३ वर्षपछि नेपालमै नोट छापिने, सेक्युरिटी प्रेस राख्न सरकारले खुलायाे टेण्डर

  २०७५ असोज ५ गते ११:४९     विकासन्युज

काठमाडौं । सरकारले नोटसमेत छाप्ने गरी सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी प्रेस) राख्ने काम अघि बढाएको छ । सेक्युरिटी प्रिन्टिङ केन्द्रले प्रेस राख्नका लागि इलेक्ट्रिक पावर एण्ड इलेक्ट्रोमेकानिकल इन्फास्ट्रक्चर जडानको तयारीमा जुटेको छ ।

केन्द्रले इलेक्ट्रिक पावर एण्ड इलेक्ट्रोमेकानिकल इन्फास्ट्रक्चरको आपूर्ति, जडान र सञ्चालनका लागि बोलपत्र आब्हान गरेको छ । आउँदो कात्तिक ४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकेको छ । प्रेस राख्नअघि आवश्यक इलेक्ट्रिक पावर र इलेक्ट्रोमेकानिकल उपकरण जडानका लागि काम शुरु गरिएको केन्द्रका खरिद अधिकृत मनिक महर्जनले बताए । सेक्युरिटी प्रेस राख्न अघिको पुर्वतयारी भएको उनले बताए ।

सेक्युरिटी प्रेस राख्न विशेष किसिमको विद्युत आपूर्ति प्रणाली आवश्यक पर्ने भएकाले पहिलो चरणमा यसको खरिद प्रक्रिया अघि बढाएको उनको भनाई । पुर्वाधार जडानपछि सेक्युरिटी प्रेसका लागि बोलपत्र आब्हान हुने महजर्नले जानकारी दिए । सेक्युरिटी प्रेस ३ वर्षभित्र सञ्चालनमा ल्याउने तयारी भएको उनले सुनाए ।

सेक्युरिटी प्रेसले कागजी नोट, राहदानी, चेकबुक र वायोमेट्रिक कागजातलगायतको एकिकृत छपाइ गर्ने छ । हाल बैंक नोट, राहदानी, बैंकको चेकलगायत सुरक्षण सम्बन्धित सम्पुर्ण छपाई विदेशमा हुने गरेको छ । सुरक्षण छपाइमा मात्रै वर्षेनी अर्बाैँ रुपैयाँ विदेशिने गरेको छ । यसलाई रोक्न र सुरक्षाका लागि भन्दै सरकारले स्वदेशमै नोट छपाइलगायत सबै काम गर्नका लागि उच्च प्रविधियुक्त प्रेस राख्न लागेको हो ।

सरकारी छपाइका लागि मुद्रण विभाग सञ्चालनमा रहेपनि नोट, राहदानीलगायत अन्य सुरक्षणको छपाइ विदेशमा निर्भर हुन परेको छ । सरकारले मुद्रण विभागबाट छपाइको तयारी गरेपनि पछि सुरक्षाको कारण देखाउँदै विदेशमा छपाइ हुँदै आएको छ । राष्ट्र बैंकले चीन, भारत, इण्डोनेशियालगायत मुलुकमा प्रतिस्पर्धाबाट बैंक नोट छाप्दै आएको छ । वार्षिक ५० करोड रुपैयाँ भन्दा बढी रकम बैंक नोट छाप्नमा विदेशिने गरेको छ । यस्तै, एमआरपी राहदानी फ्रान्सको ओवर्थर टेक्नोलोजीमा छापेको छ ।

दुई वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको २४ औं बैठकले नोट, चेकवुक लगायत अन्य सुरक्षण छपाइका लागि नेपालमै सेक्युरिटी प्रेस राख्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.