै पनि फर्म, कम्पनी, संघ, संस्थाले बिदेशमा बीमा गर्न नपाउने व्यवस्था थियो । विधेयकको दफा २४ को बाधा फुकाउ अनुच्छेद जस्ताको जस्तै पारित भएमा विदेशी लगानी रहेको नेपालको सबै कम्पनीहरुले बीमा विदेशी कम्पनीमा गर्न सक्ने जानकारहरु बताउँछन् । ‘प्रस्तावित व्यवस्था जस्ताको जस्तै आयो भने सूर्य नेपाल, यूनिलिभर, डावर नेपाल, बोटलर्स नेपाल जस्ता बहुराष्ट्रिय कम्पनीले नेपालमा बीमा गर्दैनन्’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने–‘इन्डस्ट्रियल अल रिक्स पोलिसी, साइबर क्राइम पाेलिसी वा  नेपालमा नभएको अन्य कुनै पोलिसीको नाममा उनीहरुले विदेशमा बीमा गर्छन ।’ कानुनले नै विदेशी कम्पनीलाई नेपाली बजार खुला गरेपछि विदेशी बीमा कम्पनीहरु नेपालका कर्पोरेट विजनेशनमा छिर्ने अनुमान गरिएको छ । ‘विदेशी भन्ने वित्तिकै राम्रो भन्ने सोच पनि छ । उनीहरुसँग केही फरक बीमा पोलिसी पनि हुन्छन्, विदेशी कम्पनीले नेपाली कम्पनीको बजार खोस्ने सम्भावना अधिक हुन्छ’ उनले भने । बैंक, होटल, जलविद्युत कम्पनी, सिमेन्ट उद्योग, परामर्श सेवा सञ्चालक लगायत धेरैले बिदेशी बीमा पोलिसी लिन सक्ने जानकारहरु बताउँछन् । जीवन बीमातर्फ पनि यसको प्रभाव पर्ने देखिएको छ । विकशित देशहरुले जीवन बीमा पोलिसीलाई व्यवसायिक लाभ र हानीसँग जोडेर विशेष प्रकारको बीमा पोलिसी तयार गरेका हुुन्छन् । त्यस्तै, हरेक वर्ष नेपाली मुद्रा अवमूल्यन हुने भएकोले भारत बाहेकका देशमा जीवन बीमा गर्दा विदेशी मुद्रा विनियम दरमा बृद्धिमा हुने लाभ पनि केही नेपालीले लिदै आएका छन् । ‘पुँजी बजारमा लगानी गर्ने, डेरिभेटिम मार्केटमा लगानी गर्ने लगानीकर्ताहरुलाई लक्षित गरेर विदेशमा बनेका जस्तो पोलिसी नेपालमा बन्न धेरै समय लाग्छ’ नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झा भन्छन्–‘अहिले विदेशमा बीमा गर्नु पुरै गैरकानुनी मानिन्छ । तैपनि सीमा क्षेत्रका नेपालीले भारतमा र राजधानीका सम्पन्न मानिसहरुले भारत, अमेरिका वा तेस्रो देशमा बीमा गरेको पाइन्छ । कानुनी रुपमा खुला भयो भने उनीहरुलाई विदेशमा बीमा गर्न सहज हुन सक्छ ।’ विदेशमा बीमा गर्ने बाटो खुला गर्ने हो भने जीवन बीमा बजार भन्दा निर्जीवन बीमा बजार बढी प्रभावित हुने उनीहरु बताउँछन् । तुलनात्मक रुपमा जीवन बीमा कम्पनीहरु बढी प्रतिस्पर्धी भएको र जीवन बीमा सम्बन्धी धेरै बीमा पोलिसीहरु नेपालमा बनिसकेको, बीमाको दावी भुक्तानी र सेवाको स्तर पनि राम्रो भएकोले जीवन बीमातर्फ कम जोखिम भएको बताइएको छ । नेपालमा नभएका बीमा पाेलिस बनाउन र नेपालमा नै बीमा गराउन प्रेरित गर्ने र बजारलार्इ दवाव  दिन काम नगरी सरकारले साेझै विदेशमा बीमा गर्न बाटाे खुला गर्नु बीमा बजारकाे लागि दुर्भाग्य भएकाे अनुभवीहरू बताउँछन् ।

आईएमई जनरल इन्स्योरेन्सले कटायो एक अर्ब प्रिमियम

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रिमियम एक अर्ब नाघेको छ । कम्पनीले गत आर्थिक बर्ष २०७४।७५ मा एक अर्ब ९२ करोड रुपैंया प्रिमियम संकलन गरेको हो । कम्पनीले हालसम्म देशभर ४२ वटा शाखाका २३५ जना कर्मचारी मार्फत सेवा प्रवाह गरिरहेको छ । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले आगामी दिनमा कम्पनीलाई अझै शसक्त बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले एक अर्बको प्रिमियम संकलन गरेर नयाँ उचाई प्राप्त गर्न अहोरात्र खटिने कर्मचारीहरु धन्यवाद दिँदै अझै शसक्त ढंगले काम गर्न सुझाव पनि दिए ।

सगरमाथा इन्स्योरेन्सको बीमा शुल्क संकलनमा वृद्धि, ८३१.५७% प्रतिफल दिन सफल

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ मा करिब ३० प्रतिशत बढी बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा इन्स्योरेन्सले १ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७३/७४ को तुलनामा करिब ३० प्रतिशत बढी हो । सोही अवधिमा कम्पनीले १ अर्ब १८ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताएका छन् । क्षेत्रीका अनुसार हालसम्म कम्पनीले लगानीकर्ताहरुलाई लगानीको ८३१.५७ प्रतिशत प्रतिफल दिई सकेको छ ।