सञ्चय कोषको नाफा ३ अर्ब २० करोड

  २०७५ भदौ ३१ गते १८:४२     विकासन्युज

काठमाडौ । गत आर्थिक वर्षमा कर्मचारी सञ्चय कोषले ३ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । सञ्चयकर्तालाई प्रदान गरिएको ब्याज तथा कोषको व्यवस्थापन खर्च कटाउँदा सो रकम बराबर नाफा भएको कोषका प्रशासक तुलसी गौतमले जानकारी दिए । उनले नाफा रकम ६ लाख सञ्चयकर्ताको सामाजिक सुरक्षा सुविधा र वितरणको माध्यमबाट उपयोग गरिने उनले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । २ खर्ब ८७ अर्ब ७८ करोड रुपैयाँ अर्थात् ९८.३४ प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी गरेको उनले जानकारी दिए । कोषको कूल लगानीमध्ये सञ्चयकर्ता सापटीमा ५८ प्रतिशत, परियोजना कर्जामा १६, वाणिज्य बैंकको मुद्दती निक्षेपमा १९ र बाँकी ७ प्रतिशत अन्य क्षेत्रमा प्रवाह भएको छ । कोषको स्रोतमा २ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ जम्मा भएको आइतबार आयोजित ५७औँ वार्षिकोत्सवका अवसरमा जानकारी दिइयो ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कृषि, श्रमलगायत सबै क्षेत्रमा रोजगार गरिरहेकालाई कोषअन्तर्गत सामाजिक सुरक्षा प्रदान गर्न सरकारले गृहकार्य गरिरहेको बताए। “कर्मचारीलाई सेवा निवृत्त भएपछि डेरामा बस्नुपर्दैन भन्ने कुराको सुनिश्चित गर्न कर्मचारी आवास योजनाको व्यवस्था हुनुपर्छ, कर्मचारी आवास व्यवस्था न्यून वैतनिक व्यवस्था भएकालाई प्राथमिकता दिइनुपर्छ, जोखिमपूर्ण आवासमा बसेकाले यो सुविधा पाउनुपर्छ”, उनले भने ।

कर्मचारीले उत्पादकत्व बढाएर सुविधा लिनुपर्ने, कोष मध्यकालीन ब्याजदरको प्रणालीमा जानुपर्ने र पूँजी बजारलाई सञ्चालन गर्न सक्ने क्षमतामा कोष स्थापित हुनुपर्ने मन्त्री डा खतिवडाको भनाइ थियो ।

अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङ्गानाले सबै किसिमका कोषलाई नियमन गर्ने निकाय स्थापनाको तयारीमा लागिएको बताए । “सामाजिक न्यायको सिद्धान्तअनुसार सञ्चयकर्तालाई सेवा सुविधा दिइन्छ, सञ्चयकर्ताको दिगोपनको लाभका बारेमा काम गर्ने विषयमा छलफल भइरहेको छ”, उनले भने। कोषका कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता, घर सापटी कार्यक्रममा ५ लाख रुपैयाँ थप गर्नेजस्ता निर्णय आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको ढुङ्गानाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.