प्राइम लाइफले कमायो ३१ करोड ३० लाख नाफा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आव २०७५/७६ आर्थिक वर्षको चौथो त्रैमासमा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । प्राइम लाइफले मंगलबार प्रकाशित गरेको आर्थिक वर्ष २०७५/७६ को अन्तिम त्रैमासिक(असार मसान्त) सम्मको वित्तीय विवरणमा उक्त नाफा कमाएको उल्लेख छ । अघिल्लो वर्ष २१ करोड ६३ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो । यो वर्ष अघिल्लो वर्षको तुलनामा ४४.७०% ले बढी नाफा कमाएको हो । यस्तै, प्राइमले खुद बिमा शुल्क २ अर्ब ८६ करोड ७४ लाख ३ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । अघिल्लो वर्ष कम्पनीले २ अर्ब २१ करोड २४ लाख ४० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले प्रकाशित गरेको विवरण अनुुसार यस त्रैमाससम्ममा कुल ५० करोड ७० लाख ९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने कुल ८० लाख ४४ हजार रुपैयाँ रहेको छ । कम्पनीले ३९ करोड ६८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको जनाएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा भने १ अर्ब २४ करोड ५४ लाख ४६ हजार रुपैयाँ रहेको उल्लेख छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ७० पैसा रहेको छ ।

गुराँस लाइफले हकप्रद सेयर निष्काशन गर्ने, एनएमबी क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच सोमबार हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता भएको छ । बीमा समितिको निर्देशन एवम् चुक्तापुँजी बृद्धि योजना अनुरुप कम्पनीको नवौं साधारण सभाबाट पारित १००% (१ः१) हकप्रद शेयर निष्काशन गर्नको लागि एनएमबी क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिएको हो । सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । कम्पनीको २०७५ चैत २१ गते सम्पन्न ९ औं साधारण सभाबाट पारित बोनस शेयर सुचीकृत भई सकेको छ भने कम्पनीले चुक्तापुँजी रु. २ अर्ब पुर्याउन बीमा समितिको स्वीकृती लिई प्रबन्धपत्रमा अधिकृत, जारी तथा चुक्तापुँजी रु. २ अर्ब राखी नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयबाट संशोधन गरी सकिएको कम्पनीले जनाएको छ ।

नेको इन्स्योरेन्सको सिईओमा अशोककुमार खड्का,‘अनलाइनबाट बीमा पोलिसी किन्न सक्ने बनाउँछु’

काठमाडौं । नेको इन्स्योेरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा अशोककुमार खड्का नियुक्त भएका छन् । खड्का यसअघि सोही कम्पनीको डेपुटी सिईओको रुपमा कार्यरत रहेका थिए । उनको कार्यकाल ४ वर्षको लागि तोकिएको छ । उनलाई बुधबारदेखि सिईआको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको हो । साढे तीन वर्षदेखि नेको इन्स्योरेन्स डेपुटी सिईओको पद सम्हाल्दै आएका खड्काले आफ्नो बीमा बजारलाई डिजिटाइजेशन गर्ने बताए । ‘आम उपभोक्ताले घरमै बसेर बीमा पोलिसी किन्न सक्ने वातावरण बनाउने छु,’ उनले भने- ‘ मेरो प्राथमिकता भनेकै बीमा बजारलाई डिजिटाइजेशन गर्नु हो ।’ साथै नयाँ/नयाँ पोलिसी ल्याएर आम जनमानसलाई सेवा दिने छु ।’ निर्जीवन बीमा क्षेत्रको पहुँच विस्तार गर्न नयाँ क्षेत्रमा प्रवेश गर्ने समेत उनको योजना छ । उनले सरकारले लिएको नीति बमोजिम मर्जर प्रक्रियालाई अघि बढाउने योजना सुनाए । ‘नेको अन्य कम्पनीसँग गएर गाभिदैन,’ उनले भने-‘हामी अन्य कम्पनीलाई गाभ्ने छौं । सरकारले लिएको नीतिलाई सघाउन म सधै अग्रसर रहने छु ।’ वि.सं २०५० सालमा तत्कालिन इन्डोसिज बैंक, हालको नेपाल इन्भेष्टमेन्ट बैंक(एनआईबीएल) मा असिटेन्टबाट बैंकिङ करियर शुरु गरेका खड्काले १२ वर्ष सोही बैंकमा काम गरे ।अधिकृतमा काम गर्दै गर्दा एनआईबीएल छाडेका उनले त्यसपछि प्राइम कमर्सियल बैंकमा असिस्टेन्ट म्यानेजरको रुपमा प्रवेश गरेका हुन् । प्राइममा साढे दुई वर्ष काम गरेपछि खड्का स्टाण्डर्ड फाइनान्समा डिजीएम भए । स्टाण्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकमा मर्ज भएपछि त्यहाँ खड्का चिफ म्यानेजर थिए । २०७१ सालमा सल्लाहकार बनेर नेको इन्स्योरेन्स प्रवेश गरेका खड्काले डेढ वर्ष सोही पदमा रहेर कार्य सम्पादन गरे । त्यस यता उनी डेपुटी सिइओ थिए । हाल नेको इन्स्योरन्सको चुक्ता पुँजी एक अर्ब १७ करोड रहेको छ भने कम्पनीले सेयरधनीलाई १२ प्रतिशत बोनस दिने निर्णय गरिसकेको छ । उक्त कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ४८३ रुपैयाँ रहेको छ ।