रिलायबल इन्स्योरेन्स तेश्रो वर्षमा, नयाँ योजनाहरु ल्याउने लक्ष्यः सीईओ लोहनी

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दोश्रो वर्ष पूरा गरी तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । उक्त रक्तदान कार्यक्रममा कम्पनीका संस्थापक, सञ्चालक, कर्मचारी, अभिकर्ता र सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो । कम्पनीले आगामी दिनहरुमा हरेक नेपालीलाई सुहाउँदो नयाँ नयाँ योजनाहरु ल्याउने लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायणबाबु लोहनीले जनाएका छन् ।

एटीएम ह्याकिङ प्रकरणबारे बैंकरहरुकाे आकस्मिक बैठक बोलाउदै राष्ट्र बैंक

काठमाडौं । कार्डमार्फत् हुने अनलाइन भुक्तानीमा समस्या देखिएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँग आकस्मिक बैठक बाेलाउने तयारी गरेको छ । नबिल बैंकसहित ६ ओटा बैंकको सिस्टम ह्याक गरेर पैसा निकालिएको थाहा भएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आकस्मिक छलफल गर्न लागेको राष्ट बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए । अहिलेसम्म ६/७ ओटा बैंकको एटीएम ह्याक भएको र डेढ करोड रकम हराएको भन्ने जानकारी आएको छ, उहाँहरुलाई बोलाएर छलफल के भएको रहेछ र अब कसरी अगाडी बढ्ने भन्नेबारे छलफल गर्छौँ,  सुरक्षा प्रत्याभूतिका लागि सबै एटीएमहरु बन्द गर्नुपर्ने अवस्था पनि हुनसक्छ’- शिवाकोटीले विकासन्यूजसँग भने । यसबारे नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेम्स)ले समेत बैंकरहरुसँग बैठक बोलाएर आकस्मिक रुपमा अहिले छलफल गरिरहेको छ । यता, नबिल बैंकको एटीएमबाट पैसा चोर्दा चोर्दै पाँच चिनियाँ नागरिक पक्राउ परेको घटनाबारे महानगरीय प्रहरी परिशर काठमाडौँले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ ।

एनएलजी इन्स्योरेन्सको साधारण सभा असोज ८ गते, बुक क्लोज कहिले ?

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीको तेह्रौँ वार्षिक साधारण सभा असोज ८ गते हुने भएको छ । कम्पनी सञ्चालका समितिको विहीबार साँझ बसेको बैठकले बिहान ११ बजे अम्रपाली ब्याङ्केट बालुवाटार काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि भदौ २५ गते १ दिन सेयर दाखिला खारेज बन्द(बुक क्लोज) हुने जनाइएको छ । सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०७४/७५ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिने छ । साथै लेखा परीक्षकको प्रतिवदेन सहितको २०७५ असार मसान्तसम्मको वासलात, आव २०७४/७५ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने जनाइएको छ । कम्पनीको हालको पूँजी ६४ करोड ४ लाख ६ हजार २ सय रुपैयाँ रहेको छ । यसअघि जेठ १४ गते सम्पन्न विशेष साधारण सभाबाट हालको चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित भएको थियो ।