इटहरी र कटारीमा मेटलाइफको नयाँ एजेन्सी कार्यालय उद्घाटन

काठमाडौँ । मेटलाइफले प्रदेश नं. १ अन्तर्गतका इटहरी र कटारीमा दुईटा नयाँ एजेन्सी कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख वितरण अधिकृत अरुण बस्नेत तथा अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले दुवै कार्यालय उद्घाटन गरेका हुन् । कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्ने उद्देश्यका साथ नयाँ एजेन्सी कार्यालय बिस्तार गरेको जनाएको छ । कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछ । थप गरिएका दुई नयाँ कार्यालयहरु बिराटनगरमा रहेको शाखा कार्यालयको मातहतमा रहने कम्पनीले जनाएको छ ।

साउन २९ गते अन्तर्राष्ट्रिय गोष्ठी हुने, बैंकिङ र बीमा क्षेत्रको जोखिमबारे छलफल

काठमाडौँ । अन्तराष्ट्रिय जोखिम व्यवस्थापन गोष्ठी साउन २९ गते हुने भएको छ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल लिमिटेड(बीएफआईएन)को प्रथम वार्षिकोत्सवका अवसरमा गोष्ठी आयोजना गर्न लागिएको हो । उक्त गोष्ठी राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गर्ने कार्य तालिका रहेको छ । होटल हायात रिजेन्सीमा हुने गोष्ठीमा जोखिम व्यवस्थापनको नियामक र निरीक्षणात्मक दृष्टिकोणबारे राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र तथा बैंक तथा वित्तीय क्षेत्रका विज्ञ सुदीप खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसैगरी, ठूला तथा साना आयोजनाहरुमा गरिने लगानीका जोखिमहरु र तिनका सुधारात्मक रणनीतिहरुबारे सेन्ट्रल बैंक अफ इण्डिया लिमिटेडका पूर्व अध्यक्ष एस श्रीधर तथा जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले कार्यपत्र प्रस्तुत गर्नेछन् । यसैगरी, यान्त्रिक परिवर्तन र वित्तीय एवम् बीमा क्षेत्रमा देखा पर्ने जोखिमहरुबारे भारतको एक्जिम बैंकका सहायक महाप्रवन्धक दीपक भाटियाले कार्यपत्र प्रस्तुत गर्ने बीएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले बताए ।

रिलायन्स लाईफ इन्स्योरेन्सको बीमा भुक्तानी अब खल्तीबाट

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यममार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता पछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले अबआफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्ने छन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्ने छन् । उक्त सम्झौता बारे बोल्दै रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले खल्तीसँग भएको सहकार्यले बीमाशुल्कको डिजिटल भुक्तानी सेवा सुरु गर्न पाउँदा उत्साहित भएको बताए । त्यस्तै, खल्तीमार्फत जीवन बीमाको भुक्तानी सेवा सुचारु गर्न लागेको अवसरमा खल्तीका प्रवन्ध निर्देशक मनिष मोदीले सम्झौता पछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकहरुले आफ्नो बीमा शुल्क भुक्तानी गर्न इन्स्योरेन्स कम्पनीको अफिस वा बैंक धाइराख्नु नपर्ने बताए । ‘खल्ती डिजिटल वालेट’ को मोबाईल एप खल्ती डटकमबाट डाउनलोड गर्न र बीमा शुल्क भुक्तानी गर्न सकिने जनाइएको छ ।