आईएमई जनरल इन्स्योरेन्सको हकप्रद पुस १७ गतेदेखि, क-कसले पाउँछन् हकप्रद भर्न ?
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पुस १७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले हालको चुक्ता पुँजीको ८० प्रतिशतले हुन आउने ४३ करोड २० लाख रुपैंया बराबरका ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ । हाल करिब ५४ करोड चुक्ता पुँजी भएको इन्स्योरेन्सको उक्त हकप्रद जारी गरेपछि चुक्ता पुँजी करिब ९७ करोड पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई कम्तीमा १ अर्ब चुक्ता पुँजी पुर्याउन भनेकोमा अपुग बाँकी करिब ३ करोड बराबरको पुँजी बोनस शेयर दिएर पुर्याउनेछ । उक्त हकप्रद शेयरका लागि मंसिर ६ गतेसम्म आफ्नो नाममा शेयर कायम भएका शेयरधनीले आफ्नो खाता रहेको बैंकबाट सीआश्वा मार्फत् आवेदन गर्न पाउनेछन् । शेयर निष्कासन अवधि माघ २१ सम्म रहने इन्स्योरेन्सले जनाएको छ ।
एनसीसी बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बीमा पोलिसी बिक्री गर्ने सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्स बीच बीमा पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । मंसीर २६ गतेको भएको उक्त सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिने भएको छ ।
कामना सेवा विकास बैंक र यूनियन लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा कामना सेवा बिकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र यूनियन लाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट यूनियन लाईफ इन्स्योरेन्सको बीमालेख खरिद गर्न सक्ने छन् ।