राष्ट्रिय बीमा र नेपाल पुनर्बीमा कम्पनीबीच ५०प्रतिशत पुनर्बीमा सम्झौता

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीबीच भएको ५० प्रतिशत पुनर्बीमा सम्झौता भएको छ । कम्पनीको केन्द्रीय कार्यालय रामशाहपथ काठमाडौंमा राष्ट्रिय बीमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायमाझी र नेपाल पुनर्बीमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले यस सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामा बीमा शुल्क तथा बीमा दाबीमा दुबै कम्पनीको समान सहभागिता रहेको छ । उक्त सम्झौता पश्चात कम्पनीले जारी गरेको कर्मचारी संचयकोषका ६ लाख संचयकर्ताहरुको वार्षिक १ लाख रुपैयासम्मको औषधोपचार र १० लाख रुपैयासम्मको घातक रोगको उपचारको लागि पुनर्बीमा ब्यवस्था भएको छ ।

नेपाल लाइफको उप कार्यकारी अधिकृतमा सन्तोष प्रसाईँ चयन

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको उप प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई चयन भएका छन् । यही पुस ६ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले उनलाई उप प्रमुख कार्यकारी अधिकृतमा चयन गर्ने निर्णय गरेको हो । पुस ८ गतेदेखि लागू हुने गरी प्रसाईँलाई उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको कम्पनीका वित्त, लेखा तथा मानव संसाधन विभाग प्रमुख रोशन दवाडीले जानकारी दिए ।

अजोड इन्स्योरेन्स र ओम हस्पिटलबीच क्यासलेस सेवा सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेण्टर बीचनगद रहित(क्यासलेस) उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा अस्पतालका तर्फबाट प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा ओम हस्पिटलबाट क्यासलेस अर्थात नगदरहित उपचार सेवा उपयोग गर्न पाउने छन् । अजोड इन्स्योरेन्सले स्वास्थ बीमामा जोड दिएको र आगामी दिनमा पनि धेरै भन्दा धेरै मानिसमा स्वास्थ बीमाबारे सचेतना बृद्धि गर्ने उद्धेश्यले उक्त सम्झौता गरेको जनाएको छ । त्यस्तै, इन्स्योरेन्सले देशैभरीका हस्पिटलसंग सम्झौता गर्ने उद्देश्यका साथ उपत्यकाका विभिन्न हस्पिटलमा उक्त सम्झौता गरिसकेको छ । साथै, उपत्यका बाहिरका अस्पतालमा पनि छिटै सम्झौता गर्ने कम्पनीले जनाएको छ ।