आगलागीबाट ३२ पसल नष्ट, एक जनाले साढे ३१ लाख क्षतिपूर्ति पाउँदा अरुको हात खाली

पोखरा । गत साउन २८ गते पोखराको नयाँ सडकस्थिति मिनि मार्केट कम्प्लेक्समा आगलागी भयो । ३० वटा पसल र २ वटा कार्यालय आगलागीबाट ध्वास्त भयो । करोडौ रुपैयाँ बराबरको धनमाल छिनझरमा नै खरानी भयो । घट्नाको एक महिनापछि अर्थात भदौ ४ गते अर्थमन्त्री युवराज खतिवडा, पोखरामहानगर पालिकाका नगर प्रमुख मानबहादुर जीसी, नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत महत्वपूर्ण व्यक्तिहरुको माझ पीडित मध्ये एक लिलाधर ढुंगानालाई ३१ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरियो । शुभ यूनिक होम डेकोरेशनका मालिक ढुंगानाले साढे ३१ लाख रुपैयाँ क्षतिपूर्ति पाउँदा अरु ३१ पसलको मालिकहरुको हात खाली भयो । ढुंगाना जस्तै अरु धेरै व्यवसायीहरुले त्यस मिनि मार्केटमा करोडौ रुपैयाँ लगानी गरेर व्यापार गर्दै आएका थिए । उनीहरु सबैको लगानी आगलागीबाट खरानी भएको थियो । बाँकी ३१ सटर तथा अफिसका सञ्चालकहरुले एक रुपैयाँ पनि क्षतिपूर्ति पाएनन् । यहाँ अर्थमन्त्री वा मेयरले विभेद गरेका होइनन् । बीमा र जोखिम व्यवस्थापन सम्बन्धि ज्ञान नभएका व्यवसायीहरुले क्षतिपूर्ति पाएनन् । शुभ यूनिक होम डेकोरेशन, जसले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडमा ५ हजार ७७५ रुपैयाँ बीमा शुल्क तिरेर बीमा गरेको थियो, उसलाई बीमा कम्पनीले ३१ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएको हो । अरुले बीमा नगर्दा क्षतिपूर्ति पाउन सकेनन् । आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत यूगेशभक्त बादे श्रेष्ठले आगलागीबाट भएको धनमालको क्षतिपूर्ति दुःख व्यक्त गर्दै बीमित लिलाधर ढुंगानालाई निजको पसलमा भएको क्षतिको बीमा दावी भुक्तानी गर्न पाएकोमा खुशी व्यक्त गरे । बीमा गर्दा र नगर्दा जोखिम कति कम वा धेरै हुन्छ भन्ने बुझ्नको लागि यो घट्ना उदाहरण भएको उनले बताए । ढुंगानाले एनसीसी बैंकबाट कर्जा लिला पसलको बीमा गराएका थिए । अझै पनि बैंकबाट कर्जा लिँदा मात्र बीमा गर्ने, स्वपुँजी लगानीबाट हुने क्षतिको बीमा नगर्ने संस्कार रहेको बीमा क्षेत्रका जानकारहरु बताउँछन् ।

राष्ट्रिय बीमा संस्थानले लञ्च गर्यो एप, बीमाबारे जानकारी लिन सकिने

काठमाडौ । राष्ट्रिय बीमा संस्थानले संविधान दिवसको अवसर पारेर बीमा सम्बन्धी जानकारी मूलक एप लञ्च गरेको छ । कम्पनीले बीमा क्षेत्रलाई प्रविधि मैत्री बनाउने उदेश्यले शुक्रबार आफ्नै कार्यालयमा उक्त एप लञ्च गरेको हो । एप लञ्च कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका अध्यक्ष धनीराम शर्माले प्रविधि आजको आवश्यकता भएकाले एप ल्याएको बताए । उनले भने–‘प्रयोगकर्ताको सल्लाह अनुसार काम गर्ने छौँ ।’ यसैगरी उक्त कार्यक्रममा संस्थानका प्रशासक कविप्रसाद पाठकले मुलुकको जेठो कम्पनी भएपनि सफ्टवेर अभावमा काम गर्दै आएको र अब एप मार्फत डिजिटल बन्ने सुरुवात गरेको बताए । यस्तो छ एप  प्ले स्टोरबाट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले आफ्नो पोलिसी नम्बर एपमा राख्न जरुरी हुन्छ । त्यस्तै, पासवर्ड समेत थिचेर लगइन गरे पश्चात बीमितले एपमा प्रवेश गर्न पाउछन् । एपबाट पोलिसी, पेमेण्ट हिस्ट्री तथा डिउ पेमेण्टका बारेमा जानकारी लिन सकिन्छ । एपमा बिमितले बैक खाता समेत समावेश गर्न आवश्यक हुन्छ । हाल सीमित बैँक मात्र एपमा आवद्ध भएपनि निकट भविष्यमा अन्य बैँक समेत आवद्ध गराउने राष्ट्रिय बीमा संस्थान जनाएको छ । नेपाल बैँक र राष्ट्रिय वाणिज्य बैँक संस्थानको एपमा समावेस गरेकाले देशैभरका नागरिकले लाभ दिन सक्ने बताइएको छ । चालु आर्थिक वर्षमा बीमा गराउने बीमितका लागि यो सिस्टमले काम गर्छ । तर, चालु आव भन्दा पहिलाका लगानीकर्ताका लागि भने सो एपले केही काम गर्दैन ।साथै, यसै आर्थिक वर्ष भित्रमा ई-सेवा सँग सहकार्य गरेर संस्थानले बीमितले बीमा शुल्क(प्रिमियम) तिर्ने बीमालेख पढ्ने लगायतका सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । सो एप चलाउन बीमितले एन्ड्रोइड मोबाईलको प्रयोग गर्नुपर्ने छ । नेपालमा छरिएर रहेका विभिन्न ब्राण्डहरुमा आगामी एक हप्ता भित्र आफूहरुले सेवा बिस्तार गर्ने राष्ट्रिय बीमा संस्थानले बताएको छ ।

सिटिजन लाइफले ७५ करोडको आईपीओ ल्याउने

काठमाडौं । नयाँ बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी चुक्तापुँजी भएको सिटिजन लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ । सो प्रयोजनका लागि सिटिजनले वार्षिक साधारणसभा समेत बोलाएको छ । सिटिजनले असोज २९ गते ललितपुरको होटेल हिमालयनमा दिउँसो ३ बजे बस्नेगरी उक्त साधारणसभा बोलाएको हो । साधारणसभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै एकजना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा समेत छ । हाल १ अर्ब ७५ करोड चुक्तापुँजी भएको सिटिजनले अब ७५ करोड रुपैंया बराबरका ७५ लाख कित्ता साधारण शेयर जारी गरेर चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैंया पुर्याउनेछ । सिटिजन लाइफले अघिल्लो आवको अन्त्यसम्म १ लाख बीमितबाट १ अर्ब १६ करोड रुपैंया कुल बीमाशुल्क संकलन गरेको छ । हाल सिटिजनले देशभरका ८० स्थानहरुमा रहेका शाखाहरुमार्फत् आफ्नो सेवा प्रदान गर्दै आएको छ । हाल सिटिजनले विभिन्न ९ ओटा योजनाहरुमार्फत् आफ्ना बीमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ जसमा २० ओटा घातक रोगहरुको बीमाको व्यवस्था रहेको छ ।