हिमालयन कार्गोका सञ्चालक बिनोद गुप्ता विरुद्ध पौने ३ अर्ब राजश्व छलीको मुद्दा

  २०७५ भदौ १ गते १४:१३     विकासन्युज

काठमाडौं । राजश्व अनुसन्धान विभागले हिमालयन कार्गोका सञ्चालक बिनोदकुमार गुप्ता र मधु गुप्ता विरुद्ध २ अर्ब ७२ करोड रुपैयाँ राजश्व छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले कर शुल्क ब्याज गरी ५४ करोड ७२ लाख कर छली गरेको प्रमाणित भएपछि विभागले बिगो र जरिवाना सहित २ अर्ब ७२ करोड अशुल गर्न र ३ बर्ष कैद माग दावी गरी काठमाडौं जिल्ला अदालतमा मद्दा दर्ता गरेको हो ।

त्यस्तै उनीहरुले नै दुध र घिउको नक्कली प्रज्ञापन पत्र बनाई राजश्व छलेको प्रमाण फेला परेपछि थप १० करोड २० लाख पनि आजै(शुक्रबार) काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ । दुध र घिउको नक्कली प्रज्ञापन पत्र प्रकरणमा विनोदकुमार गुप्ता, मधु गुप्ता सहित २२ जनालाई विपक्षी बनाइएको छ । जसमध्ये प्रमुख भन्सार अधिकृत सहित ७ जना भन्सार कर्मचारी पनि सहभागी छन् ।

राजश्व अनुसन्धान विभागले गुप्ता दम्पत्तिको १५ करोडको बैंक खाता र १ अर्ब रुपैयाँको चलअचल सम्पति पनि रोक्का गरेको छ । विभागले यति ठूलो मात्रामा राजश्व अपचलन गरेको भन्दै मुद्दा दायर गरेको यो पहिलो पटक हो ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले शुक्रबार पत्रकार सम्मेलन गरी साे जानकारी दिएका हुन् । हाल विभागलाई अर्थमन्त्रालयबाट तानेर प्रधानमन्त्री कार्यलय मातहत राखिएको छ । प्रधानमन्त्री कार्यलय मातहतमा आएपछि विभागले राम्रो काम गर्दै आएको महानिर्देशक मैनालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.