प्राइम लाइफको जीवन उपहार, सहायक बीमालेख मार्फत दोहोरो सुबिधा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्राइम जीवन उपहार नामको नयाँ बीमा योजना ल्याएको छ । न्युनतम पाँच लाख रुपैंयाँ बीमाङक कायम गरिएको योजनामा अधिकतमको सिमा तोकिएको छैन् । न्युनतम १६ बर्षका किशोर किशोरी देखि ५५ बर्ष उमेरसम्मका मानिसहरुले यो बीमा लेखमा सहभागीता जनाउन सक्नेछन् । ७० बर्षको उमेरमा अनिवार्य बीमा अवधी समाप्त हुने योजनामा मुल बीमालेखमा बीमा प्रारम्भ भएको पहिलो बार्षिकोत्सवपछि अनिवार्य रुपमा मुल बीमालेख बराबर बिमाङकको सहायक बीमालेख जारी गरेर बिमितलाई दोहोरो सुबिधा उपलब्ध हुनेछ । बीमा लेख समाप्त भएपछि बीमाङकको २५ प्रतिशत तथा अनिवार्य सहायक बीमाङकको १०० प्रतिशत तथा खुबै बीमालेखले आर्जन गरेको बोनस पनि प्राप्त हुनेछ । बीमा लेख कायमै रहेको अवस्थामा बीमितको मृत्यु भएमा मुल बीमालेख र सहायक बीमालेखको बीमाङक रकम तथा बोनस रकम एकमुष्ठ भुक्तानी गरिनेछ । बीमितले थप सुबिधा लिन चाहेमा दुर्घटना बीमा पनि गराउन सक्नेछन् । नयाँ बीमा लेखा सार्वजनिक गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले नयाँ खाले बीमा पोलिसीहरुले बीमा क्षेत्रको विकासमा सहयोग पुर्याउने धारणा राखेका थिए । प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले नयाँ बीमा लेख मार्फत नागरिकहरुले डबल फाईदा लिन सक्ने बताए ।

एनआईसी एशिया बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाबाट रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन् । हाल बैंकले २३३ शाखा कार्यालयहरु, २२२ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

एलआईसी नेपालले घोषणा गर्यो नयाँ बोनस दर, ८५ रुपैयाँसम्म दिने

काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपाल लिमिटेडले बिमितलाई ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । कम्पनीले प्रतिहजार न्युनतम ६१ देखि ८५ रुपैयाँसम्म बिमितलाई बोनस दिने भएको हो । आर्थिक वर्ष ०७३/०७४ का लागि बिमितलाई नयाँ बोनस दर निधारण गरेको कम्पनीले जनाएको छ । कम्पनीले ल्याएको जीवन आस्था योजनामा प्रतिवर्ष न्युनतम ८० देखि ८५ रुपैयाँसम्म बोनस दिने भएको छ । यो अन्य योजनाको भन्दा बढी हो । सावधिक आजिवन जीवन बीमामा वर्ष हेरी न्युनतम ६१ देखि ८५ रुपैयाँसम्म बोनस दिने भएको छ । जीवन तरङ बीमामा न्युनतमा ६१ देखि ७२ र अग्रिम भुत्तानी सावधिक जीवन बीमामा प्रतिहजार ६१ देखि ६३ रुपैयाँसम्म बोनस दिने एलआईसीले जनाएको छ ।