नेपाल इन्स्योरेन्सको एजीएम भदौ ८ गते, ७.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव
काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७० औँ वार्षिक साधारण सभा भदौ ८ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले बिहान ११ बजे एयरपोर्ट होटल सिनामंगल काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब १ करोड ९१ लाख ३ हजार ८ सय ६२ रुपैयाँको ७.५ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीमा रिक्त विज्ञ स्वतन्त्र सञ्चालक १ जना(चार वर्षका लागि) र साधारण सेयरधनी समूहतर्फ रिक्त १ जना सञ्चालक पदमा बाँकी कार्यकालका लागि सञ्चालक समितिबाट नियुक्त गरिएकाले सो को पनि अनुमोदन गर्नेछ । निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ । साधारण सभा प्रयोजनका लागि साउन २४ गतेदेखि भदौ ८ गतेसम्म कम्पनीको सेयरधनी दर्ता किताब बन्द रहने कम्पनीले जनाएको छ ।
युनाइटेड इन्स्योरेन्सकाे ७२ लाख ५७ हजार कित्ता हकप्रद सेयर निष्काशन, असाेज ६ गतेसम्म आवेदन खुला
काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर निष्काशन गरेकाे छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार उक्त हकप्रद सेयरका लागि भदौ ३ गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने छ । चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँको १ः२४ को अनुपातमा(अर्थात विद्यमान १ कित्ता सेयर बराबर नयाँ २.४ कित्ताका दरले) सेयरधनीलाई रु. ७२ करोड ५७ लाख ६० हजार रुपैया सेयर पूँजी बराबर रु. १०० अंकित दरको हकप्रद निष्काशन गर्न लागिएको हो । हकप्रद निष्काशन प्रयोजनको लागि साउन १४ गते सेयरधनी दर्ता किताब बन्द गरिएकाले सो भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरकाे लागि आवेदन दिन पाउने धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
बैंकास्योरेन्सबाट २ अर्ब १५ करोड बीमा शुल्क आर्जन
काठमाडौ । गत आर्थिक वर्षमा बैंकास्योरेन्सबाट बैंकहरूले दुई अर्ब १५ करोड बीमा शुल्क आर्जन गरेका छन् । समग्र बीमा बजारको पहुँच १७ प्रतिशत पुग्दै गर्दा बैंकास्योरेन्समार्फत बीमा गराउनेको हिस्सा ३ प्रतिशत पुगेको हो । चालु आर्थिक बर्षमा बीमा कम्पनीहरुले ७१ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार प्रथम बीमा शुल्कबाट ३० अर्ब ४१ करोड रुपैयाँ आर्जन भएको छ । नवीकरण बीमा शुल्क भने ३९ अर्ब २६ करोड रुपैयाँ रहेको बीमा समितिको तथ्याङ्ले देखाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ‘नेपाल राष्ट्र बैकले बैंकहरुलाई बीमामा सहभागी हुने अवसर दिएको थियो, त्यसमा हामी सकारात्मक नै थियौ ।’ यस आवको मौद्रिक नीतिले केही कडाइ गरेको छ ।’ बीमा बजारमा ३ प्रतिशत पहुँच वृद्धिमा बैकको सहयोग सहयोग रहेको छ । यस्तो अवस्थामा हामीले बीमा कम्पनीकै अभिकर्ता मार्फत ७ प्रदेशमै बीमा सेवा दिने लक्ष्य राखेका छौँ । पौडेलले अहिलेको समयमा बैक र बीमा एक सिक्काको दुई पाटा भएकोले दुबै महत्व उत्तिकै रहेको बताए । आर्थिक वर्ष २०७६\७७ को मौद्रिक नीतिमा बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयम्ले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने र कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था उल्लेख गरिएको छ । सो व्यवस्थाले बैकले बीमा नै नगर्ने चाहि भनेको होइन बीमा समितिका एक अधिकारी बताए । बीमा समितिले नियामक भएको नाताले नेपाल राष्ट्र बैकलाई नीति ल्याउने अधिकार हुने र सो कुरालाई आफूहरुले सकारात्मक रुपमा हेरेको बताएको छ । बैकहरुले समेत बीमाको महत्वलाई बुझेर आत्मसाथ गर्न चाहेको बीमा समितिको बुझाइ रहेको छ ।