१९ बीमा कम्पनी साधारणसभा बाेलाउने तयारीमा; नेपाल लाइफ इन्स्याेरेन्स फेरि अगाडि

काठमाडौं । १९ ओटा बीमा कम्पनीहरु साधारणसभाका लागि तयार भएका छन् । बीमा समितिमा पेश गरिएको लेखापरीक्षण प्रतिवेदनलाई समितिले स्वीकृति दिएसँगै ती कम्पनीहरु साधारणसभा बोलाउन तयार भएका हुन् । भ्रम नहाेस् । यी कम्पनीले साधारणसभा गर्न लागेकाे आर्थिक वर्ष २०७५/७६ काे भने हाेइन ।  उनीहरूले आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन पास गर्न साधारणसभा आह्वानको तयारीमा रहेका हुन् । समितिले ३५ वटा बीमा कम्पनीको आर्थिक बर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेको छ  जसमध्ये १९ वटा निर्जीवन बीमा कम्पनी र १५ वटा जीवन बीमा कम्पनी छन् । निर्जीवन तर्फ नेशनल इन्स्योरेन्स र जीवनतर्फ ४ वटा बीमा कम्पनीहरुको भने लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्न बाँकी रहेको समितिले जनाएको छ । बीमा समितिबाट लेखापरीक्षण प्रतिवेदन स्वीकृत भएसँगै बीमा कम्पनीहरु धमाधम साधारणसभा बोलाउने तयारीमा छन् । सोमबार मात्रै नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७४/७५ को साधारण सभा आह्वान गरेको छ । हालसम्म सो वर्षको साधारण सभा बोलाउने कम्पनीको संख्या १६ वटा रहेको छ । जसमध्ये ९ वटा निर्जीवन बीमा ६ वटा जीवन बीमा र १ वटा पूनर्बीमा कम्पनी रहेका छन् । निर्जीवन बीमा कम्पनीमध्ये एनएलजी इन्स्योरेन्स, लुम्बनी जेनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, प्रभु जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र सानीमा जनरल इन्स्योरेन्स कम्पनी साधारणसभा सम्पन्न गरिसकेका छन् । जीवन बीमा तर्फ नेपाल लाइफ, एलआईसी नेपाल, महालक्ष्मी लाइफ, गुँरास लाइफले साधारणा सभा गरेका छन् । एक मात्र पुर्नबीमा कम्पनी नेपाल रिले साधारण सभा सम्पन गरिसेकाे छ । अधिकांश कम्पनीले अघिल्लाे आर्थिक वर्षकाे वार्षिक साधारणसभा बाेलाउने तयारी गर्दै गर्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भने आर्थिक वर्ष २०७५/७६ को समेत लेखापरीक्षण प्रतिवेदन एक्चुरीमा पठाउने चरणामा पुगेकाे छ । नेपाल लाइफकाे आर्थिक प्रतिवेदनमा बीमा समिति प्रारम्भिक स्वीकृति दिइसकेकाे छ । पुस मसान्तसम्म साधारणसभा गर्ने लक्ष्यसहित काम भइरहेकाे कम्पनीका डेपुटी सीईओ सन्ताेष प्रसाइले जानकारी दिए । जीवनबीमा तर्फ अधिकांश परिसूचकमा सबैभन्दा अगाडि रहेकाे याे कम्पनी वार्षिक साधारणसभा गर्नमा अरू भन्दा अगाडि देखिदै आएकाे छ ।

नेशनल लाइफले बोलायो साधारणसभा, १५.२२५ प्रतिशत लाभांश पारित गर्ने

 काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स ३१ औं साधारणसभा बोलाएको छ । आर्थिक वर्ष २०७४/७५ को लाभांश तथा वार्षिक प्रतिवेदन पारित गर्न इन्स्योरेन्सले साधारणसभा बोलाएको हो । नेशनल लाइफ साधारणसभा कात्तिक २४ गते बिहान साढे १० बजे आफ्नै केन्द्रीय कार्यालयको भवनमा डाकिएको छ । कम्पनीले बोनस र नगद समेत गरी १५.२२५ प्रतिशत लाभांश दिने घोषणा गरेकाे छ । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट नेशनलले २.५ प्रतिशत बोेनस शेयर, १२ प्रतिशत नगद लाभांशका अतिरिक्त सो बोनस र नगद लाभांशमा लाग्ने करबापतको छुट्टै नगद ०.७२५ प्रतिशत नगद लाभांश समेत गरी १५ प्रतिशत लाभांश दिने भएको हो । एनएफआरएस लेखा प्रणाली अनुसार वित्तीय विवरणहरु प्रकाशन गर्नुपर्ने भएसँगै नेशनलको साधारणसभा निर्धारित समयभन्दा ढिलोगरी हुने भएको हो ।

राष्ट्रिय बीमा कम्पनीले विद्यार्थी बीमा र क्रेडिट ग्यारेण्टी बीमा पोलीसी जारी गर्ने

काठमाडौ । राष्ट्रिय बीमा कम्पनीले बजारमा २ वटा नयाँ बीमा पोलिसी जारी गर्न अन्तिम तयारी गरिरहेको छ । उक्त बीमा कम्पनीले विद्यार्थी बीमा लेख तथा क्रेडिट ग्यारेण्टीसँग सम्बन्धित बीमा लेख जारी गर्ने भएको हो । दुबै पोलिसी तिहार अगाडि नै सार्वजनिक गर्ने तयारी भएको बताईएको छ । अहिले बजारमा अन्य कम्पनीले पनि विद्यार्थी बीमा लेख जारी गरेको भएपनि आफूहरुले बजारमा ल्याउन लागेको बीमा लेख) केही फरक रहेको कम्पनीले जानाएको छ । कम्पनीले विद्यार्थी बीमा लेखमा आफूहरुले नर्सरी कक्षा देखी कक्षा १२ सम्मका विद्यार्थीलाई समेटने जनाएको छ । राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुबास कोईरालाले नेपाली बजारमा अहिले विभिन्न किसिमका बीमा लेखहरु जारी हुँदै आएको भएपनि विद्यार्थी लक्षित बीमा लेखहरु कम रहेको बताए । साथै, बीमितहरुबाट माग भएकाले आफूहरुले क्रेडिट ग्यारेण्टी बीमा लेख समेत बजारमा ल्याउन लागेको कम्पनीले जनाएको छ । उक्त बीमा कम्पनीले बैकले दिने ऋण सम्बन्धी बीमितलाई सहज होस भनेर सो बीमा लेख जारी गर्न आवश्य ठानेको हो ।