एनएलजी इन्स्योरेन्स कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सका का.मु. प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा एनएलजी इन्स्योरेन्स कम्पनीबाट गर्न सक्नेछन् । उक्त समारोहमा एनएलजी इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक मनोज श्रेष्ठ, बरिष्ट प्रवन्धक दीपककुमार चन्दको उपस्थिती रहेको थियो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, नरेशराज अर्यालयको उपस्थिती रहेको थियो ।
सानिमा लाईफ इन्स्योरेन्स र नागरिक कम्यूनिटी टिचिङ हस्पिटलबीच क्यासलेस सम्झौता
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र नागरिक कम्यूनिटी टिचिङ हस्पिटलबीच नगद रहिद स्वास्थ्योपचार गर्ने (क्यासलेस) सम्झौता भएको छ । उक्त सम्झौता पश्चात इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुरको गठ्ठाघर स्थित नागरिक कम्यूनिटी टिचिङ हस्पिटलसँग सम्झौता गरेको हो । जीवन बीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब नागरिक कम्यूनिटी टिचिङ हस्पिटलले गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले गर्ने छ । सो सम्झौतामा अस्पतालका तर्फबाट प्रवन्ध सञ्चालक नगेन्द्र झा र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले १५ प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्सका जीवन वीमाका ग्राहकहरm र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने सम्झौता भएको हो ।
एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार
काठमाडौं । यस साता एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको १५ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा कुमारी बैंकको अग्रस्थानमा छ । बैंकको ३ लाख ९० हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । यस साता २अर्ब ११ करोड ८८ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कूल १९१ कम्पनीको ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५८.४४ प्रतिशत बढी हो । गत साता १८४ कम्पनीको १ अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरका ४२ लाख ५४ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२.४१ अंकले घटेर अन्तिम दिन १हजार १९१. ९८ अंकमा पुगेको छ । रासस