शेयर बजारमा ६ सातापछि नेपाल लाइफले हिमालयन बैंकलाई उछिन्यो, कसको अवस्था कस्तो ?

काठमाडौं । ६ हप्तापछि शेयर बजारमा नेपाल लाइफ इन्स्योरेन्सले हिमालय बैंकलाई पुनः उछिनेको छ । बजार पुँजीकरणका आधारमा अघिल्लो हप्तासम्म छैटौं स्थानमा रहेको हिमालयन बैंकलाई नेपाल लाईफ इन्स्योरेन्सले पछि पारेको हो । यसअघि गत साउन ३० गतेदेखि हिमालयन बैंक नेपाल लाइफ भन्दा माथिल्लो स्थानमा रहँदै आएको थियो । हाल नेपाल लाइफ इन्स्योरेन्को बजार पुँजीकरण ४१ अर्ब ५५ करोड रुपैंया छ । नेपाल लाइफको साधारण शेयरको मूल्य दोस्रो बजारमा ७५६ रुपैंया छ । ५ करोड ४९ लाख ६१ हजार कित्ता शेयर भएको नेपाल लाइफको सोही मूल्य र शेयर संख्याका आधारमा नेपाल लाइफको बजार पुँजीकरण ४१ अर्ब ५५ करोड रुपैंया भएको हो । त्यस्तै, हाल हिमालयन बैंककाे बजार पुँजीकरण ४१ अर्ब ४९ करोड रुपैंया छ । हिमालयन बैंकको साधारण शेयरको मूल्य दोस्रो बजारमा ४७८ रुपैंया छ । ८ करोड ५२ लाख २ हजार कित्ता शेयर भएको नेपाल लाइफको सोही मूल्य र शेयर संख्याका आधारमा नेपाल लाइफको बजार पुँजीकरण ४१ अर्ब ४९ करोड रुपैंया भएको हो । गत साता हिमालयन र नेपाल लाइफ दुबैको शेयर मूल्यमा गिरावट आए पनि नेपाल लाइफ इन्स्योरेन्सको भन्दा हिमालयन बैंकको शेयर मूल्यमा  उच्च गिरावट देखिएसँगै पुँजीकरणका आधारमा नेपाल लाइफले हिमालयनलाई उछिन्न सफल भएको हो । शेयर बजारमा एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगै नेपाल लाइफ र हिमालयन बैंकबीच बढी प्रतिस्पर्धा हुने गरेको छ । सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको नेपाल टेलिकम लामो समयदेखि पहिलो स्थानमै छ । त्यस्तै, दोस्रोमा नबिल, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंक, चौथो र पाँचौंमा एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंक, छैटौं र ७ औं स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन बैंक , आठौंमा कृषि विकास बैंक, नवौंमा एनएमबि बैंक र दशौंमा एनआईशी एशिया बैंक छन् । गत साता पनि समग्र शेयर बजारमा गिरावट आउँदा कुल बजार पुँजीकरण १४ खर्ब ६७ अर्बबाट घटेर १४ खर्ब ३५ अर्बमा झरेको छ । नेप्से परिसूचक भने यो अवधिमा ११५५ अंकबाट घटेर ११२९ अंकमा आएको थियो ।

बैंक र रेमिट ह्याक प्रकरणः थप तीन आरोपी पक्राउ

काठमाडौँ । कृषि विकास बैंक र पानस रेमिटको सफ्वेयर ह्याक गरेर पैसा निकालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई शुक्रबार पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका अनुसार कञ्चनपुरबाट यज्ञराज भट्ट, पर्वतबाट मालतीदेवी न्यौपाने र काठमाडौँबाट गणेशप्रसाद बस्याललाई पक्राउ गरिएको हो । बैंकबाट भट्टको खातामा रु ४५ लाख र न्यौपानेको खातामा रु २८ लाख हालेको फेला परेपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । बिहीबार पक्राउ परेका प्रतीक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुसालको बयानका आधारमा बस्याललाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए । भुसालको बैंक खातामा रु ६५ लाख जम्मा भएको पाइएको प्रहरीले जनाएको छ । महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने कार्यमा संलग्न रहेको १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेका थिए । रु १० लाख हुण्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा पठाउन भ्याएका थिएनन् । प्रहरीले रु ६० लाख बरामद गरिसकेको छ । यसका मुख्य योजनाकार अफ्रिकी मूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेण्टलाई प्रयोग गरेका खुल्न आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

एनआईसी एशियाको वार्षिक साधारण सभाले पारित गर्यो २१ प्रतिशत लाभांश

काठमाडौँ । एनआईसी एशिया बैंक लि.को २२औं वार्षिक साधारण सभा शुक्रबार आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा सम्पन्न साधारण सभा सम्पन्न भएको हो । उक्त साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले रु. १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय एक्काईस (रु.१,८५,९८,३७,६२१) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये १० प्रतिशतका दरले हुन आउने रु. ८८ करोड ३४ लाख २२ हजार ८ सय सत्तरी (रु. ८८,३४,२२,८७०) बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने रु. ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ (रु. ९७,६४,१४,७५१) नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले बैंकको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी रु ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ पुगेको छ । बैंकमा डिम्याट खाता हुने शेयरधनीहरुलाई शुक्रबारै नगद लाभांश भुक्तानी गर्न शुरु गरिसकिएको तथा डिम्याट खाता नहुने शेयरधनीहरुले यथाशीघ्र खाताको लागि बैंकको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।