एनआईसी एसिया बैंकले घर किन्न ५० वर्षसम्म कर्जा दिने, ब्याजदर १०.८ प्रतिशत

  २०७५ असोज ९ गते १४:३९     विकासन्युज

काठमाडौं । बैंकबाट अब ५० वर्षसम्मका लागि घरकर्जा (होमलोन) पाइन थालेको छ । एनआईसी एशिया बैंकले ५० वर्षसम्म होम लोन दिन थालेको हो । यो हालसम्मको सर्वाधिक लामो होमलोन हो ।

बैंकले चमत्कारी घरकर्जा योजना ल्याएर लामो अवधिसम्म कर्जा दिन थालेको जानकारी दिएको छ । बैंकहरुले अधिकतम २५ वर्षसम्म होमलोन दिदै आएकोमा एनआईसी एशियाले दोब्बर समय बढाएर होमलोन योजना ल्याएको हो । बैंकले १०.८ प्रतिशत ब्याजमा होमलोजन योजना ल्याएको छ । मासिक ब्याजदर ०.९ प्रतिशत हुन्छ । यो सस्तो ब्याजदर हो ।

निम्न र मध्यम आय हुनेलाई घर लक्षित गरी ५० वर्षसम्मका लागि होमलोन योजना ल्याएको एनआईसी एशियाका  प्रमुख जनसम्पर्क अधिकृत अर्जुन खनियाँले बताए । भाडामा बसिरहेकालाई घर किन्ने अवस्थामा पुर्याउन बैंकले दीर्धकालिन कर्जा योजना ल्याएको उनले जानकारी दिए । कागजात प्रक्रिया पुगेको २ दिनमा कर्जा स्वीकृति हुने र ३ दिनमा घर बनाउन वा किन्नलाई पैसा दिने खनियाले बताए ।

कर्जा लिनेको उमेर, आम्दानीको स्रोत र समय अवधि हेरेर ५० वर्षसम्म होम लोन दिने उनको भनाई छ । आफ्नो आम्दानी अनुसार मासिक किस्ता निर्धारण गर्न सकिने छ । कर्जा भुक्तानी अवधि, आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्वभुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने रहेको बैंकले जनाएको छ ।

यसका लागि ऋणीले पहिलो ४० प्रतिशत बुझाएपछि ६० प्रतिशत बैंकले कर्जा दिने छ । इच्छाअनुसार किस्ता राख्न मिल्ने गरी आफुसंग पैसा भए कर्जा पनि घटाउन मिल्ने उनको भनाई छ । यसअघि एनएमबी बैकले पनि ३५ वर्षसम्मका लागि होमलोन योजना ल्याइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.