पुनर्बीमा कम्पनीले गल्ती सच्यायो, संस्थागत लगानीकर्ताको सेयर संरचना यथावत, सवा अर्बकाे अार्इपीअाे जारी हुने

महेश गुरागाई-अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनी काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो गल्ती सच्याएको छ । कम्पनीको असार ७ गते सम्पन्न सञ्चालक समिति बैठकले पुरानो गल्ती सच्याउँदै सेयर संरचना बदल्ने निर्णयबाट पछि हटेको हो । अब कम्पनीमा सरकार बाहेकका संस्थाक सेयर धनीहरुको हिस्सा घट्ने छैन। असार ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ८ अर्ब चुक्ता पुँजी पुर्याउन १६ प्रतिशत सर्वसाधारणलाई सेयर जारी गर्ने र बाँकी रहेको ८४ प्रतिशत सेयरमा सरकार र ३२ वटा संस्थापक लगानीकर्ताहरुको हिस्सा पुरानै संरचनामा कायम हुने निर्णय गरेको हो । यो पनि हेर्नुहोस्–पुनर्बीमा कम्पनीको माइन्यूट गैर कानुनी, संस्थागत लगानीकर्ता बीमा समितिको शरणमा हाल कम्पनीमा नेपाल सरकारको स्वामित्व ४३.५५ प्रतिशत छ भने ३२ वटा संस्थाहरुको हिस्सा ५६.४५ प्रतिशत छ । ८ अर्ब चुक्ता पुँजी पुर्याउँदा सरकारको हिस्सा ४३.५५ प्रतिशत नै कायम हुने गरि माइन्युट भएपछि ३२ वटा संस्थापक लगानीकर्ताहरुले आपक्ति जनाएका थिए । अब भने नेपाल पुनर्बीमा कम्पनीमा १६ प्रतिशत सर्वसाधारण(१५ प्रतिशत सर्वसाधारण र १ प्रतिशत कर्मचारी)को सेयर हिस्सा रहनेछ । बाँकी रहेको ८४ प्रतिशत सेयर हुन अाउने ६ अर्ब ७२ कराेडमा सरकारको ४३.५५ र ३२ वटा कम्पनीहरुको ५६.४५ प्रतिशत नै कायम हुने नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले जानकारी दिए । ‘८ अर्ब चुक्ता पुँजीमा १६ प्रतिशत सेयर सर्वसाधारणको हुनेछ भने बाँकी रहेको ८४ प्रतिशत सेयरमा सरकारको ४३.५५ र अन्य संस्थापकहरुको हिस्सा ५६.४५ प्रतिशत कायम हुनेछ’, प्रमुख कार्यकारी अधिकृत भण्डारीले भने । अब कम्पनीमा सरकारको लगानी २ अर्ब ९२ करोड हुनेछ भने ३२ वटा कम्पनीको लगानी ३ अर्ब ८० करोड हुनेछ । सर्वसाधारणको लगानी भने १ अर्ब २८ करोड हुनेछ । जस अनुसार ३२ वटा कम्पनीको सेयर हिस्सा ४७.५ प्रतिशत हुनेछ भने सरकारको सेयर हिस्सा ३६.५ प्रतिशत हुनेछ । सर्वसाधारणको सेयर हिस्सा १६ प्रतिशत रहनेछ । कम्पनीले सार्वजनिक सूचना प्रकाशित गर्दै आफ्नो हिस्सामा परेको रकम लगानीका लागि सरकार र अन्य संस्थापक लगानीकर्ताहरुलाई आग्रह गरिसकेको छ । ४५ दिनभित्र सरकार र अन्य संस्थापकहरुले आफ्नो हिस्साको रकम बुझाईसक्नुपर्नेछ । आइपीओ जारी गरेपछि नेपाल पुनर्बीमा कम्पनीले एक अबरु रुपैंयाँ बोनस सेयर बाढ्ने निर्णय पनि गरेको छ ।  

शिखर इन्स्योरेन्सको १० लाख कित्ता प्रवद्धक सेयर साधारणमा परिणत, सर्बसाधारणको कति ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १० लाख ५७ हजार ३१० कित्ता प्रवद्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यस कम्पनीको कुल सेयरमा ६० प्रतिशत प्रवद्धकको र ४० प्रतिशत सर्बसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४५ रुपैयाँ रहेको छ ।

महालक्ष्मी विकास बैंकद्धारा सिद्धार्थ र नेपाल इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले शुक्रबार(आज) थप दुई बीमा कम्पनीबीच बैंकास्योरेन्स सम्झौता गरेको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन तथा निर्जीवनको बीमा सेवा दिने उद्देश्यले सिद्धार्थ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीसँग उक्त सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र वैदवार क्षेत्रीले एक समारोहबीच हस्ताक्षर गरेका छन् । यस्तै प्रकारको सम्झौतामा सोही दिन बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट उक्त कम्पनीहरुको निर्जिवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण निर्जिवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् । हाल बैंकले ७२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहको छ भने बैंकले चैत्र मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।