दशैँमा घर जान टिकट लिनेको घुइँचो

  २०७५ असोज ९ गते १२:२६     विकासन्युज

काठमाडौं। नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत भदौ ३१ गते असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै टिकट खुलाउन मानेपछि आजबाट टिकट बुकिङ खुलेको हो ।

कम्पनी र प्रालिले सरकारले घोषणा गरेको असोज ५ देखि नै टिकट बुकिङ खुला गरे पनि समितिले भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गरेर अग्रिम टिकट बुकिङ खुलाएका थिएनन् ।

स्वर्गद्धारी यातायात व्यवसायी सङ्घ प्यूठान, जलजला यातायात रोल्पा, राप्ती अञ्चल व्यवसायी सङ्घ दाङ, बडीमालिका यातायात धनगढी, बटालियन यातायात प्रालि रुकुम, मेची अग्नी यातायात, आयुष यातायात प्रालिलगायतले असोज ५ गतेदेखि नै अग्रिम टिकट बुकिङ खोलेका थिए ।

यस्तै, भेरी अञ्चल व्यवसायी सङ्घ नेपालगञ्ज, कर्णाली रिभर यातायात सङ्घ, महाकाली सेती यातायात व्यवसायी सङ्घ महेन्द्रनगर, सूदुरपश्चिम यातायात व्यवसायी सङ्घ, मध्यपश्चिम यातायात व्यवसायी सङ्घ, पश्चिम नेपाल यातायात व्यवसायी सङ्घ, पृथ्वी राजमार्ग बस सञ्चालक समिति, भेरी राप्ती यातायात व्यवसायी सङ्घलगायतले असोज ५ मा टिकट बुकिङ खोल्न मानेका थिएनन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि आजदेखि टिकट बुकिङ खुला गरेको बताउँछन्।

आज डँडेल्धुरा, बाजुरा, बझाङ, कैलाली, धनगढी, महेन्द्रनगर, दार्चुला, झापा, मोरङ, सुनसरी, ताप्लेजुङलगायत लामो दूरीमा चल्ने बसको टिकट वितरण भएको हो। रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.